भर्खरै :

जनस्तरमा महाधिवेशनको तयारी

भक्तपुर, २२ भदौ । नेपाल मजदुर किसान पार्टी भक्तपुर वडा नं. ७ इनाचो समितिको आयोजनामा चोर्चा टोलमा शनिबार स्थानीयबासीहरूको भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले नेमकिपा स्थापनाकालदेखि शोषित–पीडित जनताको पक्षमा आवाज उठाउँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “किसानहरूको मोहियानीहक सुरक्षा, भर्पाइ आन्दोलन, बाली काट्ने आन्दोलन गर्दै आएको पार्टी नेमकिपा हो । नेमकिपाको महाधिवेशनमा सम्पूर्ण जनताले साथ र समर्थन आवश्यक छ ।”
भनपाका जनप्रतिनिधिहरूले इमानदारीपूर्वक पारदर्शीढङ्गले काम गरिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “महालेखा परीक्षक कार्यालयको मूल्याङ्कनमा भनपाको उत्कृष्ट स्थानमा पर्दछ ।”
नेमकिपा भक्तपुर नगर समितिका उपेन्द्र सुवालले भक्तपुर क्यान्सर अस्पतालमा अनियमिता भएकोले जनचाहनाअनुसार भनपाले व्यवस्थापनको जिम्मेवारी सम्हालेको बताउनुभयो ।
नेमकिपा भनपा, ७ ईनाचो एकाइ समितिका अध्यक्ष कृष्णगोविन्द लाखाजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्ववडाअध्यक्ष कृष्णगोविन्द खाईजु, राजन लाखा र विष्णुप्रसाद दुमरूले पनि बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा हाल महामारीको रूपमा फैलिएको डेँगु रोगको बारेमा स्वास्थ्यकर्मी सुमित्रा राजलवटले प्रस्तुति दिनुभएको थियो ।
महाधिवेशनको तयारीमा शिक्षक भेला
भक्तपुर, २२ भदौ । नेपाल मजदुर किसान पार्टीको साताँै महाधिवेशनको तयारीमा आइतबार नेपाल क्रान्तिकारी शिक्षक सङ्घ ख्वप्रिङ ई. स्कूलको आयोजनामा शिक्षक भेला भयो ।
भेलामा नेक्राशिसङ्घका अध्यक्ष ज्ञानसागर प्रजापतिले शासक दलका गलत कार्य जनतासमक्ष उदाङ्ग्याउने काम नेमकिपाले गरिरहेको बताउनुभयो । उहाँले देशको सार्वभौमिकता रक्षाको लागि भारतीय विस्तारवादले गरेको हस्तक्षेपको नेमकिपाले लगातार विरोध गर्दै आएको बताउनुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक निरञ्जन प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा नेपाल प्राध्यापक समाजका ग्यहेन्द्रप्रसाद दाहाल र शिक्षिका रामेश्वरी कोजूले पनि बोल्नुभएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *