भर्खरै :

३७ औं शिक्षक दिवसमा नौ शिक्षक सम्मानित

भक्तपुर, २९ चैत । लामो समय अध्यापन गराएर अवकाश प्राप्त गर्ने शिक्षक शिक्षिकाहरूलाई आफ्नो अनुभव लेख्न प्रोत्साहन गर्नुपर्छ । शिक्षकहरू असल नागरिक र सही पथपदर्शक बन्नुपर्छ ।
उक्त विचार नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले ३७ औं शिक्षक दिवसको अवसरमा संयुक्त परीक्षा समितिद्वारा बासु माविमा मङ्गलबार आयोजित कार्यक्रममा व्यक्त गर्नुभएको हो । अध्यक्ष रोहितले भन्नुभयो–‘शिक्षकहरू आफ्नो लागि भन्दा विद्यार्थीहरूको निम्ति, विद्यार्थीहरू देश र भविष्यको निम्ति काम गर्ने हुनुपर्छ । शिक्षकहरू अपडेट भएर, प्रविधि सिकेर शिक्षण गरेमा विद्यार्थी थप शिक्षित हुन्छन् ।’
कार्यक्रममा २०७३ सालमा अवकास प्राप्त हुने ९ जना शिक्षकहरूलाई सम्मान गरिएको थियो । अवकाश प्राप्त शिक्षकहरूको तर्फबाट बोल्दै सरोजदत्त सरले शिक्षकले जति राम्रो तयारी गर्नुहुन्छ त्यति नै ज्ञानबोध हुने र शिक्षण प्रभावकारी हुने बताउनुभयो ।
नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका उपाध्यक्ष सन्तराम दुलालले शिक्षक आन्दोलनको सुरुवात भक्तपुरबाट भएको उल्लेख गर्दै हाल शिक्षकले पाएका सुविधाहरू आन्दोलनकै उपज हो भन्नुभयो ।
संयुक्त परीक्षा समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति कृष्णप्रसाद धन्छाले समितिले वर्षभरि गरेका कार्यहरूबारे जानकारी दिनुभयो ।
कार्यक्रममा बासु माविका प्राचार्य अम्बिका न्याइच्याइँले स्वागत गर्नुभएको थियो भने शिक्षक रामकुमार निरौलाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट डायरी भरेका मध्येबाट विभिन्न विद्यालयका शिक्षकहरूलाई उत्कृष्ट डायरी पुरस्कार प्रदान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *