नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
– सुरजसिंह
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले मुलुकलाई कम्युनिस्ट राज्य बनाउन खोजिरहेको आरोप लगाएका छन् । मङ्गलबार विराटनगर विमानस्थलमा पत्रकारसँगको सङ्क्षिप्त कुराकानीमा सभापति देउवाले वर्तमान कम्युनिस्ट सरकार खराब नभए पनि कम्युनिस्ट राज्य ल्याउन खोजिरहेको बताए । तर, देउवाको भनाइमा सत्यता छैन ।
ओली सरकार आएदेखि मुलुकका धेरै कुरा भताभुङ्ग भएको सत्य हो । प्रजातन्त्रका केही मूल्यमान्यतामाथि हस्तक्षेप गर्न खोजेको पनि देखिन्छ, विधिको शासन नहुँदा भ्रष्टाचार बढेको, सञ्चार क्षेत्रमाथि हस्तक्षेप गर्न खोजेको तथा मानवाधिकारजस्ता संवेदनशील विषयमा गम्भीर नभएको सत्य हो तर ओली नेतृत्वको सरकार र नेकपाले कम्युनिस्ट राज्य बनाउने कुनै सोच राखेको छैन, न त कुनै नीति तथा कार्यक्रम नै सार्वजनिक गरेको छ । ओली सरकारको स्थिति विश्वका अन्य पुँजीवादी देशका दलाल सरकारहरूको जे छ त्यस्तैमात्र हो । त्यस्ता दलाल सरकारहरू आफ्ना मालिकहरूको नुनको सोझो गर्छन्, देश र जनताको हितमा काम गर्ने त भाषणको विषयवस्तुमात्र हुन्छ ।
कम्युनिस्ट देशमा काम गरी खाने जनतालाई रोजगारी र पारिश्रमिकको सुनिश्चितता हुन्छ । उत्पादनका मुख्यमुख्य साधनहरू राष्ट्रियकरण गरिन्छ, प्राकृतिक स्रोतसाधनमा सबै जनताको अधिकार र फाइदा सुनिश्चित गरिएको हुन्छ, शिक्षा र स्वास्थ्योपचार निःशुल्क हुन्छ, संविधानले दिएका स्वतन्त्रता र समानताको अधिकार अनतिक्रमणीय हुन्छ । समाजवाद र साम्यवादमा शोषण र अन्याय गैरकानुनी हुन्छ, शोषणविरुद्धको हक संविधानमा मौलिक हककै रूपमा राखिएको र व्यवहारमा लागू गरिएको हुन्छ । अपराधी, भ्रष्टाचारी र शोषकहरूलाई कुनैखाले स्वतन्त्रता हुँदैन । ओली सरकारले बहुमत कामदार जनताको पक्षमा त्यस्तो कुनै काम गरेको नेपाली जनताले देखेका छैनन् ।
देउवाले भनेझैँ प्रेसमाथि अङ्कुश लगाउनु नै साम्यवाद हुन्थ्यो भने त पहिलो विश्वयुद्धभन्दा अगाडि नै विश्वका सबैजसो देशहरूमा समाजवाद र साम्यवाद आइसकेको मान्नुपथ्र्यों । फेरि अहिले समाजवादी व्यवस्था भएको मानिएका चीन, भियतनाम, क्युवा, प्रजग कोरियाजस्ता देशमा भएका सञ्चार स्वतन्त्रता र सञ्चारमाध्यमको विकासलाई के भन्ने ? नेकालाई सरकारबाट अलग्ग गर्नु, पदको भागबण्डामा सामेल नगर्नु, हिजो नेकाले चलाएजस्तै कसैको सल्लाह नसुनी एकमना सरकार चलाउनु नै कम्युनिस्ट स्टेट अर्थात् समाजवाद र साम्यवाद होइन ।
Leave a Reply