भर्खरै :

विद्युत् प्राधिकरणको कमजोरीले लियो ज्यान

भक्तपुर, १२ भदौ । नेपाल विद्युत् प्राधिकरणको लापरबाहीले एक जनाको ज्यान गयो भने दुई जना घाइते भए । यो दुर्घटना कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ मनोहरा फाँटमा करेन्ट लागेर भएको हो ।
दुर्घटनामा परी मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बोडेका वर्ष २८ का अमन कपालीको मृत्यु भयो भने सोही स्थानका वर्ष ४५ का चमेली दुगु र वर्ष ४० का चण्डेश्वरी दा श्रेष्ठ घाइते भएका छन् । घाइतेहरूको नेपाल कोरिया मैत्री अस्पतालमा उपचार भइरहेको छ ।
त्रिशुलीको विद्युत् काठमाडौँ हुँदै भक्तपुरको सवस्टेसनमा ल्याइएको पोलमा तलतिर पुरानो तार र माथि नयाँ तार थियो । पुरानो तार लच्की खेतमा लत्रेको महिनौँ हुँदा पनि प्राधिकरणको हेलचेक्र्याइँले सो घटना भएको हो । हामीले समयमै जानकारी दिएका थियौँ तर, प्राधिकरणले कुनै पनि पहल नगर्दा आज यो घटना भयो – स्थानीय राजेश श्रेष्ठले भने । लत्रेको तारको व्यवस्थापनका लागि चार महिनाअघि नै स्थानीय किसानहरूले नेपाल विद्युत् प्राधिकरण खुर्सानीबारीस्थित शाखा कार्यालयमा निवेदन दिएका थिए तर प्राधिकरणले वास्ता नगर्दा दुर्घटना भएको स्थानीयको आरोप छ । खेतमा तरकारी लगाउन ट्रयाक्टर जोत्न नमिल्ने भएकोले तार पन्छाउने क्रममा अमन कपालीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर चिच्याएपछि दुई जनाले बचाउन गएका थिए । घाइते कपालीलाई पेप्सीकोलास्थित मदरल्यान्ड अस्पतालमा लगेकोमा अस्पतालले मृत घोषणा ग¥यो ।
प्राधिकरणका पुराना तार र उपकरण ध्रापको रूपमा ठाउँ –ठाउँमा हुँदा पनि बेवास्ता भइरहेको छैन । यस्ता दुर्घटना ठाउँ – ठाउँमा घटिरहेका छन् तर, प्राधिकरणका अधिकारीहरू कमिसनको चक्करमा छन् । स्थानीयले समयमै जानकारी दिँदा पनि केही भएको छेन भनी वास्ता नगर्दा ज्यानै गएको छ । मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्ने जिम्मेवारी प्राधिकरणले लिनुपर्छ भनी घाइते परिवारको माग छ । मृतक कपालीका एक श्रीमती र चार वर्षका एक छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *