यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
श्रीकृष्ण महर्जन, कीर्तिपुर
नीतिहरूको पनि राजा भएकोले देशलाई कस्तो मार्गमा लिएर जाने भन्ने मार्ग निर्देशन राजनीतिले गरेके हुन्छ । राज्यलाई हाँक्ने नेता–कार्यकर्ताहरूले सही नीति बनाएर अगाडि बढेमा मात्र देश प्रगतितिर लम्किन्छ । हाम्रो देशमा राजनीतिक परिवर्तनको नाममा अहिलेका शासक दलहरूले राज्यसत्ता सम्हालेको २०४६ देखि नै हो । गणना गर्दा ३० वर्ष बितिसकेको छ । तर, देशको प्रगतिभन्दा दुर्गति बढी भएको देख्छु ।
म सानो छँदा पाँगामा ‘सोभियत भूमि’ तथा ‘चीन सचित्र’ पत्रिकाहरूको साथमा माओ त्से तुङ्गका अनुशासनका किताबहरू गोविन्द दाइले ल्याउने गर्नुहुन्थ्यो । ‘सोभियत भूमि’ र ‘चीन सचित्र’ मा छापिएका लेख रचनाहरू पढ्न नजाने पनि त्यसभित्र छापिएका ठाउँ–ठाउँमा काम गरिएका तस्वीरहरू हेरेर रमाउँथें र मनमनमै हाम्रो देशमा पनि यसरी विकास गर्न पाए कति राम्रो होला भन्ने लाग्थ्यो । बिस्तारै पढ्न–लेख्न जान्ने मौका पाँगाकै जलविनायक मिडिल स्कूलबाट सिकियो । आफ्नै घर आँगनमा स्कूल भएको हुनाले म सरहका पाँगाभित्र र पाँगा बाहिरका धेरै साथीहरूले त्यसबेला पढ्ने मौका पाए । त्यसबेला स्कूल स्थापना गरेर नयाँ पुस्तालाई उज्यालो छर्न प्रयासमा लागेका पुर्खाहरूलाई कहिल्यै बिर्सनुहुन्न । हामीजस्तो युवाहरूको सुनौलो भविष्य कोर्ने हाम्रा पुर्खाहरूलाई कोटी कोटी प्रणाम ! स्कूल स्थापना भएकै नासद्योको भवनमा जनसेवा प्रौढ हाइस्कूल भनेर १० कक्षासम्म पढाइ भयो । त्यस भेगमा हामीजस्ता निम्न वर्गले पनि उच्च शिक्षा हासिल गर्ने मौका त्यही विद्यालयको कारण सम्भव भयो । मलाई त्यही जनसेवाको शिक्षाले उच्च शिक्षाको लागि योग्य बनायो । जनसेवा स्कूल स्थापना गरेर शिक्षाको राँको बाल्ने सबैलाई हृदयदेखि आभार व्यक्त गर्नुपर्छ । हाल ती दुइटै जलविनायक र जनसेवा स्कुल संयुक्त भएर जनसेवा माध्यमिक विद्यालय बनेको छ । आफूले पढ्न जान्ने भएपछि माथि उल्लेख भएका केही पत्रिका र माओका अनुशासनबारे लेखिएका पुस्तकहरू पढ्न सुरु भयो । बिस्तारै राजनीतिप्रति चासो बढ्दै गयो । चोटा बैठक र कोठा बैठकमा सहभागी बन्दै गएँ ।
भूमिगत रुपमा काम गर्नुपर्ने समय थियो । किसान नेताहरू त्यस्ता बैठकमा आउनुहुन्थ्यो । करिब रातको ११ बजेसम्म पनि बैठक चल्थ्यो ।
अलिपछि साथीकै घरमा एउटा कोठामा बैठक भयो । वक्ताहरू दुुईजना हुनुहुन्थ्यो । उहाँहरूले आफ्नो परिचय दिनुभएन । उहाँहरू युवा हुनुहुन्थ्यो । कुरा गर्दागर्दै रातको करिब १२ बज्यो । कुराकानी सकियो । उहाँहरू टाढाबाट आउनुभएको हुनाले भोलि नै फर्कनुपर्ने भनी बस खर्चको लागि भनेर उपस्थितमध्येबाट चन्दाको माग भयो । सबैले क्षमताले भ्याए जति दिए । केही दिनपछि थाहा भयो उनीहरू चौथो महाधिवेशनक कार्यकर्ता रहेछन् ।
त्यसबेला र अहिलेको अवस्था तुलना गर्नसक्ने अवस्था छैन । त्यसबेला नाम बताउने कुरा पनि थिएन, बताइहाले पनि बेनाम बताउँथे ।
२०३५ तिर होला, त्यही साथीमार्फत मैले नेपाल मजदुर किसान सङ्गठनको अन्य कार्यकर्ता हुँदै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंसम्म पुगेँ । मैले उहाँलाई भक्तपुरको दतात्रयमा भएको जनसभामा पहिलोपल्ट देखेको थिएँ । होचो कदको सा¥है मिलनसार र सबैले बुझ्ने भाषामा उहाँको अभिव्यक्ति मनै छुने खालको थियो । म सा¥है प्रभावित भएँ । २०३६ मा पञ्चायती व्यवस्थाको विरोधमा ठूलो आन्दोलन भयो । बाध्य भएर पञ्चायतले सुधारिएको पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्थाको जनमतसङ्ग्रहको घोषणा ग¥यो । त्यसबेला ने.क.पा ( माले ), चौथो महाधिवेशन( निर्मल लामा ) र ने.का. सबैले जनमतसङ्ग्रह बहिष्कारको नारा लगाए । सरकारको दमनका कारण अहिलेको काठमाडौँ क्षेत्र नं १० चुनाव क्षेत्रमा तनाव थियो । कति निर्दोष जनताले दुःख पाए । कोही पनि युवा देख्नै हुँदैनथ्यो । गाउँ नै सुनसान थियो । सबै युवाहरू गाउँ छोडेर भागाभाग हुनुप¥यो । तर, नेपाल मजदुर किसान सङ्गठनले बहुदलको वकालत गरेको थियो । विभिन्न ठूला भनिएका राजनैतिक दलहरूले बहिष्कारकै कारणले सुधारिएको पञ्चायतलाई सजिलै विजय गर्न मौका दिए ।
२०४७ मा नेपाल मजदुर किसान सङ्गठनको भैरहवामा अधिवेशन थियो । मलगायत काठमाडौँका धेरै साथीहरू महाधिवेशनमा भाग लिन भैरहवामा उपस्थित भएका थियौं । काठमाडौँका सबै साथीहरूमध्येबाट मलाई केन्द्रीय सदस्यमा बनाइयो । उद्घाटन समारोहमा आमन्त्रित सबै अतिथिहरूको मन्तव्य अघिल्लो दिन सकाएर भोलिको दिन बन्द सत्र चलिरहेको थियो । एकाएक नेपाल मजदुर किसान सङ्गठनका अध्यक्ष नारायणमान दाइले बन्द सत्र केही समयको लागि स्थगन गर्ने सूचना दिनुभयो । नेपाल मजदुर किसान सङ्गठनको उद्घाटनको दिन अतिथि पुग्न नसकेकोले बन्द सत्रमा अतिथि सत्कारको लागि समय मिलाउनुभयो । केही समयको लागि अतिथिको मन्तव्य सुनंँे । उहाँ वरिष्ठ वामपन्थी नेता तुल्सीलाल अमात्य हुनुहुन्थ्यो । उहाँले सम्बोधनको क्रममा भन्नुभएको कुरा मलाई अहिले पनि सम्झना छ–‘ने.क.पा (माले) क्ष्ल्न्इ, ल्न्इे बाट पैसा लिन्छ र पार्टी सञ्चालन गर्छ । उहाँहरूको विश्वास नगर्नुस् । सायद यो कुरा गरिरहँदा धेरैलाई विश्वास हुँदैन, मैले प्रमाण पनि दिन सक्दिनँ ।’ उहाँ बित्नुभएको पनि धेरै वर्ष भयो । अहिले आएर उहाँका भनाई प्रमाणित भयो । एउटा एउटा कुरा थाहा पाउन जनतालाई पच्चिसौं वर्ष लाग्नेरहेछ । जनताको काम गर्ने पार्टीहरू आफैं जनतालाई धोका दिन अग्रसर भएपछि देश धेरै पछाडि पर्दोरहेछ ।
नेपाल मजदुर किसान पार्टीको नाम त्यही भैरहवा महाधिवेशनबाट पारित भएको थियो । त्यसअघि नेपाल मजदुर किसान सङ्गठन थियो । राष्ट्रिय पञ्चायतको संसदीय चुनावमा कानुनी सङ्घर्षको रूपमा पञ्चहरूको भण्डाफोर गर्न नेपाल मजदुर किसान पार्टीले उपयोग गर्ने नीति लियो । त्यसबेला यी पार्टीहरूले दरबारमै हुर्केको नानीमैया दाहाललाई पञ्चायतको बेइज्जत गर्ने नाममा सघाएर जिताए । त्यस्तै दरबारकै नजिकको धनवान बिमलमान सिंहलाई विकास गर्न सजिलो हुने तर्क अगाडि राखेर विजय गराइयो । ठाउँ–ठाउँमा २,४ ट्रिप रोडा खसाल्यो । यी सबै कुरा इतिहासमा कोरिएका रेखाहरू हुन् तर मेटेर मेटिँदैन । जनताको मनमनमा छ ।
२०४५ साल भदौ ५ गते बिहान करिब ५ बजे भूकम्पको ठूलो गयो । मेरो साना नानी अञ्जना र नवीन दुवैजनालाई बोकेर घरको छिंडीमा आएँ । मेरी श्रीमती कान्छा छोरा सजीवलाई बोकेर आइन् । त्यसबेला अहिले जस्तो सञ्चारमाध्यम थिएन । कहाँ कति नोक्सान भयो थाहै थिएन । बिहान १० बजे अफिस पुग्दा भक्तपुरमा भूकम्पले धेरै नोक्सान भएको थाहा पाएँ । यही भूकम्पको बहानामा भक्तपुरमा पञ्चायत व्यवस्थाले नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न पञ्चायती व्यवस्थाले कर्णप्रसाद ह्योजुलाई बलि चढायो । त्यतिमात्र होइन नेपाल मजदुर किसान पार्टीका सङ्गठनहरू भएको गाउँ–गाउँमा प्रहरी प्रशासनले धरपकड सुरु ग¥यो । त्यसबेला गाईको यात्रादेखि गणेद्यो जात्रासम्म पाँगामा दबु प्याखँ खुब चल्थ्यो । हरेक पार्टीहरूले नाटक मञ्चन गर्थे । हामी पनि गथ्र्यौँ । नाटक दबुमा देखाउनेबारे एउटा पार्टी अर्को पार्टीबीच घम्साघम्सी हुन्थ्यो । नाटकबारे साथीहरूबीच छलफल भयो । ह्योजु काण्डले भक्तपुरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंसमेत धेरै नेता कार्यकर्ताहरू समातिसकेको अवस्था थियो । हामीले तयार पारेको नाटकलाई बाहिर प्रस्तुत नगर्ने निर्णय भयो । मैले साँझै हामीलाई समात्ने कुराहरू मेरा साना छोरीहरूबाट सुइँको पाएकोे थिएँ । साना नानीहरूको रिपोर्टअनुसार त्यसबेलाका ने.क.पा. (माले) का स्थानीय कार्यकर्ताहरू र त्यसबेलाका प्रधानपञ्च बसेर गाइँगुइँ कुरा गरेका रहेछन् । उनीहरूलाई नेपाल मजदुर किसान पार्टी आँखाको धुलोजस्तै थियो । अहिलेसम्म उस्तै छ । नेमकिपाको उपस्थितिले उनीहरूले आफूखुसी गर्न पाउँदैनथ्यो । त्यसैले हामीहरूलाई जसरी पनि हटाउने हिसाबले प्रशासनसमक्ष हाम्रो सबै गतिविधिहरूको जानकारी दिने गर्थे
। नवमीको दिन बिहान करिब ३ बजे मेरो घर बाहिर खलबली मच्चियो, मैले पनि सुनँे । मेरो घर देखाउन प्रधानपञ्च स्वयम् प्रहरीसँगै आएको रहेछ । घरको ढोका घच्घच्याए, मेरो कान्छो काकाले माथि आएर मलाई र मेरो भाइलाई भाग्न सल्लाह दिए । हामी दुवैजना सँगैको घरको छानामूनि लुक्यौँ । अघिल्लो दिन गणेद्योको जात्रा थियो । ती प्रहरीहरूलाई बाटोमा धेरैपटक भेट भएको पनि थियो तर मलाई पक्रेनन् । राति नै आएर घरमा खानतलास गर्नुपर्ने कारण बुझ्न कठिन भएन । जे होस् मेरै घरको नजिकका कृष्णदाइलाई प्रहरीले सँगै लग्यो । उहाँ त्यसबेला बालकुमारी गाविसको गासस हुनुहुन्थ्यो । तत्कालै प्रधानपञ्च पछिपछि लागेर हनुमानढोका पुगेर कृष्णदाइलाई सँगै फर्काइयो । प्रधानपञ्च र कृष्ण दाई दुवैजनालाई मैले महिनौँ मेहनत गरेर जिताएको थिएँ । म करिब एक हप्ता भूमिगत नै भएँ । व्यक्तिगतरूपमै मलाई दुःख दिनकै लागि कुरा लगाएका थिए ।
Leave a Reply