भर्खरै :

मुगाब्वेको अन्तिम बिदाइ

हरारे, १५ सेप्टेम्बर । जिम्बाब्वेका पूर्वराष्ट्रपति रोबर्ट मुगाब्वेको शनिबार औपचारिक रूपमा अन्तिम संस्कार सहित बिदा गरियो । गत साता सिङ्गापुरमा दिवङ्गत हुनुभएका मुगाब्वेप्रति अन्तिम बिदाको लागि शनिबार विभिन्न देशका विशिष्ट व्यक्तित्व तथा अफ्रिकाका नेताहरू राजधानी हरारे भेला भएका थिए ।
मुगाब्वेको पार्थिव शरीरलाई हरारेको राष्ट्र नायक स्मारकमा गाडिएको थियो । मुगाब्वेको सम्मानमा हरारेकै एउटा थुम्कामा विशेष स्मारक स्थापना गरिएको छ ।
मुगाब्वेको अन्तिम संस्कारमा सहभागी इक्वेटोरियल गिनीका राष्ट्रपति ओबियाङ न्युगिमाले महान् लडाकू तथा अफ्रिकी हितका प्रतिरक्षकको निधनमा सिङ्गो अफ्रिकाका शोकाकूल भएको बताउनुभयो ।
“सिङ्गो अफ्रिका र विशेषतः जिम्बावेली जनताले यो शताब्दीका नेता गुमाएका छौँ”, उहाँले भन्नुभयो ।
उहाँले मुगाब्वेलाई सम्पूर्ण संसारमा मानव स्वाभिमान र जिम्बावेली जनताको सार्वभौम अधिकारका असल रक्षकको रूपमा प्रस्तुत गर्नुभयो ।
ओबियाङले मुगाब्वेलाई निधन हुनु चार दिन अघि सिङ्गापुरमा भेट्नुभएको थियो ।
केन्याका राष्ट्रपति उहुरू केन्याटाले मुगाब्वेलाई अफ्रिकी एकताका पक्षधरको रूपमा स्मरण गर्दै उहाँले सिङ्गो जीवन जिम्बावे र अफ्रिकाको हितमा लगाउनुभएको बताउनुभयो ।
“उहाँ दूरदर्शी नेता र अफ्रिकी स्वाभिमानको लागि लगातार लडिरहने नेतृत्व हुनुहुन्छ । जिम्बावेको इतिहासमा मुगाब्वेले कहिल्यै नमेटिने इतिहास कोर्नुभयो ।”, केन्याटाले भन्नुभयो ।
घानाका पूर्वराष्ट्रपति जेरी रलिङ्सले मुगाब्वे शिक्षक मात्र नभई स्वयम्मा प्रभावशाली शिक्षालय भएको बताउनुभयो ।
श्रद्धाञ्जली सभामा क्युवाका उपराष्ट्रपति इनिस मारिया च्यापम्यान, चिनियाँ राष्ट्रपतिका विशेष प्रतिनिधि कु शेनचु, तान्जानियाका उपराष्ट्रपति सामिया सुलुहु, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरियल रामापोसा, नामिबियाका पूर्वराष्ट्रपति साम नुजोमालगायत विभिन्न देशका विशिष्ट प्रतिनिधिहरूको सहभागिता थियो ।
सन् २०१७ मा पदबाट राजीनामा दिनुअघि मुगाब्वेले झण्डै चार दसक जिम्बावेको नेतृत्व गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *