भर्खरै :

जनस्तरमा महाधिवेशनको प्रचार

भक्तपुर, २४ भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको तयारीको क्रममा भक्तपुरका टोलटोलमा भेला तथा बैठक निरन्तर भइरहेको छ ।
यसैक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, भनपा वडा नं १ को आयोजनामा मङ्गलबार वडास्तरीय शिक्षक भेला भयो । भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले पार्टीको महाधिवेशन नेमकिपाप्रतिको जन ऐक्यबद्धता समारोह हुने भन्दै किसान तथा मजदुरलाई राजनीतिक तथा वर्गीयरूपमा सचेत पार्नुपर्ने विचार राख्नुभयो ।
उहाँले नेमकिपाले भारतीय विस्तारवाद एवम् भारतीय एकाधिकार पुँजीलाई मुख्य शत्रुको रूपमा लिएको भन्दै विस्तारवादी चरित्रको विरोधमा युवा पुस्तालाई सचेत बनाउन नसके देशको सार्वभौमिकतामै खतरा हुनसक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपा वडा नं १ एकाइ समितिका अध्यक्ष लक्ष्मीनारायण खत्रीले नेमकिपाले जनताको समस्या जनताबाटै समाधान गरिने काम गरिरहेको हुँदा नेमकिपाको महाधिवेशन जनताले नै सफल पार्ने विचार राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष अम्बिका न्याइच्याईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेक्राशिसङ्घका लक्ष्मीसुन्दर सुवाल र जीवनकुमार जोशीले पनि बोल्नुभएको थियो ।
चन्द्रागिरीमा महाधिवेशन तयारी भेला
काठमाडौँ, २५ भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन भव्यरूपमा सफल पार्न काठमाडौँका विभिन्न नगर र वडामा तयारी भेला जारी छ ।
मङ्गलबार चन्द्रागिरीको बलम्बुमा कार्यकर्ता भेला भयो । भेलामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले महाधिवेशन सफल पार्न जनवर्गीय सङ्गठन र पेशागत सङ्गठनलाई सक्रिय बनाउन जोड दिनुभयो । उहाँले कार्यकर्ताहरू अनुशासित, इमानदार बन्न र पार्टी प्रकाशन नियमित अध्ययन गर्न अनुरोध गर्नुभयो ।
अर्का पार्टी केन्द्रीय सदस्य राजवीर डङ्गोलले महाधिवेशनको प्रचारले नेमकिपाको राजनीतिक गतिविधि जनताबीच पुग्ने बताउनुभयो ।
नेमकिपा चन्द्रागिरी नगर समितिका अध्यक्ष गुणदास महर्जन, पुरुषोत्तम महर्जन, हरिकृष्ण महर्जन, जितबहादुर महर्जन, सुनिल महर्जन र सुमन महर्जनले चन्द्रागिरीको तयारीबारे जानकारी दिनुभएको थियो ।
महाधिवेशन प्रचारार्थ छालिङमा युवा भेला
भक्तपुर, २५ भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न नेक्रायुसङ्घ चानपा ५ छालिङ एकाइ समितिले मङ्गलबार युवा भेला ग¥यो ।
भेलामा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोंजूले कार्यकर्ताहरूले माक्र्सवाद, लेनिनवाद र माओविचारधाराको गहिरो अध्ययन गरी सैद्धान्तिक सङ्घर्षमा उत्रनु जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले बहुमतको दम्भ देखाएर कम्युनिस्ट नामधारी नेकपाको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरी जनतामाथि करको भार थोपरिरहेको हुँदा जनता सचेत हुनुपर्छ भन्नुभयो ।
“काश्मिरी जनताको भावनाविपरीत भारतको मोदी सरकारले काश्मीरको विशेष अधिकार हनन गर्नु फासीवादकै सिलसिला हो, सचेत नेपालीले यसको विरोध गर्नुपर्दछ ।” उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका ईश्वर बाटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेक्राविसङ्घका सुष्मा बाटालगायतले बोल्नुभएको थियो ।
चाँगुनारायण नपामा शिक्षक भेला
भक्तपुर, २५ भदौ । नेपाल मजदुर किसान पार्टीको आसन्न महाधिवेशनको प्रचारार्थ नेपाल क्रान्तिकारी शिक्षक सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा चाँगुनारायण नगरपालिकाको पूर्वीभेगमा बुधबार शिक्षक भेला भयो ।
भेलामा नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले नेमकिपाले देशको सार्वभौमिकता र स्वाधीनता रक्षार्थ गतिविधि गरिरहेको विषयमा चर्चा गर्दै पार्टी महाधिवेशन आन्दोलनकै रूपमा अगाडि बढ्ने धारणा राख्नुभयो ।
नेमकिपाले भारतीय शासक वर्गको हेपाहा प्रवृत्ति एवम् विस्तारवादी नीतिको सडक र सदनबाट निरन्तर विरोध गर्दै आएको स्मरण गर्दै उहाँले भन्नुभयो, “भारतीय नाकाबन्दीको विरोधमा भारतीय राजदूतावासमा गई नेमकिपाले धर्ना र विरोध गरेको थियो ।
प्रतिक्रियावादी शासक दलहरूसँग निरन्तर वैचारिक सङ्घर्ष नेमकिपाले गर्दै आएको छ ।”
शासक दलहरूले विभिन्न रूप र तरिकाबाट जनतालाई झुक्याउँदै आएको हुँदा तिनीहरूका हरेक कदममा आलोचनात्मक दृष्टिकोण आवश्यक रहेको उहाँले बताउनुभयो ।
नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका सहसचिव सुन्दर राजचलले महाधिवेशन जनताबीच जाने र पार्टीको विचार प्रचार गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।
नेमकिपाले क्रान्तिकारी संसदवादको माध्यमबाट जनताको चेतनास्तर उठाउने कामलाई निरन्तरता दिंदै आइरहेको उहाँले बताउनुभयो ।
शिक्षक घनश्याम खड्काले शासक दलहरू आफ्नो स्वार्थमा रूमलिने गरेको बताउँदै शिक्षकहरूमा आलोचनात्मक दृष्टिकोण आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
भेलामा शिक्षक कृष्णगोपाल छुकांले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *