भर्खरै :

जलवायु परिवर्तनको मूल कारण पुँजीवादी उत्पादन सम्बन्ध

काठमाडौँ, ३१ भदौ । अघिपछि तराईका केही जिल्लामा मात्र फैलिने डेँगु ज्वरो यो वर्ष काठमाडौँ उपत्यकालगायत पहाडी र हिमाली जिल्लामा समेत फैलिंदा धेरै मानिस चकित परेका छन् । सामान्यतः गर्मी ठाउँमा हुने भनिएको रोग यतिबेला चिसो मानिएको ठाउँमा समेत महामारी फैलिंदा मानिसहरू आफ््नो वरपरको वातावरणमा परिवर्तन महसुस गर्न थालेका छन् । केही दसकअघि मौसम चिसो बन्दै गएपछि मानिसहरू दसैं आएको भेउ पाउँथे । तर, दसैं आउन केही दिन बाँकी हुँदासमेत दिउँसो र रातको गर्मीले मानिसहरू हिजोको मौसम र आजको मौसममा भिन्नता भएको महसुस गर्दै छन् ।
वैज्ञानिकहरू पृथ्वीको तापमान वृद्धिका कारण संसारभरिको मौसममा परिवर्तन भइरहेको बताउँछन् । वातावरणविद्हरू यसरी नै पृथ्वीको अवस्था बिग्रिंदै जाने हो भने पृथ्वीवासीले अझ थप भयावह अवस्था भोग्नुपर्ने बताउँछन् । संसारकै सबभन्दा बाक्लो अमेजन जङ्गलमा गत महिना भएको भीषण आगलागीले त्यहाँका असङ्ख्य जीवजन्तुले आगोमा पोलिएर ज्यान गुमाए । गर्मी धेरै बढ्दा संसारमा डढेलो बर्सेनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ । पृथ्वीको तापमान वृद्धि हुँदा एकातिर नेपालमा भएजस्ता हिमाल पग्लिँदै छन् । हिमाल पग्लिंदा हिमाल वरपर हिजोभन्दा आज न्यानो भएको छ । न्यानो बढेसँगै त्यहाँको जीवनमा अनेक थरी समस्या देखिन थालेको छ । नयाँ नयाँ समस्या देखापर्दै छन् । अर्कोतिर हिउँ पग्लेर बगेको पानीले समुद्री सतह बढाएको छ । समुद्री सतह बढ्दा माल्दिभ्सजस्ता समुद्र छेउछाउका देशहरू डुब्ने खतरा बढेको छ ।
मङ्गलबारदेखि सुरु भएको संयुक्त राष्ट्र सङ्घको ७४ औँ महासभामा यो पटक छलफल गरिने धेरै विषयमध्ये जलवायु परिवर्तन पनि एउटा हो । सम्मेलनमा गरिबी निवारण, स्तरीय शिक्षा, समावेशिताजस्ता विषयमा छलफल गर्ने भनिएको छ । त्यसो त यी सबै विषय अन्तरनिर्भर विषयहरू हुन् । तथापि जलवायु परिवर्तनको विषय यतिबेला सर्वाधिक महत्वको विषय बनेको छ ।
जलवायु परिवर्तनप्रति आज सबै चिन्तित छन् किनभने यो पृथ्वीवासी सबैको साझा समस्या हो र यही साझा बासस्थान हुनसक्ने खतिप्रति चिन्ता बढ्नु स्वाभाविक हो । कुनै एउटैमात्र देशले आज जलवायु परिवर्तनको सामना गरिरहेको छैन । जलवायु परिवर्तन र पृथ्वीको तापमान बढाउन कुनै भूमिका नै नभएका स–साना अल्पविकसित र अविकसित देश आज यी समस्याको मारमा परेका छन् । अधिकांश औद्योगिक देशहरूले पनि जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै वैकल्पिक वातावरणमैत्री उद्योगको अनुसन्धानमा लगानी बढाइरहेका छन् । अति प्रदूषण गर्ने उद्योगहरू बन्द गरिंदै छन् । तर, वातावरण विनाशको आजको समस्याको मुख्य कारण भने पुँजीवादी उत्पादन प्रणाली भएको देखिन्छ ।
पुँजीवाद नाफामा चल्ने व्यवस्था हो । नाफा नै पुँजीवादी व्यवस्थाको प्राण हो । पुँजीवाद नाफाले विकास हुन्छ, नाफैकै लागि पुँजीवादमा लडाइँ हुन्छ र त्यही नाफाले नै पुँजीवादलाई विनाशको मुखमा पु¥याएको हुन्छ । संरा अमेरिका संसारका प्रमुख औद्योगिक आर्थिक शक्तिमध्ये पर्दछ । पृथ्वीको तापमान वृद्धि र जलवायु परिवर्तनको लागि संरा अमेरिकी उद्योग कलकारखाना जिम्मेवार छन् । तर, त्यहाँको अनुदार ट्रम्प सरकारले विश्व तापमान वृद्धिमा भूमिका खेल्ने उद्योग कलकारखाना बन्द गर्न मानेको छैन । अमेरिकी अर्थतन्त्रलाई नकारात्मक असर पर्ने र त्यसो भए संसारमा आफ्नो प्रभुत्व कमजोर बन्ने ट्रम्प सरकारको भनाइ छ । त्यही तर्कका आधारमा पेरिसमा भएको जलवायु सम्मेलनमा संरा अमेरिका हिस्सेदार बन्न अस्वीकार गरेको छ ।
संरा सङ्घको महासभा संरा अमेरिकामा हुँदै छ । अधिकांश देशहरूले त्यो दबुमा उभिएर जलवायु परिवर्तनको निम्ति मुख्य दोषी संरा अमेरिकी सरकार नै भएको कुरा बोल्न अनकनाउनेछन् । तर, संसारका साम्राज्यवादविरोधी समाजवादी देशले यो कुरा सन्देहरहित तरिकाले बोल्नेछन् जसरी हिजो फिडेल क्यास्ट्रो, ह्युगो चाभेज र ते मोरालेसले बोल्ने गर्थे ।
तापमान वृद्धिले आज नेपाली जनता पनि समस्यामा चेपिंँदै छन् । डेँगु, अत्याधिक गर्मी, अतिवृष्टि र अनावृष्टिले नेपाली जनताको जीवनमा भिन्नता आइरहेको छ । पर्या–पर्यावरणमा यसले प्रत्यक्ष असर गरिरहेको छ ।
संरा सङ्घको महासभामा नेपालबाट पनि मन्त्रीहरूसहितको प्रतिनिधिमण्डल गएको छ । नेपाली प्रतिनिधिमण्डलको काम अमेरिका घुम्नेमा मात्र सीमित हुनु हुँदैन । जलवायु परिवर्तनले नेपालमा पारेको प्रभावबारे प्रस्ट पार्दै त्यसको मूल जराको रुपमा रहेको साम्राज्यवाद र पुँजीवादी उत्पादन सम्बन्धलाई छ्यास्ने काम गर्नसक्नुपर्छ । अनुदानको लोभमा ठूला देशले गरेको गलत कार्यको विरोध गर्न डराउनु लघुताभासको परिणाम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *