यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
ज्ञानबहादुर श्रेष्ठ, बलम्बु, काठमाडौँ
वि.सं. २०४५ मा म तत्कालीन नेपाल मजदुर किसान सङ्गठन बलम्बु एकाइ समितिको अध्यक्ष थिएँ । वि.सं. २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा म काठमाडौंबाट उम्मेदवार थिएँ । तसर्थ मलाई ‘रोहितको मान्छे’ भनी समाजमा चिन्दथ्यो । २०४५ भदौ ९ गते भक्तपुरमा कर्ण ह्योजूलाई पञ्चायती सरकारले बलीको बोको बनाएर ज्यान लियो, त्यसको असर बलम्बुमा पनि प¥यो । त्यही बहानामा काठमाडौं जिल्लामा जहाँ जहाँनेमकिपाको सङ्गठन थियो, त्यहाँ पञ्चहरूले दुःख दिए ।
भक्तपुरमा भएको घटनाबारे भदौ १० गतेमात्र मैले थाहा पाएँ । कामको सिलसिलामा म रत्नपार्कबाट हिँड्दै थिएँ । त्यही बेला एउटा शव ¥याली देखें । शव ¥यालीमा हाम्रो पार्टी अध्यक्षज्यूको नाम लिई ‘फाँसी दे’ को नारा लगाइएको थियो । मैले तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ, गृहमन्त्री जोगमेहर श्रेष्ठलाई त्यही ¥यालीमा देखेँ । त्यो दृश्य देख्नेबित्तिकै मैले षड्यन्त्रको भएको आभास गरें । हाम्रो सङ्गठन व्यक्तिहत्याको विरोधी हो भन्ने मलाई राम्ररी थाहा थियो । माले पार्टीले झापा विद्रोहको नामबाट धर्मप्रसाद ढकाललगायतको ज्यान लिएकोमा पार्टीले आलोचना गरेको थियो ।
कर्ण ह्योजूले नेमकिसंलाई धोका दिएको साँचो हो । हामी बलम्बुका साथीहरू भेट्न जाँदा पनि उसले राम्रो व्यवहार गरेको थिएन । तर पनि उसलाई मुख्य शत्रु मानेको थिएन र सामान्यरूपमै लिइरहेको थियो । हामी पार्टी गतिविधिमा लागेर पार्टी विकास कार्यमा लागिरहेका थियौँ । ह्योजूले भक्तपुर र अन्य केही पार्टीलाई असर पर्ने कार्य गर्न सकेको पनि थिएन । ऊ अलग्ग भए पनि २०४३ सालको निर्वाचनमा २०३८ सालमा उसले चुनाव जितेको बेलाभन्दा पार्टीका उम्मेद्वार गोविन्द दुवालले बढी मत लिई रा.प.स.मा जित्नुभएको थियो ।
म बलम्बु पुग्दा बासुदेव महर्जनले रोहित दाइलगायत धेरै जना नेता–कार्यकर्ता भक्तपुरमा पक्राउ गरेको खबर सुनाउनुभयो । हामी पनि सजग बन्नुपर्छ, प्रहरी आउन सक्ने भएकाले सजग हुनुपर्ने भनी बेलुका गोप्य बैठक बस्यौं । बासुदेव महर्जन र म लगायतका साथीहरू घरमा बसेनौँ ।
एक पटक बलम्बुमै एक प्रहरीसँग भेट भयो । उनले मसँग ‘ज्ञानबहादुर श्रेष्ठको घर कहाँ छ ?’ भनी सोधे । मैले आफू नै ज्ञानबहादुर श्रेष्ठ हो भनिनँ र थाहा नभएको सड्ढेत गरी म काठमाडौंको ज्याठामा हप्ता दिन बस्न गएँ ।
भक्तपुर काण्डबाट बलम्बुका कोही साथीहरू विचलित भएनन् । गोप्यरूपमा हामी बैठक चलाउँदै गयौँ । जेलमा दाइहरूलाई भेट्न साथीहरू पठाउँन्थ्यौं । निर्देशनअनुसार सङ्घर्षहरू पनि गरिरह्यौं । तीन पटक म पनि केन्द्रीय कारागारमा भेट्न गएँ । पत्रिकाहरू दिएँ । पत्रिकाभित्र बाहिरको खबर उल्लेख भएको एक पत्र पनि दिन सफल भएँ ।
पछि सात वाम मोर्चा र नेपाली काङ्ग्रेस मिली संयुक्त जनआन्दोलन अगाडि बढ्यो । त्यसमा हामी काठमाडौंका जनता पनि सक्रियरूपमा सहभागी भयौँ । हाम्रो पार्टी अध्यक्षलगायतका साथीहरूलाई बचाउन गर्न पनि हामी सङ्घर्षमा लाग्नुपर्दछ भनी साथीहरूलाई बुझायौँ र आन्दोलन सफल भयो । तर, का.रोहितलगायत सबै साथीहरूलाई २०४६ चैत २७ गते नै छोड्नुपर्नेमा २०४७ वैशाख ५ गते बेलुकामात्र छोडियो । बहुदल प्राप्तिपछि ने.का., माले पार्टीले रिहा गर्ने कार्य ढिलो गरी पार्टी बिगार्ने र तिनीहरूको पार्टीमा सामेल गराउने कार्य ठाउँ–ठाउँमा गरेको खबर हामीले पछि सुन्यौँ । नेपाल मजदुर किसान पार्टीलाई जरैदेखि उखेल्ने भनी षड्यन्त्र गर्ने पञ्चायती राजतन्त्र नै समाप्त भएकोमा हामी खुसी भयौँ । तर प्रजातन्त्र पुनःस्थापनापछिका ने.का., एमालेको सरकारले जनता र देशलाई धोका दिँदा दुःख लाग्छ ।
Leave a Reply