भर्खरै :

भक्तपुर काण्डले लियो पञ्चायतको ज्यान

धर्मलाल मानन्धर, काभ्रे
वि.सं. २०४४ मा भएको स्थानीय निर्वाचनमा पार्टीको निर्देशनअनुसार मैले चुनाव लडेँ । त्यसबेला बनेपा वडा नं. ६ को वडा अध्यक्षमा निर्वाचित भएँ । २०४५ भदौ ५ गतेको भूकम्पबाट भक्तपुरमा भएको क्षति बुझ्न कृष्णकुमार वैद्य र म भक्तपुर पुगेका थियौँ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँसँग भेट गरी भक्तपुरको अवस्थाबारे थाहा पाएका थियौँ । उहाँको स्वास्थ्य त्यसबेला राम्रो थिएन । भदौ ९ गते भक्तपुरमा कर्ण ह्योजूलाई पक्षपात गरी राहत वितरण गरियो भनी पीडित जनताले सजाय दिए भन्ने कुरा टेलिफोनमार्फत थाहा पाएको थिएँ । तर, घटना विवरण राम्ररी थाहा थिएन ।
भदौ १० को दिन बनेपाको सवारी कर डिपोमा वडा अध्यक्षहरू मध्ये एक जनाले गरिने अनुगमन कार्यको जिम्मेवारी मेरो थियो । बिहान १० बजे उक्त डिपोमा जाँदै गर्दा देवेन्द्रकुमार वैैद्य दाइसँग भेट भयो । उहाँले रोक्दै मलाई सवारी कर लिने डिपोमा नजान सल्लाह दिनुभयो । उहाँले भन्नुभयो, “त्यहाँ काठमाडौँबाट आइरहेको प्रत्येक गाडीमा भक्तपुरबाट आउनेलाई पक्रने र सोधपुछ गर्ने गरेको छ ।” म त्यसबेला नेमकिसं (पार्टी) को बनेपा अध्यक्ष पनि थिएँ । परिवारले पनि घरमा नबस्न सुझाए । तब म, कृष्णकुमार वैैद्य र हरिकृष्ण मानन्धर भूमिगत भयौँ । घरमा पटक–पटक पुलिस आएर खानतलासी गरेको खबर मैले पाएँ । घरमा मेरो पत्नी, भर्खरका एक छोरा, एक छोरी र आमा हुनुहुन्थ्यो । बनेपामा लुिकछिपी बस्न कठिन भयो । तैपनि एक दिन म बेलुका घर पुगेँ । त्यही दिन प्रहरीले ढोका ढक्ढकाउन आए । म झ्यालबाट हामफाली पक्राउबाट बचेँ । करिब एक महिना बनेपा बाहिर बसी घर फर्केँ । भक्तपुरको स्थिति बुझ्न म भक्तपुर गएँ । भक्तपुर साकुलानमा एक चिनाजानीको घरमा छिरेको थिएँ । उनीसँग भेट भएन । अनि म निस्कँे । म निस्केको केही समयपछि त्यो घरमा धर्म मानन्धर आएको खोइ भनेर पुलिस पुगेको रहेछ । यो कुरा एक हप्तापछि त्यही स्थानीयबाट खबर पाएको थिएँ । पछि पनि पटक–पटक साथीहरूसँग भेट्ने प्रयासमा भक्तपुर जान्थेँ । चिनेजानेका अधिकांश साथीहरू पक्राउ परेका अथवा ज्यान मुद्दामा फसाएर भूमिगत अवस्थामा थिए । ढुकुछु थरको एक साथी भेटँे । ऊ त पञ्चहरूकै पक्ष लागिसकेको रहेछ । तब ऊबाट पनि टाढा रहेँ ।
अरु साथीहरूसँग केही वकिलहरूकहाँ पुगे । बागमती विशेष अदालतमा नारायणमान बिजुक्छेँ दाइ लगायतलाई लग्दा म पनि पुगेँ । मलाई वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको गाडीमा सिंहदरबारभित्र छिराइएको थियो । मैले दाइलाई केही फलफूल दिएँ । उहाँले आफूहरूलाई राजबन्दीको व्यवहार नगरेको, अपमानित व्यवहार गरेको र उहाँहरूमाथि युद्धबन्दीलाई जस्तो व्यवहार भएको सुनाउनुभयो ।
जेलमा ४ पटकसम्म रोहित दाइलाई म भेट्न पुगेँ । उहाँको सल्लाहअनुसार हामीले बाहिर बसी सङ्घर्ष ग¥यौँ । एक पटक उहाँकै निर्देशनअनुसार विष्णुलाल दाइ र म ललितपुर गयौँ । त्यहाँ कम्युनिस्ट नेता तुल्सीलाल अमात्यलाई भेट्यौँ । पार्टी नेता कामरेड रोहितलगायतलाई पञ्चायती राजतन्त्रले षड्यन्त्र गरी फसाइएको बतायौं । हामीले वकिलहरूबीच भइरहेको कुरा पनि बतायौँ । यदि सङ्घर्ष जारी राख्न नसके, सत्ताको विरुद्धमा आन्दोलन नभए का. रोहितलाई फाँसी दिनसक्छ, पञ्चायती सरकारले । तसर्थ आन्दोलनले निरन्तरता पाउनुपर्छ र सहयोग गरिदिनुस् भनी अनुरोध ग¥यौँ । उहाँले दिलबहादुर श्रेष्ठ बोलाउनुभयो । उहाँलाई सहयोग गर्नुपर्छ भनी नेता अमात्यले सम्झाउनुभयो ।
तुल्सीलाल अमात्यकै पहलमा सात वाम मोर्चा गठन भयो । नेपाली काङ्ग्रेस र सात वाम मोर्चा मिली संयुक्त जनआन्दोलन सुरु ग¥यो । पञ्चायती राजतन्त्रको अन्त्य २०४६ चैत २६ गते भयो । भक्तपुर काण्ड गरी पञ्चायतविरोधी नेपाल मजदुर किसान सङ्गठन (पार्टी) लाई समाप्त गर्न खोज्ने निरङ्कुश पञ्चायती व्यवस्थाकै अन्त्य भयो । राज्यस्तरबाट भक्तपुर काण्ड गरी नेमकिपालाई नफसाइएको भए त्यति छिटो पञ्चायती राजतन्त्रको अन्त्य हुने थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *