भर्खरै :

साउदी तेल उत्पादनमा आधा कटौती

दुबई, २९ भदौ (एपी) ः यमनका हुथी विद्रोहीहरूले गरेको ड्रोन आक्रमणबाट साउदी अरेबियाको तेल उत्पादन कारखानामा ठूलो क्षति पुगेको साउदी सरकारले जनाएको छ । आक्रमणका कारण विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाको तेल उत्पादन आधा कटौती भएको छ । ड्रोन आक्रमणबाट साउदी तेल कारखानामा ठूलो आगलागी भएको थियो, यद्यपि आगो नियन्त्रणमा ल्याइएको साउदी सरकारले जनाएको छ ।
केही महिनादेखि साउदी अरेबियाका तेलकुवा र कारखानाहरूमा हुथी विद्रोहीहरूले मानवरहित विमान (ड्रोन) बाट आक्रमण तीव्र बनाएका छन् । साउदी गठबन्धनले यमनका हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण गरेको भन्दै प्रतिशोधस्वरूप हुथी विद्रोहीहरूले साउदी पूर्वाधारमा आक्रमण गरिरहेका छन् ।
साउदी अरेबियाका ऊर्जा मन्त्री अब्दुलाजिज बिन सल्मानले अब्काक तेल प्रशोधन केन्द्र र खुराइस तेल कुवामा क्षति पुगेका कारण दुवैबाट तेल उत्पादन अस्थायी रूपमा रोकिएको बताउनुभयो । मन्त्री अब्दुलाजिजले जारी गर्नुभएको विज्ञप्तिमा दुवै ठाउँको आगो नियन्त्रणमा आइसकेको उल्लेख छ ।
मन्त्री अब्दुलाजिजको वक्तव्यमा करीब ५७ लाख ब्यारेल कच्चा तेलको आपूर्ति कटौती भएको उल्लेख छ । तेल उत्पादन र आपूर्तिमा प्रभाव पर्ने वा नपर्ने विषयमा साउदी अरेबियाको मुख्य तेल कम्पनी साउदी आराम्कोले विश्लेषण गरिरहेको छ ।
इरान समर्थित हुथी विद्रोहीहरूले ड्रोन आक्रमणको जिम्मेवारी लिएका छन् । हुथी विद्रोहीहरूले हाल यमनको राजधानी सानासहित अधिकांश क्षेत्रमा नियन्त्रण कायम गरेका छन् । साउदी अरेबियाले सन् २०१५ देखि नै यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई समर्थन गर्दै हुथी विद्रोहीविरूद्ध हवाई आक्रमण गरिरहेको छ । यस आक्रमणबाट यमनमा ठूलो जनधनको क्षति हुनुका साथै मानवीय सङकट उत्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *