भर्खरै :

ख्वपमा काश्मीर सङ्कटबारे प्रवचन

भक्तपुर, १३ भदौ । ख्वप माध्यमिक विद्यालयका विद्यार्थीबीच शुक्रबार काश्मीरको वर्तमान स्थिति विषयमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले चीनको समृद्धिबाट तिर्मिराएको अमेरिकालगायत पश्चिमा देशहरू चीनलाई अगाडि बढ्न नदिने षड्यन्त्रमा लागिरहेका छन् भन्दै यसैको कडीको रूपमा काश्मीर विवाद चर्किएको बताउनुभयो ।
उहाँले काश्मीरमा छुट्टै संविधान भएकै कारण भूमिसुधार लागू गर्न सकिएको उल्लेख गर्दै काश्मीरमा सन् १९५० मा भूमिसुधार कार्यक्रम लागू गरी सामन्ती शोषणको अन्त्य गर्ने प्रयास गरिएको विचार राख्नुभयो ।
“काश्मिरको विषयमा भारत र पाकिस्तान बीच यस अगाडि तीन पटकसम्म युद्ध भइसकेको अवस्थामा कुनै पनि समयमा युद्ध भड्किने सम्भावना छ ।” उहाँले भन्नुभयो ।
ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले विश्वको सबभन्दा ठूलो प्रजातन्त्रको दावी गर्ने भारतले अप्रजातान्त्रिक कदम चाली संविधान संशोधन गरेको भन्दै सारा काश्मिरी जनतालाई अन्धकारमा राखी गरिएको कदम प्रजातान्त्रिक हुनैसक्दैन भन्नुभयो ।
ख्वप माविका शिक्षक राजेन्द्र सुवालले भारतको संविधानको धारा ३७० लगायतको खारेजीले भारतमा संवैधानिक अन्योल खडा गरेको भन्दै सर्वोच्च अदालतमा बहस भइरहेको बताउनुभयो ।
ख्वप माविका शिक्षक राजाराम दुवालले विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना र असरबारे जानकार हुनुपर्ने विचार राख्नुभयो ।
विद्यार्थीहरूले काश्मीर मामिलामा भारतको कदमले अर्को विश्वयुद्ध हुने खतरा रहेको बताए ।
विद्यार्थी जगदीश कार्कीको सभापतित्वमा भएको कार्यक्रममा झरी सुवाल, रोजिता तामाङ, बबिन भट्टराई, आयुशा थकुलवट, स्वनिका धिताल र आशिष बरामले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *