भर्खरै :

झरी घट्यो, मनसुन ढिला पस्यो

– भीष्मराज ओझा
काठमाडौँ, १२ भदौ । नेपालमा विगत तीन दशक बढी समयको मौसमी तथ्याङ्क केलाउँदा झरी पर्ने दिन क्रमशः घट्दै गएको देखिएको छ । एक्कासि मुसलधारे पानी पर्ने क्रम भने बढ्दो छ ।
कम्तीमा तीन दिनसम्म लगातार एकदेखि १० मिलिमिटरसम्म निरन्तर वर्षा हुने क्रमलाई सामान्यतया झरी भनिन्छ । यो मौसमी अवस्था सन् २००० देखि तीव्ररुपमा घटेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कले देखाउँछ ।
सन् १९८० देखि २०१५ सम्मको मनसुन अवधि (जूनदेखि सेम्टेम्बर) को प्राप्त विवरण विश्लेषण गर्दा त्यस्तो प्रवृत्ति देखिएको विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल बताउनुहुन्छ । विभागले मुलुकभरका २८ मौसमी सूचना केन्द्रबाट लिएको तथ्याङ्कलाई विश्लेषण गरेको हो । उहाँ भन्नुहुन्छ, “पहिलेको तुलनामा झरी पर्ने दिन क्रमशः घट्दो छ, एक्कासी वर्षा हुने क्रम भने बढ्दो छ । जुन तथ्याङ्कमा पनि स्पष्ट हेर्न सकिन्छ ।”
नेपालमा यस वर्ष हालसम्म एकै दिनमा सबैभन्दा बढी वर्षा जनकपुरमा भएको तथ्याङ्क अभिलेख छ । यस वर्ष जुलाई १३ मा जनकपुरमा २८३ दलमलव आठ मिलिमिटर पानी परेको थियो । त्यस्तै जुन १५ मा एकैदिन सबैभन्दा बढी वर्षा सुनसरीको तरहरामा ११५ दशमलव पाँच मिलिमिटर र अगष्ट १७ लुम्लेमा १८० दशमलव नौ मिलिमिटर वर्षा भएको तथ्याङ्क छ ।
मुसलधारे वर्षाले विपद् बढ्दै
जलवायु परिवर्तनका असरका कारण विगतको तुलनामा लगातार झरी पर्ने दिन घटेको र मुसलधारे पानी पर्ने दिन बढेको मौसमविद्को भनाइ छ । एकै दिनमा १०० मिलिमिटरभन्दा बढी वर्षा हुने क्रम बढेको छ । त्यसले विपद्का घटनासमेत बढेको बताइएको छ ।
जल तथा ऊर्जा आयोगका सहसचिव ऋषिराम शर्मा मुसलधारे वर्षाले नेपालको भू–उपयोग, विकास निर्माण, अव्यस्थित बस्तीमा ठूलो असर पार्ने गरेको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “एक्कासि ठूलो पानी पर्नाले कृषि बालीनालीमा असर पर्ने, बाढी पहिरोलगायत विपद्का घटना बढेका छन् । सहरका ढलको क्षमताले धान्न नसकेर बाटाघाटा जलमग्न हुने गरेका छन् । साना खोलामा एक्कासि बाढी नै आउने गरेको छ ।” वर्षामा आएको यो परिवर्तन जलवायु परिवर्तनका असरको परिणाम भएको सहसचिव शर्मा बताउनुहुन्छ ।
विश्वव्यापीरूपमा तापक्रम र हरित ग्यास उत्सर्जनमा भएको वृद्धिले जलवायुमा आएको परिवर्तनबाट मौसमी प्रणालीमा समेत असर देखिएको हो । नेपाल जस्तो कमजोर पहाडी भू–भागमा एक्कासि पर्ने मुसलधारे वर्षाले एकातिर पहिरो जानेक्रम बढेको र अर्काेतिर पानीका मूलमा पनि पानीको मात्रा घटेको भूगर्भविद्को भनाइ छ ।
विस्तारै र निरन्तर वर्षा हँुदा जमिनले पानी सोस्ने र त्यो पानी विस्तारै मुल फुटेर बग्ने गरेको बताउँदै भूगर्भविद् डा. कृष्ण देवकोटा भन्नुहुन्छ, “आकाशबाट एक्कासि ठूलो वर्षा हुँदा जमिनले सोस्न नसकेपछि पहिराको जोखिम बढ्छ । ठूलो पानीको व्यवस्थापन नहुने र पहिरोसँगै लेदो माटोसमेत बगेर जाने त्यसपछि तल्लो तटीय क्षेत्रमा समेत विपद् निम्तिने गरेको छ ।”
एक्कासि पर्ने मुसलधारे वर्षाका कारण जमिनले पानी सोस्न नपाएर मूलमा पनि पानीको मात्रा घट्ने र यसले पानीका स्रोतमा समेत असन्तुलन हुने भूगर्भविद् डा. देवकोटाको भनाइ छ । साथै अहिले पहाडमा जथाभावी सडक खन्ने प्रवृत्ति बढेको र त्यो खनेको जमिनमा एक्कासि हुने ठूलो वर्षाले माटो बगाइ पहिरो जानेक्रम बढेको छ ।
मनसुन प्रवेश गर्नेक्रम पछाडि धकेलिँदै
सामान्यतया नेपालमा मनसुन प्रवेश गर्ने मिति जून १० मानिन्छ भने सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । यो वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जून २० मा प्रवेश गरेको हो ।
विगत १८ वर्षको अवधि हेर्दा नेपालमा पाँच वर्षमात्र जून १० अघि मनसुन प्रवेश गरेको छ भने अरू वर्ष ढिला नै प्रवेश भएको छ । त्यस्तै मनसुन कायम रहने मिति पनि पछाडि धकेलिएको छ । मौसमविद्ले यसलाई पनि जलवायु परिवर्तनको असर भएको बताउँछन् मनसुन प्रवेश गर्ने र कायम रहने मितिमा आएको परिवर्तनले खासगरी कृषिमा असर पारेको छ भने मानिसको जीवनशैलीलाई प्रभावित पारेको छ ।
गत १८ वर्षको मौसमी तथ्याङ्क हेर्दा सन् २००२ बाहेक सबै वर्ष मनसुन औसतभन्दा ढिलासम्म सक्रिय रहेको छ । सन् २०१३ मा नेपालमा अक्टोबर १९ सम्म मनसुन सक्रिय रहेको विभागका वरिष्ठ मौसमविद् डा. कँडेल बताउनुहुन्छ ।
नेपालमा मुख्यगरी मनसुन बङ्गालको खाडीबाट प्रवेश गर्छ । केहीमात्रामा अरेबियन सागरबाट प्रवेश गर्ने गरेको छ । दुवै क्षेत्रबाट नेपाल प्रवेश गर्ने जलवाष्पयुक्त मनसुनी हावा नेपालमा एकैसाथ प्रवेश हँुदा भीषण वर्षा हुने गरेको छ । नेपालमा हिउँदमा वर्षा गराउने पश्चिमी वायु भने भूमध्यसागरबाट प्रवेश गर्छ ।
नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिनामा मनसुनको समयमा कूल वर्षाको ८० प्रतिशत वर्षा हुन्छ ।
यसैगरी प्रि –मनसुनको समय (मार्चदेखि मेसम्म) मा करीब १२ प्रतिशत, मनसुनपछि (अक्टोबर र नोभेम्बर) चार प्रतिशत र हिउँद (डिसेम्बरदेखि फेब्रुअरी) तीन दशमलव पाँच प्रतिशत वर्षा हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *