भर्खरै :

विभिन्न जिल्लामा कालो दिनको भत्र्सना : ‘राजनीतिक सङ्घर्ष अझ जारी राख्नुपर्छ’

भक्तपुर, ९ भदौ । २०४५ मा तत्कालीन पञ्चायती व्यवस्थाले नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट पार्न रचेको भक्तपुर काण्डको भत्र्सनामा सोमबार नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वर्ग शत्रुविरुद्ध लगातार सामना गर्नुपर्ने बताउनुभयो ।
निःस्वार्थ भावले जनताको सेवा गर्ने राजनीतिक कार्यकर्ता कोहीसँग डराउन नपर्ने बताउँदै उहाँले सर्पले विष छोडेपछि आफ्नो अस्तित्व गुमाएजस्तै वर्ग शत्रुहरूले पनि नेमकिपाविरुद्ध जालझेल गर्न नछोड्ने धारणा राख्नुभयो ।
अध्यक्ष बिजुक्छेँले शरीरमा लागेको एउटा रोगको उपचार भइसकेपछि फेरि अरु रोगविरुद्ध लड्नुपर्ने हुनसक्ने उदाहरण प्रस्तुत गर्दै राजनीतिक जीवनमा एउटा आन्दोलन र सङ्घर्षपछि फेरि नयाँ सङ्घर्षमा लाग्नुपर्ने परिस्थिति तयार हुने बताउनुभयो ।
२०४५ को जेल जीवनको स्मरण गर्दै उहाँले जेल जीवनको सदुपयोग गर्न आफूले पुस्तक लेख्ने तयारी थालेको अनुभव सुनाउनुभयो ।
उहाँले जेलमा नेमकिपाका कार्यकर्ताले अन्य बन्दीहरूको सेवा गरेको चर्चा गर्दै भन्नुभयो, “स्वर्गमा गए पनि नर्कमा गए पनि जनताको सेवा गर्ने भावनाबाट हामी पे्ररित भएर त्यहाँ पनि जनताको सेवामा लाग्यौँ ।”
गिरफ्तार भएका नेमकिपाका कार्यकर्तालाई निर्मम यातना दिएको स्मरण गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “हिरासतमा प्रहरीले कानुन पालना गरेका थिएनन् ।”
अध्यक्ष रोहितले महिलाहरूले सङ्घर्ष नगरेका भए नेमकिपाका कार्यकर्ताहरूमाथिको मुद्दा अझ लम्बिन सक्ने भन्दै सङ्कटको समयमा पनि नेमकिपाका कार्यकर्ता र समर्थकहरूले कहींबाट कसैको आर्थिक सहायता नलिएको बताउनुभयो ।
नेक्रामसङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैंया सुवालले राजनीतिक कार्यकर्ताबाहेक राजनीतिक गतिविधिमा कुनै सम्बन्ध नभएका मजदुर र किसानहरूलाई समेत पञ्चायती प्रशासनले दुःख दिएको बताउनुभयो ।
उहाँले पञ्चहरूले नेमकिपाका कार्यकर्ताका परिवार र टोलछिमेकबीच आपसमा झगडा लगाउने, महिलाहरूको अपमान गर्ने र मानसिक यातना दिने गरेको स्मरण गर्दै प्रहरी दमन भए पनि महिलाहरू समूह समूहमा मिलेर प्रहरी अत्याचारको प्रतिकार गरेको बताउनुभयो ।
“मौन जुलुस, मसाल जुलुस, पर्चा वितरण, पम्प्लेट टाँस्ने, बन्दी कार्यकर्ताको घर परिवारलाई सहयोग गर्ने, भूमिगत गतिविधिमा महिलाहरू सक्रियतापूर्वक लाग्नुभएको थियो”, उहाँले भन्नुभयो ।
उहाँले पञ्चायती व्यवस्थाको अत्याचारविरुद्ध लडेर बहुदलीय व्यवस्था स्थापना भएर पनि नेपाली कामदार महिलाले अझै सुखका दिन भोग्न नपाएको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका पूर्वअध्यक्ष हिमालयश्वर लाल मूलले पञ्चायती व्यवस्थाविरुद्ध नेमकिपाले गरेको सम्झौताहीन सङ्घर्षका कारण पञ्चायती व्यवस्थाले षड्यन्त्र रची नेमकिपालाई सिध्याउने प्रयास गरेको बताउनुभयो ।
शिक्षक उद्धव सुजखूले भक्तपुर काण्डको सङ्कटको समयमा रगतको नाताभन्दा विचारको नाता नै गहिरो हुने अनुभव भएको बताउनुभयो ।
उहाँले जनस्तरबाट प्रहरी दमनको प्रतिरोध गरेपछि राजनीतिक कार्यकर्ता उत्साहित भएर सङ्घर्षमा लागेको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका पाण्डव सुवालले पञ्चायतको रोग आजका शासक दलहरूमा सङ्क्रमण भएको चर्चा गर्दै जोताहा किसानको पक्षमा नेमकिपाले गरेको सङ्घर्षका कारण नेमकिपालाई शोषक वर्गले दुःख दिन भक्तपुर काण्ड रचेको बताउनुभयो ।
भक्तपुर काण्डका सङ्कटपूर्ण दिन भोग्नुभएका ज्योतिकिरण बासुकलाले सङ्कटको समयमा धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभयो ।
नेपाल प्राध्यापक समाजका सुवेगमान बिजुक्छेँले भक्तपुर काण्डको समयमा भोगेका आफ्ना बाल्यकालीन सम्झना सुनाउँदै नेमकिपाविरुद्ध अझै पनि जालझेल गर्न विरोधीहरू प्रयासरत रहेको बताउनुभयो ।
आयोजक समितिका सह–संयोजक सानुमाया लागेजूको सभापतित्वमा भएको कार्यक्रममा देविका दनेखू र गंगा वैद्यले पनि बोल्नुभएको थियो ।
टोखा, काठमाडौँ
भक्तपुर काण्डको भत्र्सनामा नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको आयोजनामा सोमबार टोखा नगरपालिकामा स्थानीय जनताको भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले प्रतिक्रियावादी र पुँजीवादी व्यवस्थालाई परास्त गर्न कामदार जनतालाई सचेत र सङ्गठित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पञ्चायती प्रतिक्रियावादीहरूको राजनीतिक पूर्वाग्रहका कारण भक्तपुर काण्ड रचिएको बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेमकिपाको सिद्धान्तनिष्ठता र जनताको निःस्वार्थ भावनाले गरेको सेवाबाट आक्रोशित भएर पञ्चायतले षड्यन्त्र गरी सिध्याउने प्रयास ग¥यो ।”
उहाँले आज पनि नेमकिपाले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा राख्दै आएको अडानप्रति शासक वर्ग विरोधमा रहेकोले अहिले पनि नेमकिपाविरुद्ध षड्यन्त्र हुनसक्नेप्रति कार्यकर्ता र समर्थक सजग हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भारतीय विस्तारवादले सिक्किम र जम्मु–काश्मीरमाथि कब्जा जमाए जस्तै नेपाललाई पनि कब्जा गर्नसक्नेप्रति नेपाली जनता सजग हुनुपर्नेमा जोड दिँदै बहुदलीय र गणतन्त्रमा भ्रष्टाचार पञ्चायतकालमा भन्दा कम नभएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले २०४५ मा भएको भक्तपुर काण्डको प्रभाव भक्तपुरमा मात्र सीमित नभएको बरु नेमकिपाको सङ्गठन भएका सबै ठाउँमा राज्य दमनमा उत्रेको धारणा राख्नुभयो ।
उहाँले काठमाडौँ जिल्लाकै विभिन्न क्षेत्रमा प्रहरीले नेमकिपाका कार्यकर्ता र समर्थकहरूलाई दुःख दिएको अनुभव सुनाउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले आगामी असोज ३–५ गतेसम्म हुने नेमकिपाको सातौं महाधिवेशनको तयारीबारे जानकारी दिनुभयो ।
नेमकिपा टोखा नगर समितिका अध्यक्ष रवीन्द्र महर्जनको सभापतित्वमा भएको कार्यक्रममा वीरबहादु डंगोल, मदन श्रेष्ठ, मीना डंगोल, शोभालाल श्रेष्ठ र रमेश डंगोलले पनि बोल्नुभएको थियो ।
काठमाडौँ
भक्तपुर काण्डको भत्र्सनामा सोमबार नेमकिपा काठमाडौँ जिल्ला समितिको आयोजनामा चन्द्रागिरीमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले राजनीति भनेको तरबारको धारमा हिंड्नुजस्तै हुने बताउँँदै देश र जनताको सेवा गर्ने लक्ष्य बोकेर राजनीतिमा लागेका कार्यकर्तालाई कुनै पनि प्रतिकूल परिस्थितिले गलाउन नसक्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर देश र जनताको सेवा गर्ने नीतिअनुसार कामदार जनताको पक्षमा गरेको सङ्घर्ष सामन्त र पञ्चहरूलाई सह्य नहुँदा भक्तपुर काण्ड रचिएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवालले नेमकिपाबारे भ्रमको खेती गरी फेरि षड्यन्त्र हुनसक्ने बताउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा काठमाडौँ जिल्ला समिति सचिव राजवीर डङ्गोल, नारायणबहादुर दुवाल, गुणदास महर्जन, पुरुषोत्तम महर्जन, चमेली महर्जनलगायतले बोल्नुभएको थियो ।
कालीकोट
नेपाल मजदुर किसान पार्टी दसौँ जिल्ला सम्मेलन तयारी समिति कालीकोटको आयोजनामा निरङ्कुश पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्रमूलक भक्तपुर काण्डको भत्र्सना कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्दीय सदस्य नन्दबहादुर शाहीले राज्यस्तरबाट रचित भक्तपुर काण्ड पार्टीको लागि इतिहासमा नबिर्सिने कालो दिन भएको बताउनुभयो । पञ्चायती व्यवस्थामा तत्कालीन नेपाल मजदुर किसान सङ्गठनलाई समूल नष्ट गर्ने उद्देश्यका साथ दमन गर्ने नीति भक्तपुरमा मात्र सीमित नरही कर्णालीका विभिन्न जिल्लामा फैलिएको चर्चा गर्दै उहाँले भन्नुभयो, “तर, पञ्चायती व्यवस्था आफै नष्ट भयो ।”
नेमकिपा दसौँ जिल्ला सम्ममेलन तयारी समितिका संयोजक नवराज कोइरालाले भक्तपुर काण्डबाट पाठ सिक्दै पार्टीका गतिविधि अगाडि बढाउनुपर्ने बताउनुभयो । धनञ्जय अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा सम्मेलन तयारी समितिका सचिव खड्गराज शाही र सूर्यबहादुर शाहीले पनि बोल्नुभएको थियो ।
बाँके
भक्तपुर काण्डको विरोधमा नेपाल मजदुर किसान पार्टी बाँकेको आयोजनामा कोहलपुरमा नगर सरसफाइ तथा कोणसभा सम्पन्न भयो । कोहलपुर चौराहाबाट सुरु भएको सरसफाइ कार्यक्रम नगरको साझा चोक पुगेर पुनः चौराहामै कोणसभा गरी समापन गरिएको थियो ।
कार्यक्रममा नेमकिपा बाँकेका अध्यक्ष बखत थापाले वर्तमान कम्युनिस्ट नामको सरकारले भ्रष्टाचार, अनियमितता र निजीकरणलाई प्रोत्साहन गर्दै पञ्चायती पदचाप पछ्याएर जनताको समाजवादी भावनामा खेलवाड गरेर जनतामा राजनीतिप्रति नै वितृण्णा फैलाएको बताउनुभयो । उहाँले यो सरकार मजदुर र किसानमारा सरकार भएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपा कोहलपुर नगर समितिका अध्यक्ष अंजिरबहादुर शाही र रत्नबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।
सुर्खेत
भक्तपुर काण्डको भत्र्सना गर्दै नेमकिपा सुर्खेत जिल्ला समितिको आयोजना सोमबार कार्यकर्ता भेला भयो ।
कार्यक्रममा नेमकिपा सुर्खेत जिल्ला समितिका संयोजक हरिबहादुर बोहराले राजनीतिक कार्यकर्ताले इतिहासबाट पाठ सिकेर भविष्यको बाटो तय गर्नुपर्ने विचार राख्नुभयो । हिजो पञ्चायतले गरेको दमन आजका शासक दलबाट पनि हुनसक्ने सम्भावना भएको धारणा राख्दै उहाँले जनताको निःस्वार्थ सेवा गर्ने भावनाले जनतासँग कार्यकर्तालाई नजिक राख्ने बताउनुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घका केन्द्रीय सदस्य प्रेम थापा, नेमकिपा दैलेख जिल्ला समितिका सचिव लक्ष्मी विक, शेरबहादुर शाही, शिक्षक दीपक शाही, हस्त गुरुङ, अङ्गबहादुर शाही, जगत लामिछाने, तुलसी खड्का, खेमराज कँडेल, लालबहादुर थापा, बिजुकला रानालगायतले बोल्नुभएको थियो ।
कैलाली
भक्तपुर काण्डको भत्र्सना गर्न नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा सोमबार जिल्लास्तरीय भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले समाजमा वर्ग रहेसम्म वर्ग शत्रुले कामदार जनताका पार्टीविरुद्ध भक्तपुर काण्डजस्ता जालझेल जारी राख्ने धारणा राख्दै वर्ग शत्रुले कामदार जनतालाई दबाउन अन्तिम दमसम्म प्रयास जारी राख्ने बताउनुभयो ।
उहाँले कामदार जनताको अनुशासित सङ्गठनले मात्र समाजवादी व्यवस्था स्थापना सम्भव भएको चर्चा गर्दै नेकपाको सरकारले समाजवादको नाममा पुँजीवादलाई बलियो बनाउन खोजिरहेको बताउनुभयो ।
नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले जनतालाई दबाएर शासन चलाउने पञ्चायतलाई जनताको आन्दोलनले समाप्त पारेको बताउनुभयो । उहाँले पञ्चायती व्यवस्था समाप्त भए पनि पञ्चायती मानसिकता र शैली अझै कायम रहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका धनबहादुर थापामगर, गगनबहादुर थापामगर, गजबहादुर दर्लामी, लक्ष्मी पुन, तिर्सना पुनलगायतले बोल्नुभएको थियो ।
मकवानपुर
भक्तपुर काण्डको भत्र्सनामा मकवानपुरको हेटौंडामा सोमबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाको स्थापनाको पृष्ठभूमि, पार्टीको ऐतिहासिक घटनाक्रमलगायत पछिल्लो राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिक परिवेश, काश्मीर मामिला आदिबारे जानकारी दिनुभएको थियो ।
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सृजना सैंजूले तत्कालीन पञ्चायती सरकारले २०४५ भदौ ९ गते भक्तपुरमा घटाएको घटनाबारे विस्तृतरूपमा जानकारी दिनुभयो ।
नेमकिपा मकवानपुर जिल्ला समिति अध्यक्ष सन्तलाल भैलको सभापतित्वमा भएको कार्यक्रममा दीपेन्द्र श्रेष्ठले पनि बोल्नुभएको थियो ।
शिक्षक भेला
पञ्चायती राज्यस्तरबाट ३१ वर्ष अगाडि नेपाल मजदुर किसान पार्टीविरुद्ध रचिएको भक्तपुर काण्डको भत्र्सनामा सोमबार भक्तपुरको गणेश मा.वि. भार्वाचोका शिक्षकशिक्षिकाहरूको भेला भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खर्बुजाले २०४५ मा घटेको भक्तपुर काण्ड पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र हो भन्नुभयो ।
लेनिनवादी नीतिअनुरुप प्रतिक्रियावादी सङ्घसंस्थाभित्र पसेर जनताको सेवा गर्ने नीति लिँदै नेमकिपाले पञ्चायतभित्र पसेर जनताको सेवा गर्ने काम पञ्चायतको लागि आँखाको कसिङ्गर बनेको बताउँदै भक्तपुर काण्डमा सक्रिय पञ्चहरू नै आज ठूला पार्टीहरूमा बसेर नेमकिपाविरुद्ध षड्यन्त्रको तानावाना बुनिरहेको बताउनुभयो ।
विव्यस सदस्य लक्ष्मीनारायण राजलवटले ह्योजूलाई समयमै उपचार नभएको, एकतर्फी र झूटो बयान र सरजमिनको घटना, सरकारी निर्णयविपरीत ह्योजूलाई राहत वितरण गराएको, तत्कालीन प्रम र मन्त्रीहरूको सहभागितामा भएको जुलुस, भक्तपुरबाहेक नेमकिपाको पार्टी सङ्गठन भएका सम्पूर्ण क्षेत्रहरूमा चलाएको राज्य आतङ्क आदिबाट भदौ ९ को घटना नेमकिपाको समूल नष्ट गर्ने योजनाबद्ध षड्यन्त्र भएको पुष्टि गर्छ भन्नुभयो ।
कार्यक्रममा विव्यस सदस्य कृष्णबहादुर दुगुजू, प्रअ गंगाप्रसाद याकामी, सहायक प्रअ गणेशराम थुसालगायतका शिक्षकशिक्षिकाहरूले आ–आफ्नो अनुभव तथा विचार प्रस्तुत गर्नुभएको थियो ।
कानुन अध्ययन समाजको भेला
काठमाडौँ, ९ भदौ । कानुन अध्ययन समाज नेपाल काठमाडौँ जिल्ला समितिको आयोजनामा ‘भक्तपुर काण्ड’ भत्र्सनास्वरूप सोमबार छलफल कार्यक्रम भयो ।
अधिवक्ता श्रीभक्त भडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कानुन अध्ययन समाजका केन्द्रीय सदस्यहरू शिवराज दाहाल, मदन श्रेष्ठ, विक्रम वैद्य र सानुकाजी महर्जनले राज्यस्तरबाट नेमकिपाविरूद्ध गरिएको षड्यन्त्रको चर्चा गर्दैै सदैव चनाखो रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्यस्तै भक्तपुर काण्डको निरन्तर विरोध र भत्र्सना गर्नुका साथै सचेत रहनुपर्ने सन्दर्भमा भक्तपुर जिल्ला समितिले पनि छलफल कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा अधिवक्ताहरू रामप्रसाद प्रजापति, शिवराज दाहाल, राधेश्याम सुवाल, गम्भीरमान ज्याख्वलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *