भर्खरै :

भक्तपुर क्यान्सर अस्पताल थप स्तरीय बनाउन कर्मचारी प्रतिबद्ध

भक्तपुर, १६ भदौ । भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत चिकित्सक, नर्स एवम् कर्मचारीहरूले अस्पताललाई विश्वसनीय र स्तरीय क्यान्सर अस्पतालको रूपमा विकास गर्ने उद्देश्य पूरा गर्न भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गठित व्यवस्थापन समितिलाई पूर्ण साथ र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सोमबार भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘क्यान्सर रोगको नियन्त्रण र उपचारको प्राथमिक दायित्व राज्यको हो । योसँग सम्बन्धित निकायहरूमा हुने कार्यहरूको अनुगमन, सुपरीवेक्षण र आवश्यक नियन्त्रणको दायित्वबाट राज्यका निकायहरू पन्छिने र मूकदर्शक बन्न नमिल्ने सन्दर्भमा स्थानीय सरकार भक्तपुर नगरपालिकाले तत्कालीन व्यवस्थापन समिति भ· गरी गठन गरेको नयाँ व्यवस्थापन समितिप्रति सम्पूर्ण कर्मचारीको पूर्ण निष्ठा र भरोसा रहेको कुरा यहाँ अवगत गराउन चाहन्छौँ ।’
वक्तव्यमा भनिएको छ, “अस्पतालमा देशभरीका क्यान्सर रोगीहरू रोगको निदान तथा उपचारका लागि ठूलो आशा, भरोसा र विश्वासका साथ आउने सन्दर्भमा यस अस्पतालमा विगतको व्यवस्थापनबाट भइरहेको अनियमितता तथा भ्रष्टाचार, श्रम शोषण, कर्मचारीप्रति दुव्र्यवहारजस्ता बद्नियतपूर्ण कार्यलाई समयमा नै रोक्नु आवश्यक ठानेर नै यस कमिटीले तत्कालीन व्यवस्थापन समितिका कर्तुतका बारेमा स्थानीय सरकार भक्तपुर नगरपालिकामा लिखित निवेदन दिँदै सो कार्यलाई नियन्त्रण गर्नको लागि अनुरोध गरेको र आउँदा दिनमा पनि कुनै पनि स्तरबाट हुने अनियमितता तथा भ्रष्टाचारका कार्यलाई नियन्त्रण गर्ने कार्यमा अझ सशक्तरूपमा लाग्ने प्रतिबद्धता जनाउन चाहन्छौँ ।”
यसैबीच कर्मचारी कल्याणकारी समितिको आयोजनामा सोमबार तीजको अवसरमा भेटघाट कार्यक्रम भयो ।
भेलामा अस्पतालका मेडिकल डाइरेक्टर डा. ऋषिकेश नारायण श्रेष्ठ, डा. अजेय झा, विद्यापति झा, डा. रोशन प्रजापति, शिवराम धुख्वा, लक्ष्मीकेशरी श्रेष्ठ, विनायक ढुङ्गेललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *