भर्खरै :

ट्रम्प सरकार–डुब्न लागेको जहाज

संरा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई राष्ट्रपति ट्रम्पले पदबाट अपदस्थ गरेका छन् । ट्रम्प सरकारबाट लगातार एकपछि अर्को उच्च अधिकारीहरू या त राजीनामा दिँदै बाहिरिएका छन् अथवा बर्खास्त गरिएका छन् । ट्रम्प सरकार बनेयता १३४ जनाभन्दा बढी उच्च अधिकारीहरूले पद त्यागेका छन् वा त्याग्न लगाइएको छ । संरा अमेरिकी इतिहासमै सबभन्दा बढी पदमा हेरफेर ट्रम्प सरकारको पालामा भएको छ । ट्रम्प सरकारका खम्बा मानिएका अधिकारीहरू समेतले सरकारी जिम्मेवारी त्याग्नुले त्यहाँका पुँजीपति वर्गभित्रको अन्तर्विरोध सतहमा ल्याएको छ ।
ट्रम्पको बहुलठ्ठी नेतृत्वबारे संसारमा लगातार चर्चा भइरहेको छ । उनको त्यस्तै स्वभावका कारण अन्तर्राष्ट्रिय मामलाका विज्ञहरू आजको अन्तर्राष्ट्रियमा कुनै पनि कुरा स्थिर नभएको र केही पनि ठोस विश्लेषण गर्न नसकिने बताउँछन् । संरा अमेरिकामा गहिरिँदो राजनीतिक र आर्थिक सङ्गटको चहराएको घाउमा ट्रम्पको यस्तो स्वभावले थप नुनचुक छर्केको विश्लेषकहरूको भनाइ छ । कसैको कुरा नसुन्ने र आफूलाई लागेको कुरा नै थोपर्ने स्वभावका कारण ट्रम्पले आज संसारमा एकपछि अर्को द्वन्द्व फैलिएको छ । संसारका विकसित भनिएका देशहरूको समूह जी ७ बैठकमा ट्रम्पलाई जलवायु परिवर्तनसम्बन्धी सम्झौतामा मनाउन सबै सदस्य देशका नेता लागिपरे । तर, ट्रम्प टसमस भएनन् । उनले जलवायु परिवर्तनका प्रतिकूल असरलाई मिथ्या भन्दै हात झिक्ने निर्णय गरे । त्यस्तै सन् २०१५ को इरान आणविक सम्झौताबाट पनि ट्रम्पले एकपक्षीयरूपमा हात झिके । युरोपेली साझेदार देशहरूले पनि ट्रम्पलाई सो निर्णयमा पुनर्विचार गराउन सकेनन् । आज त्यसैको प्रभाव स्वरुप मध्यपूर्वमा अर्को द्वन्द्वको सम्भावना बढेको छ । इरानले पनि सो सम्झौताबाट हात झिकेको छ ।
चीनसँगको व्यापार युद्धले वास्तवमा कसैको हित गर्दैन । त्यो युद्धले चीनलाई भन्दा संरा अमेरिकालाई नै प्रतिकूल प्रभाव पारेको छ । तथापि ट्रम्पको जिद्दीका कारण आज संसारका दुई आर्थिक शक्ति व्यापार युद्धमा फसेका छन् । चीनसँगको व्यापार युद्धको संरा अमेरिकाभित्रै चर्को विरोध भइरहेको छ । व्यापार युद्धले संरा अमेरिकी किसानहरूलाई प्रत्यक्ष प्रतिकूल असर पारेको छ । तथापि माइक पम्पेओ र माइक पेन्सजस्ता दक्षिणपन्थी नेताहरूकै साथमा ट्रम्पले आफ्नो जिद्दी छोडेका छैनन् । आप्रवासी मुद्दामा पनि संरा अमेरिकी राजनीति गहिरो गरी विभाजित बनेको छ । संरा अमेरिकामा आप्रवासीलाई पस्न नदिने र भएकालाई पनि लखेट्ने ट्रम्प सरकारको नीतिको विपक्षी दलमात्र होइन, सत्तारुढ रिपब्लिकन खेमासमेत विरोधमा उत्रेका छन् ।
यस्तो गहिरो विभाजनको समयमा ट्रम्प सरकारबाट एकपछि अर्को उच्च अधिकारीहरूले राजीनामा दिनु कुनै आश्चर्यको कुरा होइन । डुब्न लागेको जहाजबाट मुसासमेत भाग्छ । आज ट्रम्पको सरकारको कहालीलाग्दो हालतका कारण त्यसबाट उम्कन उच्च अधिकारीहरू कुलेलाम ठोक्दै छन् । त्यसले साम्राज्यवादमा गहिरिएको अन्तर्विरोधलाई सतहमा ल्याएको हो । बेलायतमा ब्रेक्सिटको मामलामा भएको राजनीतिक विभाजन यसको अर्को प्रमाण हो । ब्रेक्सिट मुद्दामा भएको मतान्तरमा प्रधानमन्त्री अल्पमतमा परेका छन् । तर, विपक्षीहरूले उनलाई चुनावको विकल्पमा जान दिएका छैनन् । बेलायती वेस्ट मिनिस्टरल प्रणालीमा प्रधानमन्त्रीलाई चुनावमा जाने विशेषाधिकार हुन्छ । तर, प्रधानमन्त्रीलाई त्यो अधिकार प्रयोग गर्न दिइएको छैन । संसदको आदेशलाई लत्याउँदै प्रधानमन्त्री पनि युरोपेली युनियनबाट जसरी भए पनि बाहिरिने ढिपी कसिरहेको छ । यो प्रष्टतः पुँजीवादी व्यवस्थामा आएको सङ्कटका राजनीतिक सङ्केत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *