भर्खरै :

वातावरणमैत्री विद्युतीय सवारी प्रयोगमा जोड दिन जरूरी

– शीतल महर्जन, काठमाडौं
सार्वजनिक सवारी विश्वसनीय र सन्तोषप्रद नहुँदा हाम्रो देशमा हिजो–आज निजी सवारी साधन सबैको आवश्यकताझैं बनेको छ । तर बढ्दो सवारी साधन र कम पूर्वाधारले निम्त्याएको प्रदूषण र सवारी जामको समस्या हामी भोग्दैछौँ । त्यत्तिमात्र होइन बढ्दो सवारी साधन मोहकै कारण हाम्रो आम्दानीको ठूलो भाग सवारी, त्यसको पार्टस् र इन्धन किन्नमै खर्च गरिरहेका छौँ । हाम्रो सवारी मोहको दुष्परिणाम आर्थिक क्षेत्रमा मात्र सीमित छैन, हाम्रो पर्यावरणीय क्षति र स्वास्थ्यमा पुगिरहेको गम्भीर क्षतिलाई बेवास्ता गर्न मिल्दैन ।
विज्ञ चिकित्सकहरूका अनुसार बढ्दो सवारी साधन र त्यसले निम्त्याएको प्रदूषणका कारण काठमाडौँ उपत्यकामा बसोबास गर्नेमध्ये ८० प्रतिशत मानिसलाई श्वासप्रश्वाससम्बन्धी कुनै न कुनै रोग लागिरहेको छ भने ३० प्रतिशतलाई फोक्सोको गम्भीर रोगहरू लाग्ने गरेको छ । धूलो, धुवाँ र तापक्रम वृद्धिका कारण आँखा र छालामा हुने गरेका इन्फेक्सन पनि सानो समस्या होइन । फोक्सोको क्षयरोगको प्रमुख कारण घूमपान बताइए पनि धूमपान नगर्ने मानिस पनि क्षयरोगको शिकार भएका छन्, त्यसको प्रमुख कारण वायु प्रदूषण नै हो । यी रोगका कारण बर्सेनि अरबौँ रूपैयाँ उपचार र औषधिमा खर्च गर्न हामी बाध्य छौँ ।
यी जानकारी धेरै–थोरै हामी सबैजनाले राख्छौँ । तर, प्रदूषण कम गर्ने उपायबारे गहन छलफल गर्ने र मनन गर्ने भने गरेका छैनौँ । हामी सबै आ–आफ्नो आकाङ्क्षा र स्वार्थका पछि लागिरहेका छौँ । हामीलाई छिमेकी र नातागोतालाई देखाउनकै लागि भए पनि आफ्ना लागि गाडी किन्नुपरेको छ । अटो मोबाइल व्यापारीलाई आफ्नो व्यापार कायम राख्न जस्तै विज्ञापन र प्रचार गरेर पनि नयाँ सवारी बिकाउन परेको छ । अहिले नै हामी निजी सवारी त्याग्न सक्ने स्थितिमा त छैनौँ । तर, कम प्रदूषण गर्ने सवारीको प्रयोगलाई भने बढाउन सक्छौँ । त्यसमा विद्युतीय गाडी र मोटरसाइकल, साइकल मुख्य हुन् । काठमाडौँ उपत्यका र तराईका जिल्लामा हामीले विद्युतीय मोटरसाइकल र साइकलको प्रयोग गर्ने हो भने वातावरण प्रदूषण र रोगको प्रकोपमा कमी ल्याउनका साथै बर्सेनि मोटरसाइकलको इन्धनमा खरिद गर्दा विदेशिने रकम जोगाउन सकिन्छ । जलविद्युत् नेपालमै उत्पादन हुने हुनाले त्यसमा कममात्र खर्च लाग्ने र भएको खर्च पनि देशमै रहन सक्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *