भक्तपुर, २१ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजनीतिकै निम्ति आस्थाको पत्रकारिता गर्नुपर्ने बताउनुभएको छ ।
पत्रकार समाज नेपालद्वारा शनिबार आयोजित पत्रकारहरूको भेलामा अध्यक्ष रोहितले सञ्चारमाध्यम र पत्रपत्रिकाले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गरी देशको सार्वभौमिकता रक्षाको निम्ति प्रचार गरिरहनुपर्नेमा जोड दिँदै देश र जनताको इमानदारीपूवर्क सेवा गरेमा जहिल्यै आत्मसन्तुष्टि मिल्ने बताउनुभयो ।
जनताको राजनीतिक चेतना र सांस्कृतिक स्तर उठाउन नसके देश असुरक्षित हुनेतर्फ सड्ढेत गर्दै उहाँले भन्नुभयो, “वर्तमान सरकार कम्युनिस्ट होइन, हामीले सैद्धान्तिकरूपमा आलोचना गरिरहनुपर्छ ।”
निर्वाचनबाट समाजवाद सम्भव छैन, चुनावबाट समाजवाद ल्याउने विचार संशोधनवाद हो । संशोधनवाद कम्युनिस्ट सिद्धान्त र विचारसित मिल्दैन, अध्यक्ष रोहितले भन्नुभयो ।
पत्रकारहरू कम्युनिस्ट भन्लान् कि भनेर डराउन नहुने चर्चा गर्दैै उहाँले शत्रुसँग लड्नैपर्छ, शत्रुको विरोधमा लेखिरहनुपर्छ, पत्रकारिता पनि इमानदारीपूर्वक काम गर्ने क्षेत्र र सङ्घर्षको माध्यम हो भन्नुभयो ।
जनताको चेतना र सांस्कृतिक स्तर नउठाइकन सङ्घर्ष सफल नहुने उल्लेख गर्दै अध्यक्ष रोहितले समाजलाई बुद्धिजीवीकरण गर्ने नेमकिपाको लक्ष्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिक चेतना बढाउन र सांस्कृतिक स्तर उठाउन पत्र–पत्रिका प्रकाशन नगरी हुन्न ।” समाजवादी व्यवस्थामा योग्यताअनुसारको काम, कामअनुसार ज्याला र व्यक्तित्व विकासमा समान अवसरको बन्दोबस्त हुन्छ, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पार्टीको महाधिवेशन सङ्घर्षकै सिलसिला हो, नेमकिपा काम गरी खाने जनता र सार्वभौमसत्ताको निम्ति सङ्घर्षरत छ भन्नुभयो ।
अन्य जिल्लामा झैँ भक्तपुरमा पनि डँेगुको सङ्क्रमण फैलिरहेको हुँदा त्यसबाट जोगाउन जनतालाई सचेत पार्नुपर्छ, उहाँले भन्नुभयो ।
पत्रकार समाज नेपालका अध्यक्ष अनुराधा थापामगरको सभापतित्वमा भएको सो भेलामा उपाध्यक्ष उद्धव सुजखू र सचिव नीरज लवजूले भेलाको आवश्यकताबारे चर्चा गर्नुभयो ।
भेलामा पत्रकारहरुले विभिन्न जिज्ञासा राखेका थिए ।