भर्खरै :

जताततै त्रासको अवस्था थियो

सूर्यलाल ताम्राकार
पेशाले म कालीगढ हुँ । मेरो पुख्र्यौली पेशा धातुका भाँडाकुँडा बनाउने हो । तर, बुद्धिचाल खेलप्रति मेरो निकै पुरानो लगाव हो । आजभोलि म दैनिक केही समय बुद्धिचाल खेल्ने गर्छु । भक्तपुरमा सुरु सुरुमा बुद्धिचाल खेल्नेमध्ये हामी नै पर्छौं ।
साथी सङ्गतले म पनि नेमकिपाका गतिविधिमा संलग्न भएको हुँ । मसँग मिल्ने साथीहरू जस्तै कुलबहादुर कवांसँगै म पनि सुरुदेखि नारायणमान दाइकै पछि लागेँ । दाइले लेख्नुभएको ‘वर्ग परिचय’ नाटक बनाउँदा मेरो जिम्मेवारी मञ्च पछाडि बसेर (कलाकारले संवाद बिर्से) भनिदिने थियो । पार्टीको पर्चा छर्ने आदि काममा हामी संलग्न भयौँ ।
२०४५ भदौ ९ गते ह्योजूलाई घुमाउन ल्याउँदा म दरबार स्क्वायरमा बुद्धिचाल खेलिरहेको थिएँ । त्यस्तै १२–१ बजेतिर हामीले त्यो खबर सुन्यौँ । तर, हामी हेर्न भने गएका थिएनौँ ।
ह्योजू मरेपछि नेमकिपाका नेता कार्यकर्ताहरूको पक्राउ भयो । म पनि पार्टी गतिविधिमा संलग्न भएकोले प्रहरीको गिरफ्तार सूचीमा मेरो नाम पनि थियो भन्ने कुरा सुन्यौँ । त्यही भएर मलाई मेरा शुभचिन्तकहरूले बाहिर यताउति नहिँड्न सल्लाह दिए । जताततै त्रासको वातावरण थियो । कोही कसैले राम्ररी बोल्ने अवस्था थिएन । म भूमिगत गइनँ । तर, निकै सजग भने थिएँ । मलाई लाग्छ, प्रहरीले मलाई नचिनेकोले म गिरफ्तार हुनबाट जोगिएँ ।
म प्राय क्वाछेंतिर चिया खान्थेँ । एक बिहान चिया खाँदै गर्दा प्रहरीको एउटा समूह त्यहीँ आएर बस्थ्यो । मलाई नियालिरहेको जस्तो लाग्यो । त्यत्तिकै उठिहाल्न पनि मिलेन । अनि सँगै बसेको एक जना साथीले जाऔँ भनेर बाहिर लानुभयो । प्रहरीले दुई चारपटक त्यस्तो अवस्था सामना गर्नुपरेको थियो ।
एक रात प्रहरीको एउटा भ्यान मेरो घरकै अघि रोकियो । मेरो भाइ आएर प्रहरी घरबाहिर आएको खबर गरे । पूरै परिवार त्रसित बन्यो । तर, प्रहरी अन्यत्र नै गयो । त्यो रात पर्चा छरिएको थियो । त्यही भएर पनि प्रहरीको गस्ती बढेको हुनुपर्छ ।
काठमाडौँमा मेरो एक जना साथी न्यायाधीश हुनुहुन्थ्यो । उहाँकहाँ कहिलेकाहीँ सल्लाहको लागि जान्थेँ । उहाँ भन्नुहुन्थ्यो, “निर्दोष मानिसहरूलाई फसाए । अरु केही होइन, यो मुद्दामा शत्रु लागेको हो । तर, यो मुद्दामा सरकार कुनै पनि हालतमा जित्न सक्दैन ।” उहाँका कुरा सुनेर मन खुसी हुन्थँे ।
नारायणमान दाइहरू जेलमै हुनुहुन्थ्यो । एक दिन उहाँलाई भेट्न कारागारमा गएँ । दाइले मलाई यस्तो असुरक्षाको बेलामा जेलमा नआउन सल्लाह दिनुभएको थियो ।
वडाकै केही साथीहरूसँग म कहिलेकाहीँ भेट्न जान्थेँ । कोही साथीहरू पार्टीको सन्देश लिएर मेरो घरमा पनि आउनुहुन्थ्यो ।
म अहिले ८२ वर्ष पुगेँ । कान अलि कम सुन्छु । मसँगैका केही साथीहरू कोही कता लागे, कोही कता । तर, म अहिले पनि पार्टीप्रति प्रतिबद्ध छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *