भर्खरै :

ख्वपमा अभिमुखीकरण

भक्तपुर, २९ भदौ । ख्वप कलेजमा स्नातक तहमा अध्ययनको लागि भर्ना भएका विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम आइतबार कलेजमा सम्पन्न भयो ।
कार्यक्रममा ख्वप कलेज सञ्चालक समितिका सदस्य एवम् वडा नं. ६ का वडा अध्यक्ष हरिराम सुवालले ख्वप कलेज स्थापनाका उद्देश्यहरूबारे प्रकाश पार्दै ख्वप कलेजबाट दिइने शिक्षा गुणस्तरीय र संस्कारयुक्त हुने बताउनुभयो ।
शिक्षाको माध्यमबाट समाजलाई सेवा गर्ने लक्ष्यसहित नगरपालिकाले शिशुस्याहारदेखि ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गरिरहेको छ, उहाँले भन्नुभयो ।
ख्वप विश्वाविद्यालय सञ्चालनको लागि भनपाले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले सरकारको पूर्वाग्रह नीतिको कारण ख्वप विश्वविद्यालयको सम्बन्धन प्राप्त नभएको बताउनुभयो ।
संस्कृति, इतिहास र भूगोल विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई नगरपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको उहाँले चर्चा गर्नुभयो ।
ख्वप कलेजका प्राचार्य रूपक जोशीले ख्वप कलेज नपाद्वारा सञ्चालित सेवामूलक संस्था रहेको र नाफा लिई कलेज सञ्चालन गर्ने सोच ख्वप कलेजले कहिल्यै नराखेको बताउनुभयो ।
अध्ययनको साथै विभिन्न अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरूले रूचि राख्नुपर्छ, प्राचार्य जोशीले विद्यार्थीहरूलाई सुझाव दिनुभयो ।
ख्वप कलेजका उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठले गुणस्तरीय शिक्षाको लागि कलेजले अनुशासनमा जोड दिने बताउनुभयो ।
कार्यक्रममा शिक्षकहरू प्रमोदप्रसाद अवाल, राजेन्द्रप्रसाद श्रेष्ठ र कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *