भर्खरै :

‘महँगो हुँदैमा गुणस्तरीय शिक्षा हुने होइन ’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले धेरै शुल्क लिंदैमा कुनै पनि विद्यालय राम्रो नहुने बताउनुभएको छ । मंगलबार ब्राइट स्टार ई स्कुलको २३ औं वार्षिकोत्सव तथा साँस्कृतिक कार्यक्रममा बोल्दै उहाँले परीक्षा केन्द्र समेत किनेर आफ्ना विद्यार्थीहरुका नतिजा राम्रो भएको दाबी गर्ने विद्यालय राम्रा हुन नसक्ने कुरामा जोड दिनुभएको हो ।
पैसा भएका तर आफ्ना छोराछोरीको लागि गलत निर्णय गर्ने मूर्ख अभिभावकहरुबारे चर्चा गर्दे उहाँले अनुशासनहीन विद्यार्थीहरु भविष्यमा समाजको लागि बोझ हुन सक्नेमा सजग बनाउनुभयो । बिजुक्छेंले भन्नुभयो,‘हाम्रा विद्यालयहरु गुण्डा उत्पादन गर्ने केन्द्र बनाइनु हुन्न ।’
जिल्ला शिक्षा अधिकारी अर्जुन रायमाझीले विद्यालयले समयअनुसार आफ्नो स्तरोन्नति गर्दै जानमा ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नीरज लवजूले शिक्षालाई अङ्क र पैसासँग मात्र मापण गर्दा धेरै विद्यार्थीहरु मानसिक रोगको शिकार भएको बताउनभुयो ।
शिक्षामा गरिने लगानीलाई मुनाफाका लागि गरिने लगानी जस्तो सोच्नु गलत भएको उहाँको तर्क थियो ।
विद्यालयका संस्थापक प्रिन्सिपल पुष्पलाल सुजखूको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतम सुजखू, प्रिन्सिपल राजेन्द्र सुजखू, महानगरीय ट्राफिक प्रहरी प्रभागका प्रसनि मदनसिंह महतरा, अभिभावक राम साह, रविना कर्माचार्य, शिक्षकहरु दिनेश चौगुठी, बन्दना अवाल, सुरेन्द्र साखकर्मी, विद्यार्थीहरु युरिका प्रजापतिलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा शैक्षिक सत्रमा उत्कृष्ट विद्यार्थीहरु, विभिन्न प्रतियोगिताका विजेताहरु र उत्कृष्ट शिक्षक, कर्मचारीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतहरु प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *