भर्खरै :

सामन्तवादी चिन्तन र शैली यथावत

– मेरिना शाक्य
समाजवादउन्मुख मुलुकमा समाजवादउन्मुख संविधान हुन्छ, समाजवादउन्मुख संविधानअनुसार सरकारको नीति तथा कार्यक्रम र बजेट पनि समाजवादउन्मुख हुन्छ । संविधानमा समाजवादउन्मुख भने पनि त्यो व्यवहारमा लागू भइरहेको छैन । समाजवादउन्मुख देशमा पुँजीवादी बन्दोबस्तहरू छोड्दै समाजवादी बन्दोबस्त क्रमशः लागू हुनुपर्ने हो । तर ‘समाजवादउन्मुख मुलुकमा सामन्तवादका निकृष्ट नमुना’ का समाचार छापामा आयो । पुँजीवादी व्यवस्थाविरूद्ध लड्नुपर्ने बेला सामन्तवादी चिन्तन, सामन्तवादी शोषण र दमन यथावत छ । भदौ १५ गते प्रकाशित ‘एकै साहुकारले २९९ जनालाई ऋण दिएको कागज बनाए, अदालतले पुर्जी काटेपछि गाउँकै उठिवास’, ‘एक साहु, ३०० पीडित’, ‘एउटै ऋणका १९ तमसुक’ समाचारका शीर्षकले पनि नेपालमा अझै सामन्ती चिन्तन र सामन्ती शैली बाँकी रहेको पुष्टि गर्छ ।
कसैले स–साना घरेलु व्यवसाय गर्न, खेतीपाती गर्न या विदेश जान कसैसँग ऋण लिन्छ या हुनेले ऋण दिन्छ । ऋण लिएबापत निश्चित व्याजदर निर्धारण गरिन्छ र समय–समयमा सो व्याज या ऋण तिर्नुपर्छ । ऋणको व्याज आफूखुसी या मनपरीभन्दा सरकारी नियमअनुसार निर्धारण गरिनुपर्छ । तर गाउँ–ठाउँका सोझा–सीधा जनतासँग लिएको ऋणमा बधाइ–चढाइ गर्ने, ऋण र व्याज बुझाईसकेपछि लेखिएको तमसुक नच्याटी फेरि सावाँ र व्याज समेत सामन्त, शोषक, जमिनदार र जाली–झेलीहरूले लिने काम गरिरहेका छन् । यो गरिबमाथिको शोषण हो । गरिब जनताको श्रम–पसिनामा सधैँ रजाइँ गरिरहनु सामन्तवादी चिन्तन हो । सरकार या सत्तारूढ दल देशमा बाँकी रहेका यस्ता कार्यहरू अन्त्य गर्नेतर्फ अघि बढ्नुपर्ने हो । पैसा दिए पनि तमसुक, नच्याट्ने लिएको ऋणभन्दा दोब्बर–तेब्बर बढाउने, एउटै ऋणको तमसुक तीन–चार वटा बनाउने सामन्त र जमिनदारहरूको जालझेलले गर्दा ऋणीहरू पीडित भएका छन्, पीडाले चिन्तित छन् । यसरी ऋणबाट पीडा भोगेका पीडितहरू अहिले आन्दोलित छन् ।
यस्तो पीडा र समस्या विशेषगरी तराईमै हुन्छ । तर यस्तो कार्य जहाँ भए पनि गलत हो । त्यसविरूद्ध आफूलाई प्रजातान्त्रिक र क्रान्तिकारी ठान्ने सत्तारूढ कम्युनिष्ट पार्टीले विरोध गर्नुपर्छ, अन्त्य गर्न आन्दोलित हुनुपर्छ । तर सत्तासीन दलहरू देशमा प्रजातन्त्र प्राप्त भएको हुँदा कुनै विरोध र सङ्घर्ष गर्नुनपर्ने फुक्छन् । प्रम केपी ओलीले अब आन्दोलन या सङ्घर्ष के को लागि गर्नुप¥यो भनी अन्य दललाई औँला ठड्याउँछन् । देशमा कम्युनिस्ट पार्टीको सरकार छ भनेर नाक फुलाएरै के गर्ने ? व्यवहार सबै पुँजीवादउन्मुख र सामन्तवादउन्मुख नै देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *