भर्खरै :

भौतिक सुखको लोभ र मानव तस्करी

सुविज्ञा थापा
राम्रो आम्दानी र भौतिक सुखको लोभले नेपाली युवायुवती ठगिने र बेचिने क्रम बढेको छ । विदेश भनेपछि सत्यतथ्य विचारै नगरी दलालको कुरामा विश्वास गर्ने त्यस्ता युवा युवती विदेश पुगेर ठूलो दुःख पाउने गरेको र कतिपय त स्वदेश फर्कन नसकी विदेशमै यातना सहेर बस्नुपरेको सुनिन्छ । विगतमा भारतीय सहरका झिलिमिलीका चर्चामा झुमिएका गाउँघरका नेपाली चेलीबेटी भारतीय कोठीका शोभा बन्न पुग्थे । आज नेपाली चेलीबेटीलाई त्यसरी सडाउने गन्तव्य भारतीय सहरहरूमा मात्र सीमित छैन । खाडी देशहरू, मध्यपूर्वका विभिन्न देश, पूर्वी युरोप र उत्तर अफ्रिकाका कैयौँ सहरमा नेपाली चेलीहरू बेचिन पुगेका समाचार दिन बिराएर सुन्न र पढ्न बाध्य भइरहेका छौँ ।
यस्तैमा नेपाली चेलीहरू बेचिने अर्काे गन्तव्य थपिएका समाचार आएका छन् –चीन र दक्षिण कोरिया । चीनमा जनसङ्ख्या नियन्त्रणका लागि सरकारले दसकौंसम्म लागू गरेको एक सन्तान नीतिको कारण र समाजमा वंश परम्परा जोगाउन छोरा नै जन्माउनुपर्ने मानसिकताका कारण जनसङ्ख्याको लै·िक अनुपात असमान भएको बताइन्छ अर्थात् त्यहाँ पुरुष बढी छन् भने महिलाको सङ्ख्या कम भएको छ । राम्रो रूप, रोजगार र सम्पति नभएका पुरुषहरूले विवाहका लागि सजिलै केटी नपाउने अवस्था त्यहाँ छ । त्यस्ता हैरान भएका पुरुषसित लाखौं रूपैयाँ उठाएर दलालहरूले नेपाली महिलाहरूलाई विवाहका नाममा बेचिदिने गरेको सुनिन्छ ।
दक्षिण कोरिया त महिलाको शारीरिक, मानसिक र श्रम शोषणको नर्क नै मानिन्छ । त्यहाँ पनि विदेशी महिला विवाह गर्नु शारीरिक र श्रम शोषणका लागि हुने गरेको भुक्तभोगीहरूले नै खुलासा गरेका छन् । केही नेपाली चेलीबेटी विवाह भएपछि अन्याय र शोषणमा नपरे पनि भाषा, संस्कृति र चालचलन नमिलेका समाजमा निकै कठिनाइ भोग्नु परेका र दसकौंपछि मात्र माइती देशमा आउन सकेका घटना पनि छन् । तसर्थ यसबारे छानबिनलाई गहन पार्दै विभिन्न लोभ, लालच देखाएर मानव तस्करीमा संलग्नहरूमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्छ । साथै समाजमा ठूला घर–भवन, चौडा सडक, रकमको मुठ्ठा आदिको लोभमा दलालको कुरामा फसेर विदेश लाग्न नहुने चेतना फैलाउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *