भर्खरै :

शिक्षकहरू अध्ययनशील हुन आवश्यक

भक्तपुर, २० भदौ । रोम्बस सेकेण्डरी स्कूल र कलेजले समसामयिक विषयमा शुक्रबार विचार गोष्ठी भयो ।
कार्यक्रममा नेपाल प्राध्यापक समाजका अध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले शिक्षकहरूले देश–विदेशको राजनीतिक अवस्थाबारेमा जानकारी राखी नयाँ पुस्तालाई राजनीतिक चेतना दिन जरुरी रहेको बताउँदै शिक्षकहरूमा अध्ययनशील व्यवहार आवश्यक रहेको चर्चा गर्नुभयो ।
शिक्षकहरूलाई दक्षिण एसियामा विकसित राजनीतिक घटनाक्रम र त्यसले नेपाललाई पर्ने असरबारेमा जानकारी दिन आयोजित कार्यक्रममा अध्यक्ष गोसाईंले भारतीय विस्तारवादले जम्मु–काश्मीरलाई आफ्नो नियन्त्रणमा लिनु दक्षिण एसियाकै लागि खतराको विषय भएको उल्लेख गर्दै भारतीय विस्तारवादबारेमा नेपाली बुद्धिजीवीहरूले नबोल्नु विडम्बनापूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा उहाँले नेमकिपाको सातौँ महाधिवेशनको तयारीबारे तथा नेपाली राजनीतिमा नेमकिपाले खेलेको भूमिकाबारेमा चर्चा गर्नुभयो ।
कलेजका प्राचार्य डा. राजेन्द्र कोजूले विद्यालय तथा कलेजमा अध्यापनरत शिक्षक–शिक्षिकाहरूलाई देश तथा विदेशको भूराजनीतिक अवस्थाबारे जानकारी दिन र शिक्षकहरूमा अध्ययनशीलताको विकास गर्न सो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
डा. कोजूले ‘जम्मु काश्मीर विवाद ः एक अध्ययन’ नामक अध्ययन पत्र प्रस्तुत गर्दै सार्वभौम देशमाथि विस्तारवादी आक्रमण गर्नु निन्दनीय रहेको बताउनुभयो । कार्यक्रममा विद्यालयकी सामाजिक विषय शिक्षक रञ्जना सिवाकोटी र शिक्षक सूर्यप्रसाद तिमल्सिनालगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *