भर्खरै :

फासीवाद – २

यहु प्रकाश
नेइल हारिस (Neil Harris) द्वारा लिखित ‘शासक वर्ग, फासीवाद र राज्य’ शीर्षकको लेखबाट केही वाक्यांशहरू यहाँ उद्धृत गर्नु उचित देखिन्छ, … सन् १९३० को अवधिभरि नै इटाली, जर्मनी र स्पेनमा देशभित्र र बाहिर क्रान्तिकारी मजदुर वर्गविरुद्ध फासीवादलाई हतियारको रूपमा अङ्गीकार गर्ने र फासीवादको उदयमा पैसा खन्याउने र त्यो सत्तामा आएपछि पुँजीको चाँजोपाँजो मिलाई दिने दुईवटै काम गरिदिने पश्चिमका शासक वर्गहरू नै थिए ।…
फासीवादका विरोधीहरूलाई अगुवाइ गरिरहनेहरू त कम्युनिस्ट र समाजवादीहरू नै थिए र लालसेनालगायत शक्ति राष्ट्रहरूको मण्डलीबिना नै तिनीहरूले युरोपमा युद्ध जित्न सक्थे । त्यसपछि शीत युद्धको अन्त नभएसम्म विश्वभर मजदुर वर्गको विस्तारलाई रोक्न असमर्थ भएर साम्राज्यवादीहरू अप्ठेरो गतिरोधको स्थितिमा रहन बाध्य भए ।… जातिवाद साम्राज्यवादको तत्व हो र शासक वर्गले यसलाई विचारधाराको एउटा भागको रूपमा अगाडि बढाइरहने छ ।…
सन् १९३५ मा कम्युनिस्ट अन्तर्राष्ट्रियको सातौँ महाधिवेशनको प्रारम्भमै जोर्ज दिमित्रोभको शास्त्रीय परिभाषाले त्यसबेला के भएको थियो भन्ने कुरा बुझ्न सजिलो हुन्छ, ‘फासीवाद भनेको सबैभन्दा प्रतिक्रियावादी, सबैभन्दा चर्काे ठूलो राष्ट्र अहङ्कारवादी र वित्तीय पुँजीको सबभन्दा साम्राज्यवादी तत्वहरूको देखिने आतङ्कवादी तानाशाही हो ।…
सबैभन्दा पहिले फासीवाद के होइन भन्ने कुरा बुझ्न उपयोगी हुनेछ । उदाहरणको लागि फासीवाद आर्थिक मन्दीको समयमा मात्र पुँजीवादको प्रतिक्रिया होइन । यदि यस्तो भएको भए सन् १९३० को दशकमा बेलायत र अमेरिका दुवै देशले नराम्ररी आर्थिक सङ्कट झेलेको र दुवै देशमा होहल्ला गर्ने फासीवादी पार्टीहरू भएको अवस्थामा त्यहाँ पनि फासीवादको जन्म हुनुपर्ने थियो ।
फासीवाद सैनिक विद्रोह नभइकन सेनाद्वारा शक्ति कब्जा गरिनु हो । शक्ति हत्या भएपछि राज्यको एउटा अङ्गको रूपमा शासक वर्गको पक्षमा राज्यले गर्नुपर्ने कार्य तिनीहरूले गरिरहेका हुन्छन् ।…
फासीवादीहरूले दाबा गरेजस्तै यो ‘क्रान्ति’ पनि होइन, न यसलाई शोषित पीडितहरूको विद्रोह नै भन्न सकिन्छ । प्रगतिशील उपाय अवलम्बन गर्ने वा जातीय अल्पमतमा रहेकाहरू वा मजदुर वर्गीय सङ्गठनहरूको सम्पतिबाहेक अरू कसैको सम्पति कब्जा गर्ने फासीवादी पार्टी कहीँकतै कार्य गरेको थिएन ।
फासीवादले दाबा गरेजस्तै फासीवाद ‘पुँजीवादविरोधी’ हुँदै होइन, आ–आफ्नो देशको शासक वर्गलाई तर्साउने त्यस्तो कुनै कार्य पनि फासीवादी पार्टीले कहीँकतै गरेको थिएन, बरु त्यसको ठीक उल्टो फासीवादको आक्रमणको तारो त मजदुर वर्ग र तिनीहरूको सङ्गठन थियो ।
इटालियाली समाजवादी पार्टीले सन् १९२१ को इटालीमा भएको चुनावमा कम्युनिस्ट पार्टी हुनसक्ने आशङ्का भएका विरोधी दललाई निष्कासन गरेको स्थानहरूमध्ये १८ वटा स्थान जित्यो । सन् १९३२ को जर्मनीको चुनावमा कम्युनिस्टहरूले कुल मतको १० प्रतिशत मत पाए । हाम्रा कामरेडहरूको यो प्रयत्न पक्कै पनि सानो होइन । यी मतहरू त राज्यको भयङ्कर भौतिक आक्रमण, पक्षपातपूर्ण सञ्चार माध्यम र थोरैभन्दा थोरै कोषले चलाएको चुनाव अभियानबीच प्राप्त भएका हुन् । चुनावमा हारजितभन्दा पनि क्रान्तिप्रति पार्टीको प्रतिबद्धता नै अझ महत्वको कुरा थियो । पार्टी सदस्यता वा खसेको मतको सङ्ख्याभन्दा पनि मजदुर वर्गबीच पार्टीको प्रभाव नै महत्वपूर्ण पक्ष थियो । सच्चा कम्युनिस्टहरूले आफ्नो समर्थनको मापनलाई सदैव बढी महत्व दिन्छन् ।
(नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको मुखपत्र ‘मजदुर–किसान’ वर्ष २ अङ्क १ पूर्णाङ्क ७, असार–साउन, पृष्ठ ३७, ३८, ३९, ४० र ४१)
२०७३ असार महिनाको दोस्रो हप्तातिर काठमाडौँमा नेपाल र भारतको प्रबुद्ध समूहबीच पहिलो बैठकमा नेपाल–भारत सम्बन्धबारे छलफल चलिरहँदा नेपालप्रति भारतको हेपाहा नीतिको विरोधी एवं राजतन्त्रको पक्षपाती वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले एउटा टी.भी. अन्तर्वार्तामा नेपालको सार्वभौम सत्ताको एउटा ठूलो हिस्सा भारत, अर्को हिस्सा संरा अमेरिका, तेस्रो हिस्सा युरोपेली सङ्घ र चौथो हिस्सा चीनले चलाउँछन् भनेका थिए । नेपाललगायत छिमेकी मुलुकहरूमाथि थिचोमिचो र आन्तरिक मामलामा भारतको हस्तक्षेपविरुद्ध उनको निरन्तरको आवाजलाई हामी समर्थन गर्दछौँ भने राजतन्त्रप्रतिको उनको भक्तिभावमाथि आलोचनात्मक दृष्टिकोण राख्छौँ ।
सन् २०१२ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ राष्ट्रिय महाधिवेशनपछि चिनियाँ विशेषतासहितको प्रमुख–देशको रूपमा चीनले अझ बढी अन्तर्राष्ट्रिय जिम्मेवारी, न्यायमा अडिग भएर स्वच्छता र समता कायम गर्दै अन्तर्राष्ट्रिय समुदायको निम्ति ठूलाठूला योग्दान पु¥याउने र अझ बढी गुणस्तरीय अन्तर्राष्ट्रिय सार्वजनिक उत्पादन उपलब्ध गराउने जिम्मेवारी बहन गर्ने छ र यसले चिनियाँ विशेषता झल्काइरहने छ भन्ने हो । यो त फासीवाद, साम्राज्यवाद, उपनिवेशवाद, नव–उपनिवेशवादजस्ता शोषण, असमानता, अन्याय–अत्याचार र अन्यायपूर्ण युद्धमा आधारित विश्व व्यवस्थाको ठाउँमा पञ्चशीलका पाँच सिद्धान्त, समानता, समता, सद्भावपूर्ण आपसी हित, समावेशी र सबैको जित हुने अवस्थामा आधारित विश्व व्यवस्था हो ।
इटालियाली माटियो रिक्की एक विश्व विख्यात इतिहासकार एवम् चीन विज्ञ थिए । सन् १५८३ मा उनी चीन गएका थिए र सन् १६१० मा चीनमै उनको देहावसान भएको थियो । सन् १६०० मा उनी चीनको राजधानी बेइजिङ्ग पुगेका थिए । उनी यहुदीहरूको एउटा समूहको प्रतिनिधित्व गर्दै केइफिङबाट बेइजिङ्ग पुगेका थिए । केइफिङ्गत्यसताको चीनकै एक ठूलो सहर थियो । कालान्तरमा, ती यहुदीहरूले चिनियाँ सरकारका परीक्षाहरूमा प्रतिस्पर्धा गरे । त्यसैगरी, तिनीहरूले चीनका चार पुस्तक र पाँच शास्त्रहरू अध्ययन गरे । दशकौंपछि, तिनीहरूले चिनियाँ पुराना शास्त्रहरू अलि अलि गर्दै बिर्संदै गए । त्यहीँ सिलसिलामा उक्त समूह स्थानीय जनजीवनको एउटा हिस्सा बन्न पुग्यो ।
माटियो रिक्कीले चीनको ४ हजार वर्षको इतिहासको अध्ययन गरे । उनी के निष्कर्षमा पुगे भने ४ हजार वर्षको इतिहासको चीनले कुनै पनि देशमाथि कुनै किसिमको कब्जा वा भू–भागमाथि नियन्त्रण गरेको थिएन ।
ऊ सिओमिङ्ग चीनको एक नामी इतिहासकार हुन् । उनले चिनियाँ संस्कृतिको विकासका प्रारम्भिक वर्षहरू सैनकीकरण र युद्धमा आधारित भए तापनि हान वंशपछिको चीन क्रमशः शान्तिपूर्ण साम्राज्य बनेको थियो भनी स्पष्ट गरे । त्यतिबेला चीनको सम्राटलाई राजाभन्दा पनि किसानहरूका अभिभावकको रूपमा लिइन्थे । चीनको शासन नागरिकहरूको हातमा गएसँगै चिनियाँ दर्शन क्रमशः शान्तिवादतिर रुपान्तरण हुँदै गयो । उनले चीनको शान्तिपूर्ण विकासको पथले विश्वव्यापी प्रभावसँगै ऐतिहासक महत्वलाई एकाकार गरेको आधुनिक पुँजीवादी विकासमा परिवर्तन ल्याएको र संसारमा अविस्तारवादी र अप्रभुत्ववादी अवधारणालाई गति प्रदान गरे । उनले चीनबारे जर्मनीका अर्का दार्शनिक म्याक्स वेभरको भनाइलाई उल्लेख गर्दै चीनको उथलपुथलपूर्ण इतिहास सधैँ शान्तिवादतर्फ अभिप्रेरित भएको टिप्पणी गरेका थिए । उनले चीनको सरकारी नैतिकसंहिता कन्फ्युसियसवादमा आधारित मूलभूतरूपमै शान्तिवादी भएको विचार अघि सारेका थिए । त्यस कन्फ्युसियसवादमा आधारित शान्तिवादीले आत्माको डरलाई देखाएको थियो । त्यस आत्माको डरले मानिसहरूको आधिकारिक म्याग्नाकार्टाको रूपमा काम गरेको थियो । उदाहरणको रूपमा बुद्ध धर्मको शान्तिवादी विचारका कारण चीनमा प्रवेश पाएको थियो । चीनमा प्रवेश पाएको एकमात्र बुद्ध धर्म भारत वर्षको धर्म थियो ।
अर्नाेल्ड जे. टोएनबी एक चर्चित इतिहासकार थिए । डाय्साकु इकेदा जापानी संस्कृति र धर्मका विख्यात प्राधिकार थिए । सन् १९७२ मा यी दुई जनाबीच संवाद भएको थियो । आधुनिक समाजले ठूलठूला चुनौतीहरू सामना गरिरहेकोमा दुवै जना सहमत भए । कुनै एउटा राष्ट्रिय राज्यले आफ्नो साँघुरो राष्ट्रिय स्वार्थ पूर्ति गर्न खोज्दा मानव जाति नै सखाप बन्ने अवस्थाबाट कसरी जोगिने भनी प्रश्न तेस्र्याउँदै उनीहरूले ‘विश्व राज्य’ निर्माण गर्ने उपाय देखाए । (यी भनाइहरू विवादास्पद् देखिएकोले यस सम्बन्धमा पछिल्लो लेखमा छलफल गर्नु उचित हुनेछ । –लेखक) तथापि, पश्चिमेली मुलुकहरू यसो गर्न असफल भएको यथार्थलाई प्रस्ट पार्दै तिनीहरूले रोमन साम्राज्यको अन्त भएपछि पश्चिमेली मुलुकहरूको राजनीतिक परम्परा राष्ट्रवादी भएको र सम्पूर्ण मानव जातिको हित गर्ने खालको नभएको भनी आलोचना गरे । अर्थतन्त्र, विज्ञान र प्रविधिमा ठूलठूला फड्को मारे तापनि पश्चिमेली मुलुकहरू सबै मानव जातिको साझा हितमा एउटा विश्व समुदाय निर्माण गर्न असफल भएको भन्ने कुरा तिनीहरूले बताए । चीनसँग सम्पूर्ण विश्वलाई एक मान्ने परम्परा भएकोले शान्तिवाद र मानव जातिको हितलाई हेर्ने कुरो चीनले मात्र गर्नसक्दछ भनी तिनीहरूले दाबी गरे ।
चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ केन्द्रीय समितिको तेस्रो विस्तारित बैठकमा विभिन्न प्रणालीहरूको सुधार गर्दै चीनले २०२० सम्ममा प्रमुख क्षेत्रहरूमा यथेष्ट उपलब्धि हासिल गर्ने कुरा प्रस्ट उल्लेख छ । त्यसको अर्थ संस्थागत निर्माणको सन्दर्भमा चीन अझ प्रतिस्पर्धात्मक हुँदै जानेछ । कार्ल माक्र्सले पुँजीवादी व्यवस्थाको आलोचना गरे । त्यस आलोचनाबाट पुँजीवादी व्यवस्थामा सुधार गरी पश्चिमेली विश्वमा पुँजीवादलाई जोगाउन पुँजीपतिहरूलाई सहयोग भयो । त्यसरी नै चीनले केही हदमा पश्चिमेली मुलुकहरूलाई आफ्नो बन्दोबस्त र आफ्नो देशको छवि कायम गर्न मद्दत गर्नेछ । चिनियाँ सपना, पृष्ठ १९९, २०० र २०१ ) यी बुझाइहरू पनि विवादबाट मुक्त हुन नसक्ने देखिएकोले यसबारे पछि छलफल चलाउनु श्रेयस्कर हुनेछ ।
त्यसैगरी, विश्व प्रसिद्ध कूटनीतिज्ञ, चीन विज्ञ विद्वान एवम् हेनरि किंसिजरले आफ्नो पुस्तक On China को ‘चिनियाँ सर्वाेकृष्टताको युग’ शीर्षकको लेखमा सन् ९६० देखि १२७९ सम्म ४१९ वर्षको अवधिमा सोङ्ग वंश (Song Dynasty) पालामा चीन सामुद्रिक प्रविधि, जल सेना र जहाजी वेडाहरूमा सर्वश्रेष्ठ हुँदाहुँदै पनि कहिल्यै अरु देशहरूमाथि उपनिवेश जमाउन पटक्कै नखोजेको, सन् १४०५ देखि १४४३ सम्म ३८ वर्षको अवधिमा मिङ्ग वंश (Ming Dynasty) पालामा चङ्ग ह (Zheng He) नाम गरेको एक जल सेनाध्यक्षले जाभा, भारत, अफ्रिका र हरमुज जलमार्गसम्म सामुद्रिक रेशम मार्ग स्थापना गरेको र चीनले ती मुलुकहरूसँग व्यापार गरेको तर कल्यिै कतै अन्य देशहरूमाथि थिचोमिचो, आन्तरिक मामलामा हस्तक्षेप र प्रभुत्व जमाउन नखोजेको आदि प्रस्टैसित प्राचीन चिनियाँ इतिहासबारे लेखेका थिए । (पृष्ठ ८ र ९)
१६४–११४ इ.पू. पहिले अथवा २१ सय वर्ष पहिले हान वंशका चाङ्ग छिन (Zhang Qian) ले अन्य मुलुकहरूसँग व्यापार बढाउन मध्य एसियासम्म व्यापार मार्ग खोलेका थिए । रेशम नै मुख्य व्यापारिक वस्तु भएकोले त्यस मार्गलाई रेशम मार्ग भनियो । चिनियाँ व्यापारिक सरसामानहरूमा रेशम लगायत चिया, चिनियाँ माटाका भाँडाकुँडा, सुन चाँदी, फलाम, दुर्लभ पन्छी आदि हुन् भने अन्य मुलुकहरूबाट किनिने वा साट्ने सरसामानहरूमा बहुमूल्य पत्थर, मरमसला हात्तीको दन्त, गैँडाको सिङ रङ्गाउने वस्तु आदि पर्छन् । पछि आएर त्यस मार्गलाई पश्चिम एसिया र युरोपसम्म लम्ब्याइयो । ७ हजार किलोमिटर लामो यो स्थल रेशम मार्ग नै विभिन्न मुलुकहरूको सम्पन्नता र विश्व शान्तिको प्रतीक थियो । चीनको छाङ्गआन (Changan) बाट रेशम मार्ग हुँदै रेशमलगायत विभिन्न सरसामानहरू ती देशहरूमा पु¥याइन्थे भने चीनमा नपाइने सरसामानहरू चीनमा ल्याई पु¥याइन्थे । आजभोली छाङ्गआन शान्सी प्रान्तको राजधानी सिआन (Xian) हो । व्यापारको साथै विभिन्न मुलुकहरूका सभ्यताहरूबीचको प्रविधि, धर्म, दर्शन, संस्कृतिको आदान प्रदान पनि हुन्थ्यो । रेशम मार्ग हुँदै भएको अन्तर्राष्ट्रिय व्यापारबाट नै चीन, भारतीय उप–महाद्वीप, पर्सिया, युरोप र अनिवियाली सभ्यताहरूको विकासमा महत्वपूर्ण योगदान पु¥याएको थियो । अहिले आएर नयाँ नयाँ स्थल र समुद्री रेशम मार्ग विश्वभरि नै फैलाउने तयारी हुँदै छ ।
थाङ्ग वंश (त्बलन म्थलबकतथ) सन् ६१८–९०७ पछि चीनको राजनीतिक केन्द्र उत्तरी भागमा सर्नाले यसको आर्थिक केन्द्र पूर्वी समुद्री तट र दक्षिणी क्षेत्रमा सर्नु स्वाभाविक थियो । मालसामानहरू लान र ल्याउन समुद्री रेशम मार्ग नै मुख्यरूपले चलन चल्तिमा आयो र पछि विस्तारै विस्तारै स्थल रेशम मार्गको उपयोग घट्दै गयो । (चिनियाँ सपना, पृष्ठ ८ र ९)
इतिहासको विस्तृत र गहिरो अध्ययन अनि वास्तविकतालाई बुझ्दा नेपालको सार्वभौमसत्ताको चौथो हिस्सा चीनले उपयोग गर्छ भन्ने भनाइ पुरै असत्य छ । एक चीन नीतिलाई नेपालले समर्थन गरिसकेको परिप्रेक्ष्यमा तिब्बतको मामलामा चीनविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिने विषयमा चिनियाँ सरकारले नेपाल सरकारलाई घच्घच्याइरहनु आन्तरिक मामलामा हस्तक्षेप भएको भनिँदैन । त्यो चीनको राष्ट्रिय स्वार्थ हो । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेकै छैन । ओली सरकारलाई अविश्वासको प्रस्ताव राखेर हटाएको सम्बन्धमा २०७३ साउनको अन्तिम हप्तातिर चीनले अविश्वासको प्रस्ताव र त्यसपछिका घटनाक्रमहरू पूर्णतः नेपालको आन्तरिक मामला भनी चीनले वक्तव्य जारी गरेको थियो ।
दोस्रो विश्वयुद्धको बेला भूतपूर्व सोभियत सङ्घको नेतृत्वमा फासीवादलाई परास्त गर्न अपनाएका उपायहरूमध्ये अहिलेको माग र परिवेशसँग मिल्ने उपायहरूको साथै आवश्यक नयाँ नयाँ सिद्धान्त सृजना गर्नुपर्ने देखिन्छ ।
फासीवाद र साम्राज्यवादबीचका समानता र भिन्नताहरूलाई यसरी छुट्याउन सकिन्छ ः
फासीवाद र साम्राज्यवादबीच समानताहरू
क) दुवैले कम्युनिस्ट भनेपछि देखिनसहने र सर्वहारा वा मजदुर, किसान, श्रमिक र स्वतन्त्रता आन्दोलनहरू दबाउँछन् ।
ख) सबै कुरोको अन्तिम निर्णय युद्धबाट नै हुन्छ भनी दुवैले युद्धको लागि तयारी गर्छन् र युद्ध गर्छन् ।
ग) दुवै ठूलो राष्ट्र अहङ्कारवादी र अन्धराष्ट्रवादी हुन्छन् ।
घ) दुवैले पुँजीपति वर्गको पृष्ठपोषण गर्छन् । एक साम्राज्यवादले अरू साम्राज्यवाद र फासीवादलाई नियन्त्रण गर्न तिनीहरूबीचको अन्तद्र्वन्द्वलाई चर्काउन खोज्छ । आवश्यक परेमा समाजवादसँग गठबन्धन गरेर भए पनि अघि बढ्छ ।
ङ) दुवैले अन्य देशहरूमाथि आक्रमण गरी त्यहाँ उपनिवेश वा अरू कुनै माध्यमबाट साम्राज्य जमाउँछन् ।
फासीवाद र साम्राज्यवादबीच भिन्नताहरू
क) फासीवादले बहुमत वा एक विशेष जातिलाई मात्र प्रश्रय दिन्छ ।
ख) फासीवादले अल्पमत वा एक विशेष जातिलाई मात्र निर्ममतापूर्वक समूल नष्ट गर्छ ।
ग) साम्राज्यवादभन्दा फासीवाद बढी निर्मम हुन्छ ।
घ) फासीवादले अन्य साम्राज्यवादीहरूलाई पनि पूरै नियन्त्रण गर्ने कोसिस गर्छ । त्यसले पनि तिनीहरूबीचको अन्तद्र्वन्द्वमा खेल्न खोज्छ । अन्य साम्राज्यवादीहरूलाई नियन्त्रण गर्न फासीवादले कम्युनिस्टहरूसँग गठबन्धन गरेर युद्ध लडेको देखिँदैन ।
ङ) फासीवादले सङ्कीर्ण जातीय राजनीतिलाई प्राथमिकता दिन्छ ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *