भर्खरै :

अमेजन डढेलोले दिएको सन्देश

दक्षिण अमेरिकाको अमेजन क्षेत्रमा भएको आगलागी यतिबेला अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ । संसारकै सबभन्दा विशाल वर्षा जङ्गल रहेको क्षेत्रमा अनियन्त्रित डढेलोका कारण त्यहाँ बस्ने अल्याख जीवजन्तु नष्ट भएका छन् । वातावरणविद्हरू अमेजनमा विगत केही सातादेखि लागिरहेको डढेलोका कारण त्यो क्षेत्रमा मात्र पाइने कतिपय बोटविरुवा र कीरा फट्याङ्ग्रा र जीवजन्तु पृथ्वीबाट सदाको लागि नष्ट हुनेमा चिन्तित छन् । वैज्ञानिकहरू जङ्गलमा डढेलो लाग्नुलाई स्वाभाविक र उपयोगी प्राकृतिक प्रक्रिया मान्छन् । तर, त्यस्तो डढेलो नियन्त्रित हुनुपर्ने उनीहरूको भनाइ छ ।
अमेजन क्षेत्रमा लागेको डढेलो भने अनियन्त्रित बन्दा संसारभर यसप्रति चासो बढेको हो । ब्राजिलको अनुदार राष्ट्रपति जायर बोल्सोनारो सरकारले समयमै डढेलो नियन्त्रणको लागि पहल नगरेको भन्दै उनको आलोचना भएको छ । अमेजन क्षेत्रमा बसोबास गर्दै आएका आदिवासी जनताले आफ्नो आदिभूमिमा यसरी विनाशकारी आगलागी हुँदासमेत सरकारले प्रभावकारी नियन्त्रणका लागि पहल नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । बोल्सोनारो सरकारले वनविनाश रोक्न प्रभावकारी कदम नचाल्दा अमेजन क्षेत्रमा डढेलो लागेको विज्ञहरूको भनाइ छ । अमेजन क्षेत्रमा वन विनाश बढेसँगै डढेलो बढ्ने गरेको अध्ययनले देखाएको छ ।
ब्राजिलमा ६० प्रतिशत र बाँकी बोलिभिया, भेनेजुयला, कोलम्बिया, इक्वेडर, गुयाना, सुरिनामलगायत ९ वटा देशमा फैलिएको अमेजन क्षेत्रमा लागेको डढेलोको मूल कारण भने जलवायु परिवर्तन र तापमान वृद्धि भएको वैज्ञानिकहरूले बताएका छन् । तापमान वृद्धिले अमेजनको जङ्गलमा मात्र होइन, हिमालयदेखि समुद्रमा समेत परिवर्तन देखिएको छ । यस्ता परिवर्तनले मानिसको जीवनमा पनि ठूलो परिवर्तन देखिंदै छ । मानिसहरू परिवर्तित अवस्थामा अनुकूलित हुन गाह«ो भइरहेको छ । जलवायु परिवर्तनको मुद्दा कुनै क्षेत्र वा देशसँग मात्र सीमित विषय होइन । सिङ्गो पृथ्वीको भविष्यसँग गाँसिएको विषय भएकोले संसारका सबै देशको यो समान चासोको विषय हो । एउटै साझा पृथ्वीमा बसेर यसको प्रभाव कुनै एउटा देशमा मात्र पर्छ भन्नु मूर्खतामात्र हो ।
तर, पुँजीवादी देशहरू पृथ्वीमाथि आइपरेको यो सङ्कटप्रति गम्भीर देखिंदैनन् । उनीहरूको लागि आसन्न सङ्कटभन्दा आफ्नो मुनाफा प्यारो बनिरहेको छ । विश्व पुँजीवादको नेता देश संरा अमेरिका जलवायु परिवर्तनप्रति गम्भीर छैन । राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनको मुद्दालाई संरा अमेरिकी आर्थिक गतिमाथि रोक लगाउने षड्यन्त्रको रुपमा बुझेका छन् । फलतः उनले जलवायु परिवर्तनसम्बन्धी पेरिस घोषणामा हस्ताक्षर गरेनन् । उनले जलवायु परिवर्तनको मुद्दाकै उपहास गर्दै हिंडेका छन् ।
जलवायु परिवर्तनको विषयमा समयमै सजग नबन्ने हो भने संसारमा नयाँनयाँ समस्या बढ्दै जाने निश्चित छ । यो कुनै तर्कबाजी होइन, वास्तविकता हो । यो वास्तविकताको सामना गर्न राजनीतिक तहबाट तदारुकता नदेखाउने हो भने आसन्न सङ्कटबाट कसैले पनि पृथ्वीलाई जोगाउन सक्दैन । पुँजीवाद नै जलवायु परिवर्तन र विश्वको तापमान वृद्धिको मूल कारण भएकोले त्यसको विरोधमा राजनीतिक सङ्घर्ष पनि आजको मुद्दा हो । वातावरणको विषय अराजनीतिक विषय कदापि होइन । राजनीतिक तहबाट नै जलवायु परिवर्तनप्रति उदासिनता देखाउँदा यसले अझ विकराल रुप लिइरहेको छ । ब्राजिलमा बोल्सोनारो सरकारले देखाएको उदासिनता वातावरणप्रति अनुदार शक्तिको बेवास्ताको एउटा उदाहरण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *