भर्खरै :

कान्छाको नगर दर्शन

 क्रिश्चिना
“यो ठाउँको नाम के हो ?”
“कस्तो मान्छे !, ठाउँको नाउँ नै थाहा नपाई कहाँबाट आएको ?”
“मेरो गाउँ दुर्गममा छ । दुई–तीन घरमात्रै छ के मेरो गाउँमा । तीनघरेबाट आएको !”
“होइन, जिल्ला कुन हो ? कुन प्रदेश हो ? कुन नगरपालिका हो, कुन गाउँपालिका हो ?”
“म कहिल्यै जिल्लामा गएकै छैन, म पढे–लेखेको मानिस होइन, खालि खेती कमाई गरी खाने मान्छे हुँ क्या !”
“तिम्रो गाउँमा केही नाउँ चलेको मन्दिर, खोलानाला, वनजङ्गल वा ठूला–बडाको घर त होला नि ?”
“आ ! मैले भनँे, कोही छैन, खालि तीन घरमात्रै छ, के ! अरू गाउँ र मान्छे भेट्न त एक–दुई दिन लाग्छ ।”
“तिम्रो घरबाट के देखिन्छ, भन त !”
“ए ! हाम्रो घरको छेउबाट देखिने त हिमाल हो ।”
एउटा गाउँको पसलेसँग एक दुर्गम गाउँको नयाँ आगन्तुकको वार्तालाप थियो यो । आगन्तुक एक उत्सुक र राम्रो जीउडालको युवक थियो, लगभग ३० वर्षको, पुरानै टोपी, भोटो र कछाड लगाएको, खुट्टामा जुत्ता थिएन । उसले डोको बोकेको थियो । कुराकानीकै बीचमा एउटी केटी पसलमा आइन् र पसलेसँग “साहुजी, मलाई एक प्याकेट चाउचाउ दिनुस् त” भनी पैसा दिइन् र चाउचाउ लिई गइन् ।
चाउचाउ किन्ने क्रममा तरुनी केटीले आगन्तुकलाई टाउकोदेखि खुट्टासम्मै नियालेकी थिइन् । गाउँमा यस्ता लुगा लगाएका युवाहरू अहिले देख्नै छोडेकाले होला अलि टाढा पुगेर तिनले फर्केर हेरिन् । आगन्तुकले पनि अलि आश्चर्य मान्दै केटीलाई गहिरिएर हेरेको थियो । साहुले पसलको चाउचाउको तह मिलाएर आगन्तुकसँग सोध्यो – “तिम्रो नाम के हो ?”
आगन्तुकले भन्यो, “खोइ मलाई त घरमा कान्छा भनेर आमाले बोलाउँछिन् ।” “जात के हो ?” “अरूले मलाई बोलाउँदा कान्छा तामाङ भनी बोलाउँछन् ।”
“कान्छा तिम्रो घरमा को – को छन्, के तिमीले विवाह ग¥यौ ?” साहुले जिस्क्याउने लयमा सोध्यो । कान्छाले कहिलेकाहीँ बच्चैदेखि सुनेको शब्द ‘साहु’ को अर्थ र प्रत्यक्ष देखेको प्राणी आजै भन्ने मनमा राख्दै भन्योे, “साहुजी, यहाँ यो भारी बिसाऊँ है ?” पसलको छेउमै उँचो पेटीतिर देखाउँदै उसले सोध्यो । साहुले इसारा गर्दै हुन्छ भन्यो ।
भारी बिसाएर साहुसँग कान्छाले सोध्यो, “साहुजी अब यो बाटो कता लाग्छ ?” साहुले सा¥है सोझो र नौलो मानिस सम्झेर बतायो, “यो पूर्वको बाटो गाउँमा जान्छ – दुई चार घर छन् । (पश्चिमतिर देखाउँदै) यो बाटो सहरमा पुग्छ, अहिले सहरलाई नगरपालिका भनिन्छ, ऊ (उत्तरतिरको बाटो देखाउँदै) त्यो बाटो चाहिँ अर्को गाउँमा पुग्छ ।”
कान्छाले सानो बाटाजस्तो एउटा भाँडो डोकोबाट झिक्यो र साहुसँग अलिकति पानी माग्यो, साहुले दुई मग पानी भाँडोमा हालिदियो । आफूले बोकेको सामलबाट दुई–तीन अँजुली सातु भाँडोबाटै हाल्यो, मुछ्यो र खायो, अलिकति नुन र एउटा काँचो खुर्सानी टोक्दै खाना खान सिध्यायो । साहुसँग फेरि पानी माग्दै भाँडोमै पानी खायो र बटुको पखाल्यो पनि । “अब कहाँ जान्छौ, कान्छा ?” साहुले सोध्यो ।
“सहर र नगर हेर्न आएको, धेरै राम्रो छ भन्थे, कहाँ कसरी जाने थाहा छैन, साहुजी ।”
“कान्छा, सहर र नगर एउटै हो, अहिले सहरलाई नगरपालिका र गाउँलाई गाउँपालिका नाउँ दिएको छ क्या ! (एकछिन अडेर) नगर जाने हो भने यो पश्चिमको बाटो जाऊ, एकै घण्टामा पुग्छौ ।” “कति कोस छ – साहुजी ?”
“धेरै छैन, दुई कोसभन्दा कम, बाटो नबिराइकन जाऊ, ओरालै–ओरालो ।”
“हस्, साहुजी” भन्दै कान्छाले आफ्नो डोको बोक्यो र ओरालै ओरालो लाग्यो ।
प्रहरी चौकीतिर अलि फरकखाले युवा देखेपछि एक प्रहरीले सोध्यो – “ए, कता लाग्या, कहाँबाट आएको ?” कान्छाले आफ्नो परिचय दियो र सोध्यो “तपाईं को नि ?” लौ कस्तो मान्छे ! पुलिस पनि चिन्दैनौ ?” प्रहरीले आफ्नो पोशाक देखायो । “हाम्रो गाउँमा पुलिस छैन, (चौकी देखाउँदै) यस्तो घर पनि छैन ।” प्रहरीले उसलाई डोको बिसाउन दियो र खानतलासी लियो । गुन्द्रुक, आलु, नुन, खुर्सानी, सत्तु त्यस्तै खत्याकखुत्रुकमात्र देखेर प्रहरीले सोध्यो – “कहाँ जाने ?”
कान्छाले आफ्नो उद्देश्य बतायो । प्रहरीले मुसुमुसु हाँस्दै भन्यो – “यस्ता मान्छे पनि नेपालमा बाँकी रै’छ ! सोध्यो, “राजधानी, काठमाडाँै भनेको थाहा छ ?”
“नेपाल भन्यामात्र थाहा छ, प्रहरी दाइ”
“अब कहाँ जान्छौ त, तिमी ?”
“यो बाटो नछोडी जाँदा कहाँ पुग्छ – दाइ ?”
“भक्तपुर पुग्छ, त्यो नगर हो,” प्रहरीले सुइँको दियो ।
“भक्तपुर त मैले कहिले सुनेको छैन, के भक्तपुर सहर हो ?”
“हो, हो, सहर हो । पहिले भक्तपुरलाई भादगाउँ भनिन्थ्यो ।”
“त्यसो भए गाउँ पनि सहरै हो ?”
“त्यसो होइन क्या !” सम्झाउने किसिमले प्रहरीले भन्यो, “५–६ सय वर्षअगाडि भादगाउँ भन्थे मानिसहरू, अब त्यसलाई भक्तपुर सहर भनिन्छ । यहाँबाट सरासर अब दक्षिण लाग अनि मोटर गुड्ने सडक आउँछ, अनि सडकै सडक जाऊ, त्यसपछि भक्तपुर पुग्छौ ।”
“मोटर त मैले देखेकै छैन, सुनेको मात्रै हो, चारवटा घुम्ने चक्का त्यसको खुट्टा हो रे ! त्यसको आवाज थुर्रर हुन्छ, त्यसको मालिकले त्यसलाई चलाउँछ, मान्छे पनि किच्छ र खान्छ रे भन्ने सुनेकोले डर लाग्छ”, उसले अचम्म, डर र नयाँ कुरा देख्ने उत्सुकता देखाउँदै भन्यो ।
प्रहरी मज्जासँग हाँस्यो र भन्यो, “चौडा बाटो आएपछि किनारै किनार जाऊ, यहाँबाट एक कोस पर पुगेपछि पसल आउँछ, त्यहाँ सोध्नू है ? (बाटो देखाउँदै) अब यतैबाट जाऊ ।”
कान्छा एकछिन हिँड्यो र उसले कालोपत्र सडक भेट्यो, नजिकैको पसलमा गएर भक्तपुर जाने बाटो सोध्यो र साहुलाई आफ्नो परिचय दियो । “यो भक्तपुरे हो” – साहु छोटो उत्तर दिएर आफ्नो काममा लाग्यो ।
“साहुजी, अब मैले कोसँग भेट्ने ? कहाँ बस्ने ? बताइदिनुस् ल !” “कस्तो मानिस, अब मैले के भन्ने ? (एकछिन सोचेर) “वडाको कार्यालय खोज, सोध्दै जाऊ, अनि वडाध्यक्षसँग सबै कुरा सोध्नू, उहाँले बताउनुहुन्छ ।” साहुलाई अलि झर्केको अनुभव हुन्थ्यो र साहुलाई ‘नमस्ते’ र ‘धन्यवाद’ भन्दै ऊ अगाडि बढ्यो । सोध्दै सोध्दै ऊ वडा कार्यालय पुग्यो ।
वडा कार्यालयमा
कार्यालय सेवा लिनेहरूले खचाखच भरिएको थियो । डोको बोकेको नौलो पहिरनको नवआगन्तुक देखेर सबै अचम्मित भए । कान्छाले सबैलाई घुमी –घुमी ‘नमस्ते’ ग¥यो र आफ्नो परिचय दियो । वडा सचिवले वडाध्यक्षसँग परिचय गराए । वडाध्यक्षले डोको बाहिर राख्न र एउटा खाली मेचमा बस्न इसारा गरे । कान्छा अचम्म मानेर मेचमा बस्यो । उसले मेच देखेको र मेचमा बसेको आजै हो भनी बडो खुसी प्रकट ग¥यो ।
वडाध्यक्षले कान्छा आउनुको कारण र के सहयोग खोजेको भनी प्रश्न गर्दा सँभालिँदै कान्छाले नम्र भएर भन्यो, “अध्यक्षज्यू मलाई आजै भक्तपुर नगर सहर घुमाइदिनुभयो भने म त स्वर्गै पुगेजस्तो हुन्छु । मैले मोटर देखेको आजै हो, मलाई मोटर देखेपछि डर लाग्छ !”
“ए, लौ त्यसो भए, उहाँ वडा सदस्य हुनुहुन्छ ।” – रमेशसँग परिचय गराउँदै भक्तपुर घुमाउन सल्लाह दिए – वडाध्यक्षले ।
वडा सदस्य रमेशले कान्छाको डोको वडा कार्यालयको एउटा कोठामा सुरक्षित राख्न लगायो र गल्ली – गल्लीबाट सहिद पार्कमा लग्यो । “कान्छा भाइ, यस ठाउँको नाम पार्क अथवा बगैँचा हो, यहाँ बिहान र साँझ मानिसहरू घुमफिर गर्न आउँछन् र कोही – कोही युवाहरू शारीरिक अभ्यास अर्थात् हात–खुट्टा चलाउने, लामा – लामा सास तान्ने र छोड्ने आदि गर्छन् ।”
फुलेका राम्रा – राम्रा फूलहरू हेरेर कान्छा खुसी देखियो र पार्कको बीचमा देखिएका गोलाकार केही मूर्तिहरूतर्फ देखाउँदै “यो के हो त रमेश दाइ ?” भन्दै जिज्ञासा राख्यो ।
“अँ, अँ ३० वर्षअगाडि सरकारले भक्तपुरका राजनैतिक नेता, कार्यकर्ता र जनतालाई थुनेको थियो । त्यसको विरोधमा सबै जनता उठे, ठूल्ठूलो स्वरले कराउँदै थुनिएका सबैलाई छोड्न र जनतालाई अन्याय नगर्न हुलै उठेर बजारमा झगडा गर्न गए । जनतालाई ठग्ने र मार्ने नराम्रा मानिसहरूले जनतालाई गोली चलाई मार्न र घाइते बनाउन प्रहरीलाई आदेश दिए ।” रमेशको कुरा सुनेर थप कुरा केही जान्ने कान्छाको उत्सुकता बढ्दै गयो ।
रमेशले सहिदहरूको परिचय दिँदै गयो, “यो राजकुमार सुवाल, …  । यी देश र जनताको निम्ति लड्ने वीरहरू, राम्रा र इमानदार मानिसहरूलाई सहिद भन्छन् ।” रमेशले दायाँ हातले मुठी कसेर सलाम ग¥यो र टाउको झुकायो । उसले कान्छालाई पनि त्यसो गर्न सिकाउँदै भन्यो, “सहिदहरूलाई हामीले सलाम गरेका हौँ, मानिसले ईश्वर, मन्दिर र बुद्धलाई नमस्कार गरेजस्तै हो ।” दुई हात जोडेर नमस्कार गरेको अभिनय रमेशले ग¥यो र कान्छाले पनि सहिदको सालिकलाई नमस्ते ग¥यो । कान्छा गम्भीर थियो र कुरा बुझ्न “अँ, अँ” गर्दै थियो । आश्चर्य र जिज्ञासाको भाव उसको अनुहारमा देखिन्थ्यो ।
रमेशले कान्छालाई जनज्योति पुस्तकालयमा लग्यो । जुत्ता फुकालेर दुवै भित्र पसे, रमेशले कापीमा आफ्नो हस्ताक्षर ग¥यो, कान्छालाई हातको चोर औँलाले ‘चुप’ लाग्न इसारा ग¥यो । अरू पाठकहरू लहरै मेचमा बसेर शान्तसँग पढ्दै थिए । पुस्तकालयको बाहिर आएपछि रमेशले कान्छासँग “आफ्नो नाम लेख्न आउँछ कि ?” भनी सोध्दा कान्छाले भन्यो– “म सानोमा अरूले क्या, ख्या पढेको देखेको थिएँ, त्यो के हो थाहा छैन ।” पुस्तकालयतर्फ आश्चर्यसाथ हेर्दै कान्छा रमेशको पछि लाग्यो ।
रमेशले कान्छालाई बिजुली अड्डा, खानेपानी कार्यालय देखाउँदै अगाडि बढायो । कान्छाले जिज्ञासा राख्यो, “बिजुली अड्डा के हो, रमेश दाइ ?” रमेश एकछिन अडियो र भन्यो, “भरे राति म बजार घुमाउँछु । बत्ती बाल्ने र बत्ती निभाउने मानिस र हाकिमहरूले काम गर्ने ठाउँ हो त्यो ।”
मोटर पार्क देखाउँदै रमेशले कान्छालाई सम्झायो– “यस ठाउँलाई मोटर पार्क भनिन्छ, यो मानिसहरूलाई मोटरमा लाने ल्याउने बसहरू राख्ने ठाउँ हो ।” कान्छाले तुरुन्तै जिज्ञासा राख्यो–“बस भनेको के हो रमेश दाइ ?” रमेशले मोटरका विभिन्न किसिमहरू देखायो– कार, जीप, बस, मिनीबस, ट्रक आदि । कान्छा अचम्म मान्यो र छुनु हुन्छ हुँदैन भनी सोध्यो । रमेशले उसलाई बसमा चढायो, बसायो र कसरी पैसा उठाउँछ आदि सबै बतायो । बस कसरी गुड्छ, के ले गुड्छ आदि सबै जिज्ञासा र प्रश्नहरूको उत्तर दिँदै चिया खान एउटा रेष्टुराँ (खाने पसल) मा लग्यो । रमेशले थरी – थरीका खाने पसल, रेष्टुराँ, होटल आदिबारे पनि बतायो । चम्चा, रिकापी, काँटा, ग्लास, मिठाइहरूको परिचयसँगै चियाबारे पनि बताउँदै कान्छासँग सोध्यो– “कस्तो लाग्यो कान्छा, यी सबै कुरा ?” “मलाई त अचम्मै अचम्मै लाग्यो, अनि त्यो पोखरीमा (नःपुखु देखाउँदै) पानी कहाँबाट आउँछ ?” रमेशसँग सोध्यो । रमेशले भन्यो– “भित्र भित्र स–साना कुलो होला, ऊ पूर्वतिर नगरकोट डाँडा छ, त्यहाँबाट पहिले कुलो ल्याइएको होला ।”
भक्तपुरमा कान्छाको दोस्रो दिन
बिहानको ७ नबज्दै रमेश र कान्छा कमलपोखरीमा देखिए । “हेर कान्छा यस ठाउँमा पहिले बुद्ध धर्मको विद्यालय थियो । त्यसैले मानिसहरू यस ठाउँ जान ‘बारे वानेगु’ पनि भन्थे । पोखरीमा कमल फुल्थ्यो, झन्डै यस पोखरीलाई केही ‘पापी’हरूले आफ्नो निजी पोखरी र घर बनाइसकेका थिए । जनता उठेपछि ‘पापी’हरू बिहान हुँदा रात भागेजस्तै भागे । आजकल यहाँ कमलविनायक (कमल फूलका गणेश) भनी पूजा गर्न आउँछन् ।” रमेशले पोखरी, मन्दिर र बौद्ध मन्दिर देखाइरहेकै बेला केही युवाहरू दौडेको, केही शारीरिक अभ्यास गरिरहेको व्यक्तिहरूलाई देखाउँदै कान्छाले जिज्ञासा राख्यो– “ए, यिनीहरू पनि पूजा गर्न आएका हुन् ?” ‘होइन कान्छा होइन, यिनीहरू यो शीतल ठाउँमा आफ्नो जिउ स्वस्थ बनाउन आएका हुन्” । “अब हामी आवास क्षेत्रमा घुम्न जाऔँ ।” रमेशले आवास क्षेत्रबारे बताउन सुरु ग¥यो ।
बाटोमा कुखुरा, हाँस, कुकुर र मोटरसाइकल देखेपछि कान्छाले जिज्ञासा राख्यो– “के यी कुखुरा, हाँस, कुकुर सबै यहाँका मानिसले काटेर खान्छन् ?” “होइन कान्छा, यहाँ अलि पुराना मानिसहरू पनि बाँकी छन्, तिनीहरूलाई सहर बजार र आवास क्षेत्रमा कुखुरापालन गर्नुहुन्न भन्ने थाहा छैन र खानेकुरा फाल्न नपरोस् भनेर हाँस, कुखुरा पाल्छन्, कुकुर त नेपालीहरू खाँदैनन्, पशुलाई माया गर्ने संस्थाहरूले भुस्याहा कुकुरहरू मार्न रोकेको हुँदा बच्चा नपाउने औषधि लगाइएका कुकुरहरू लुते देखिएका हुन् । अब ती सबै कुकुरलाई पशुलाई माया गर्ने संस्थाहरूले लाने होलान्”– रमेशले सम्झायो ।
“यो के हो, किन बाटामै राखेको ?’ मोटरसाइकल र साइकललाई देखाएर कान्छाले जिज्ञासा राख्यो । “अँ, मैले हिजै मोटर पार्कमा धेरै किसिमका मोटर देखाएँ नि हगि !, (साइकल देखाउँदै) यो सानोलाई साइकल भन्छन्, अर्को अलि ग¥हौँ र मोटो देखिने साइकलमा कराउने मोटर राखी चलाउने हुँदा ‘मोटर साइकल’ भनियो । व्यापारीहरू यसलाई सानो घोडाको रूपमा प्रयोग गर्छन् ।” कान्छा अँ, अँ गर्दै अगाडि बढ्छ र ठूलो विद्यालयको अगाडि पछाडि लामका लाम बस र ट्रकहरू देख्छ । उसले कल्पना ग¥यो, हिजोको मोटर पार्क चाक्लो थियो, यहाँको मोटर पार्क लाम्चो – लाम्चो छ । कान्छाले सोध्यो– “रमेश दाइ, यो कस्तो मोटर पार्क हो ?”
त्यो प्रश्नले रमेशको अनुहारमा अलि लाज र खिन्नताको भाव झल्क्यो र कान्छालाई सम्झाउन लाग्यो– “केही स्वार्थी र ‘पापी’ मोटरधनीहरूले आ– आफ्नो मोटर घरमा नराखी जनताको सडकमा लहरै राखेर सबैलाई छेक्ने र अप्ठेरो पार्ने गर्छन् ।” “रमेश दाइ के गाउँमा पनि मोटर हुन्छ ?”
“हुन्छ कान्छा, हुन्छ, तर गाउँमा मोटर जहाँ राखे पनि कसैलाई छेक्दैन र अप्ठेरो हुँदैन, नगरका सडकमा मोटर राख्नु नराम्रो काम र बेसोमती मानिन्छ ।”
“रमेश दाइ, त्यसो भए यी मोटरहरूका मालिकहरू गाउँले हुन् ? यी लाममा गाउँले पनि छन्, होइन त ?” “हो ।” रमेशले जवाफ दियो ।
मनमा केही कुरा खेलाएर कान्छाले भन्यो– “ए, भक्तपुर पुरै सहर र नगर नभइसकेको हुँदा यस ठाउँलाई ‘भादगाउँ’ भनेको होला, होइन त दाइ….?”
“केही बुझ पचाउने र स्वार्थी मानिसहरूका कारण भक्तपुरलाई सहर होइन ‘गाउँ’ भन्छन्, के गर्ने ? समयले सबैलाई सिकाउँछ –कान्छा अगाडि जाऔँ ।” अगाडि कालोपत्रे सडकमा लहरै माटो छरिएको देखेर पसलेहरूसँग रमेशले सोध्यो–“यो कसले फोहर गरेको वडा सदस्यज्यू ?” “ट्रिपरले !” कान्छोले सोध्यो –“ट्रिपर के हो ?” रमेशले खिन्न मनले भन्यो, “सामान ओसार्ने ठूलो मोटर हो । भारतबाट किनेर ल्याइन्छ, नेपालमा धेरै मान्छे मा¥यो ट्रिपरले ।” एक पसलेले लाचार भएर भन्यो– “के गरौँ ! बाटोमै मोेटर सफा गरिन्छ, केही ट्रिपरले पनि फोहोर छोड्छ, दोष कसलाई दिने !” रमेशले हिँड्दै भन्यो– “ड्रात्रलाई गाडी मालिकले सिकाउनुपर्छ ।” कान्छा पनि टाउको हल्लाउँदै अगाडि बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *