भर्खरै :

भरोसाका विमल होडा काठमाडौँ जिल्ला शाखाबाट निष्काशित !

काठमाडौँ, १० भदौ । नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौँ जिल्ला समितिले भक्तपुर क्यान्सर अस्पतालमा व्यवस्थापन समितिका पदाधिकारीहरू नै आर्थिक स्वार्थमा संलग्न भएको र काठमाडौँ जिल्ला शाखाबाट प्रतिनिधित्व गरी केन्द्रीय महासचिव बनेका विमलकुमार होडासमेत त्यस्ता क्रियाकलापमा संलग्न भएकोमा दुःख व्यक्त गरेको छ । समितिका सभापति अजयसिंह सुवालले नेपाल अर्बुद रोग निवारण संस्था केन्द्रीय समितिलाई लेखेको पत्रमा लेखिएको छ, “एक विशुद्ध सेवा भावले मन, वचन र कर्मले सेवा गरौँ भनी वचनबद्ध भई समर्पित हुन पुगेका व्यक्तिहरू नै क्यान्सरका बिरामीहरूबाट प्राप्त हुने सेवा शुल्कबाट सञ्चालित अस्पतालमा केही व्यक्तिको स्वार्थभावले अस्पताल सञ्चालन हुनु दुःखपूर्ण छ ।”
“यो घटनाले नेपाल अर्बुद रोग निवारण संस्थामा लागेका सम्पूर्ण समाजसेवीहरूको शिर निहुरिन पुगेको छ”, वक्तव्यमा भनिएको छ ।
वक्तव्यमा संस्थाको वृहत हितलाई ध्यानमा राखी आरोपित व्यक्तिहरूले नैतिकताको आधारमा आफ्नो पदबाट अलग भई निष्पक्ष छानबिनमा सहयोग गर्ने आशा व्यक्त गरिएको छ ।
वक्तव्यमा अघि भनिएको छ, “भक्तपुर क्यान्सर अस्पतालमा यस शाखाबाट प्रतिनिधित्व गरी केन्द्रमा महासचिव भई कार्यरत विमलकुमार होडाको कम्पनी भरोसा सर्भिस प्रा.लि.बाट (व्यवसायिक तथा आर्थिक लाभको कार्य) श्रमिक आपूर्तिको ठेक्कापट्टामा प्रत्यक्ष संलग्नता रहेको भन्ने समेत पुष्टि हुन आएको र भक्तपुर क्यान्सर अस्पताल नै संस्थाअन्तर्गत नरहने अवस्थाले संस्थाको अहित हुने कार्य गरेको ठहर भई विधानको दफा ३५ (ङ) (च) समेत आकर्षित हुने हुनाले विधानको सोही दफाअनुसार सदस्यता समेत नरहने अवस्थाको सिर्जना भएकोले यस जिल्ला कार्य समितिको निर्णयअनुसार केन्द्रीय कार्य समितिको ध्यानाकर्षण गराउन चहान्छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *