भर्खरै :

संरा अमेरिकाले सम्झन नचाहेको अर्काे एउटा ‘सेप्टेम्बर – ११’ – ९

फासीवादी सत्ता कब्जाको दिन र त्यसपछि
जोन जारा
त्यो साँझ फोनको घन्टी बज्यो । मुटु जोडले धड्कियो । हतारिएर फोन उठाएँ । उताबाट आत्तिएको अपरिचित आवाजले ‘कमरेड जोएन हो ?’ भनी सोध्यो । …. ‘हो, हो !’ मैले भनेँ । उताबाट स्वर सुनियोः ‘कमरेड तपाईँले मलाई चिन्नुहुन्न तर मसँग तपाईँको लागि तपाईँका श्रीमानको सन्देश छ । म भर्खर इस्टिडियो चिलीबाट रिहा भएको छु…. भिक्टर त्यहाँ छ … उनले तपाईँलाई धैर्यवान भएर बच्चाहरूसँग घरमा रहनु भनेका छन् …. उनले प्राविधिक विश्वविद्यालयको कार पार्किङस्थलमा कार छोडेका छन्, कसैलाई भनेर खोज्न पठाउनु …. रङ्गशालाबाट उनलाई छोड्ने विषयमा उनी आशावादी छैनन् ।’
‘कमरेड, फोनको लागि धेरै–धेरै धन्यवाद ! तर उनी आशावादी नहुनुको अर्थ के हो ?’
‘उनले मलाई यही सन्देश पठाएका छन् । राम्ररी बस्नुहोस्, कमरेड !’ उनले टेलिफोन बन्द गरे ।
केही सेकेण्डपछि क्वेनाले फोन गरिन् । मैले उनलाई त्यही खबर सुनाएँ । थप जानकारी पाउन उनले गर्न सक्ने सबै प्रयास गरिन् । भिक्टरलाई बाहिर ल्याउने भरमग्दुर प्रयत्न गर्दै रहिन् । पहलकदमी गर्न उनी पटक–पटक रोमन क्याथोलिक गिर्जाघरका पादरी सिल्भा हेनरिकुजकोमा धाइन् । फासिवादीहरूले भिक्टरको पहिचान नगरिसकेका भए, उसलाई चिन्ला भन्ने मेरो सबभन्दा ठूलो डर थियो । कम्युनिष्ट पार्टीको शक्ति र सङ्गठनप्रति मेरो अविचल निष्ठाका कारण भिक्टरले मलाई दिने गरेका प्रशिक्षण उत्कृष्ट थियो र त्यसकारण पनि ऊ जस्तो मान्छेलाई जोगाउन आवश्यक थियो ।
त्यतिबेलाको त्रासदी सम्झेर अहिले पनि मेरो आङ जिरिङ्ग हुन्छ । हामीलाई कुनै पनि समाचार र सूचनाबाट विमुख पारिएको थियो । तर हल्ला र भ्रम भने छ्यापछ्याप्ती थिए ।
एक जना जिम्मेवार राजनीतिक नेताले मलाई पपुलर युनिटी पार्टीका जनरल प्राट्स उत्तर दिशाबाट सेनासहित अघि बढिरहेको बताए …… त्यो हामीले चेतावनी दिंदै आए जस्तो गृहयुद्धको आरम्भ हुनसक्थ्यो । (पछिमात्र हामीलाई थाहा भयो– एलेण्डे सरकारलाई समर्थन गर्ने सम्भावना भएका सबै सैनिक अधिकारीहरूलाई सत्ता विप्लव सुरु हुनु एकदिन अघि सेप्टेम्बर १० को राति नै गिरफ्तार गरिएको रहेछ ।)
शुृक्रबार छोटो समयका लागि कफ्र्यु आदेश हटाइयो । त्यही मौकामा कार खोज्न म सान्टियागो जाने निर्णय गरेँ । हतार कहीँ कतै जानु परे कारको आवश्यकता पर्ने भएकाले पनि म कार खोज्न जान लागेको थिएँ । हाम्रो छिमेकभन्दा पर पहिलोपटक म कतै जान लागेको थिएँ र मध्य दिनको पारिलो घाममा सबै कुरा अस्वाभाविकरूपमा सामान्य देखिएका थिए ः गाडीहरू दौडिरहेका थिए, पसलमा खाद्य पदार्थ भरिएका थिए । एउटै मात्र असामान्य कुरा के थियो भने बजारभरि सिपाहींहरू थिए, हरेक चोक–चोकमा उनीहरू तैनाथ थिए । मानिसहरू हतारमा हिँडिरहेका थिए र उनीहरूका मुहार भावशून्य थिए । अलामेदामा गाडी केही धिमा गतिमा गुड्यो, हामी मोनेडा दरबार छिचोल्दै अघि बढ्यौँ, अझ भनौँ डोरीले अलग्याइएको दरबारको भग्नावशेष हुँदै अघि बढ्यौँ । बमबारी र आगजनीको परिणाम हेर्ने उत्सुकताले हुनुपर्छ, धेरै मानिस त्यता यताउति गरिरहेका थिए तर कसैको पनि अनुहारमा न आक्रोशको न दुःखको न त सन्तुष्टिकै भाव पोखिएको थियो ।
केन्द्रीय स्टेसन र पसलहरू पहिलेजस्तै व्यस्त थिए । म बसबाट ओर्लेर सतर्कतापूर्वक इस्टिडियो चिलीको बाटोतर्फ हिडेँ । तम्तयार राखिएका मेसिन गन बोकेका सुरक्षाकर्मीहरूको हुल हेर्न एक क्षण म टक्क रोकिएँ । उनीहरूको नजिक जान असम्भव थियो, म के गर्न सक्थेँ र ? म केही घर पर हिँडेर प्राविधिक विश्वविद्यालय पुगेँ … क्याम्पस र नयाँ आधुनिक भवनहरू नराम्ररी ध्वस्त गरिएका थिए ….. भित्र पुगेर देखेँ– विश्वविद्यालयका सबै ठूल्ठूला झ्याल र ढोका पूरै चकनाचुर पारिसके छन् अघिल्लो भागको भवन ध्वस्तप्रायः थिए र गोलीले सबै भित्ता छेडिएका थिए । प्रायशः भरिभराउ हुने गरेको कार पार्किङ त्यो दिन रित्तो थियो । त्यसबीच हाम्रो कार एक्लै बीचमा थुचुक्क बसिरहेको थियो । त्यहाँ वरपर सिपाहींहरू हुनुपर्छ तर मैले याद गरिनँ । मैले केही पर पर्खालमा एक जना बुढो मानिस बसिरहेको देखेँ । म एकपछि अर्को पाइला उचाल्दै कार भएको ठाउँसम्म पुगेँ, म कारको साँचो निकाल्न अनकनाइरहको थिएँ । कार मुन्तिरबाट बगिरहेको रगतको भलमा मैले कुल्चिरहेको रहेछु म ….. कारको झ्याल हुनुपर्ने ठाउँमा केही पनि थिएन ……. कार पुरै सिसाका टुक्राले भरिएको थियो । ‘यो हाम्रो कार होइन कि’ सोच्दै मैले मसँग भएको साँचो मिल्छ मिल्दैन, जाँचेँ । त्यतिञ्जेल बुढो मानिस मतिर आइरहेको देखेँ । ‘को हौ तिमी ?’ मैले उसलाई जवाफ दिएँ – ‘यो मेरो श्रीमानको कार हो । उसले यहाँ छोडेको हो ।’
‘त्यस्तो भए ठीक छ’, बुढो मानिसले भन्यो, ‘भिक्टर महोदयको निम्ति मैले यो कारको हेरचार गरिरहेको थिएँ । हेर, मैले भुइँमा उनको परिचय पत्र भेटाएको थिएँ तिमी राख यो परिचय पत्र’, यति भनेर उसले मलाई परिचय पत्र ठम्यायो ।
‘यो रगत कहाँबाट आयो यहाँ ? कसको रगत हो यो ?’ मैले सोधेँ ।
‘ओ, कुनै चोरले यो कार चोर्न खोज्दा कसैले छुरा हान्दा यो रगत बगेको हुनुपर्छ । हालसालै यहाँ धेरै रगत बगिसकेको छ । बरु तिमी सकेसम्म चाँडो यहाँबाट निस्क । यहाँ सुरक्षा छैन ।’ अनि उसले मलाई कारका सीटमा असरल्ल छरिएका काँचका टुक्रा सफा गर्न मद्दत ग¥यो । ऊ म कार चढेर आफ्नो बाटो लागेको हेर्न चाहन्थ्यो सायद ।
त्यो शुक्रबारको घटना थियो । मलाई थाहा छैन शनिबारको दिन मैले कसरी बिताएँ । आफन्तजनले मलाई फोन गरे, मैले पनि आफन्तजनलाई फोन गरेँ । मार्टा मलाई भेट्न आइन् । एन्जेललाई पनि गिरफ्तार गरी नेशनल स्टेडियम लगिएको रहेछ । अरू मित्रहरूका नराम्रा खबर पनि आइरहे । पपुलर युनिटी पार्टीका सबै नेताहरू कोही गिरफ्तार गरिए भने कोही भूमिगत भएका थिए । उनीहरूलाई कुनै अपराधीलाई जस्तै खोजिंदै थियो । अरू साथीहरू बेपत्ता थिए ।
शनिबार राति सुत्न खाटमा पल्टेँ तर आँखामा पटकै निद्रा थिएन । घण्टौँसम्म कोठाको सिलिङमा टोलाइरहेँ– एकोहोरो । अनेकथरिका चिसा निराशाले मलाई झ्वाप्पै छोपेको थियो । अचानक मेरो धड्कन तेज भयो, म जुरुक्क उठेँ । भिक्टर त्यहाँ थिएन ।
झिसमिसे उज्यालो हुने बित्तिक्कै म लुगाफाटा राखिएको दराज खोलेर धेरै समयदेखि मैले साँचेर राखेको पोशाक निकाल्नतिर लागेँ ….. सम्मानित मार्कस एण्ड स्पेनसर पोशाक, त्यो लगाउँदा म ठ्याम्मै विदेशीजस्तो देखिन्छु । मैले मेरो कपाल खुल्ला छोडेँ र कालो चस्मा लगाएँ । भिक्टरको लागि सहयोगको याचना गर्न म बेलायती दूतावास जान अर्कै भएर जान लागेकी थिएँ । पक्कै पनि आकाशमा सूर्य राम्ररी ब्यँुझिसकेको थिएन । म कफ्र्यु समय अन्त्यको प्रतिक्षा गर्न थालेँ । त्यो दिन आइतबार भएकाले मलाई राजदूतावास भन्दा राजदूतको निजी निवास पुग्नु थियो । बेलायती दूतावास विशाल फलामे गेट र रेलिङ भित्र रहेको बारियो अल्टो ] (barrio alto) मै सबभन्दा ठूलो भवन थियो ।
ढोका प्रायः बन्द रहन्थ्यो र बाहिर प्रहरी तैनाथ रहन्थ्यो । त्यहाँ जीवन्तताको कुनै सङ्केत थिएन । मैले घण्टी बजाएँ र कोही सहयोगी आउने प्रतिक्षा गर्दै बसेँ । ‘म बेलायती नागरिक हुँ मलाई सहयोगको खाँचो प¥यो’, भित्रबाट कोही आउने बित्तिक्कै मैले भनेँ ।
मलाई ढोका खुल्छ भन्ने लाग्यो तर अहँ ढोका खुलेन । त्यो मानिसले मलाई पर्खन भनेको थियो, म पर्खेर बसेँ । नजिकको प्रहरीले मलाई नियालिरहेको थियो । मलाई आफू बेलायती देखिन्छु वा देखिंदैन भनी पीर प¥यो । त्यसपछि दूतावासको ढोका खुल्यो र एक जना बेलायती युवक बाहिर देखाप¥यो । ‘विलम्बको लागि माफी पाऊँ । माथिको आदेश यस्तै थियो । भन्नोस् म तपाईँको कसरी मद्दत गर्न सक्छु ?’
मैले टुटेफुटेको असङ्गत अङ्ग्रेजीमा मेरो श्रीमानलाई इष्टिडियो चिलीमा कैद बनाइएको र ऊ ज्यादै असुरक्षित भएकाले सुरक्षाको लागि केही गर्न अनुरोध बिसाएँ । बन्द रेलिङ भित्रबाट मलाई नियालेर हेरेपछि त्यो युवकले भन्यो, ‘ए, तर के उनी बेलायती नागरिक हुन् ? उनी बेलायती नागरिक नभए हामी केही पनि गर्न सक्दैनौँ ।’
‘उनी चिलियन हुन् । तर उनी प्रख्यात व्यक्ति भएकाले उनी विशेष खतरामा रहेको हुनसक्ने हाम्रो चिन्ता हो । तपाईँहरूले केही गर्न सक्नुहुन्छ कि, कृपया हेरिदिनुहोला …. यदि उनीप्रति बेलायती दूतावासको रुचि भएको थाहा पाए, राम्रो हुनेछ ।’
‘हामीले केही गर्न सकौँला जस्तो मलाई लाग्दैन तर यो परिस्थितिमा हाम्रा सैनिक सहचारीमार्फत सैनिक प्रशासनसँग सम्पर्कसम्म गर्नु उपयुक्त हुनेछ । म हामी के गर्न सक्छौँ विचार गर्छु ….. तर म तपाईँलाई केही आश्वासन दिन चाहन्नँ । केही भइहाले म तपाईलाई फोन गर्नेछु ।’
अनि म घर फर्कें । मैले ठीक गरेँ वा बेठीक, कतै मैले भिक्टरको विश्वासलाई धोखा त दिइनँ, यस्तै यस्तै कुरामा म चिन्तित थिएँ । उसले किन आफ्नो परिचयपत्र फाले होला, पक्कै पनि आफ्नो परिचय नखुलोस् भनेर हुनुपर्छ– कम्तिमा उसको निधनपूर्व !
सोमबार त्यही रिक्तता लिएर आयो । म जीवित छु भन्ने जीवन्तताको केही गति किन मसामु आइपर्दैन । भोलि चिलीको स्वतन्त्रता दिवस (Fiestas Patrias) । सैनिक प्रशासनले प्रत्येक घर–घरमा झण्डा फहराउन उर्दी जारी गरेको छ ।
मङ्गलबार, सेप्टेम्बर १८
कफ्र्यु आदेश फिर्ता भएको त्यस्तै एक घण्टापछि मैले घरको गेट बजेको आवाज सुनेँ, मानौँ कोही भित्र पस्न खोज्दै थियो । गेट अझै बन्द राखेको थिएँ ….. स्नान कक्षको झ्यालबाट बाहिर चियाएँ । एकजना युवक उभिएको देखेँ । उसको मुहारमा मैले कुनै खतरा महसुस गरिनँ, त्यसैले तल गएर गेट खोलेँ । उनले निकै मसिनो स्वरमा मतिर फुसफुसाए । ‘म भिक्टर जाराको परिवारको खोजी गर्दैछु । के यो उहाँको घर हो ?’ मलाई विश्वास गर्नोस्– ‘म तपाईको मित्र हुँ,’ यति भनेर उनले मलाई देखाउन परिचय पत्र निकाले । ‘के म एक मिनेटको लागि भित्र पस्न सक्छु ? मलाई केही कुराकानी गर्नुछ ।’ उनी केही आत्तिएका र हतास मानसिकतामा थिए । उनी फेरि फुसफुसाए, ‘म कम्युनिष्ट युवा सङ्गठनको सदस्य हुँ ।’
मैले गेट खोलेर उनलाई भित्र पस्न दिएँ र सत्कार कक्षमा हामी एक–अर्काको आमनेसामने बस्यौँ । ‘मलाई क्षमा गर्नोस्, मलाई जसरी भए पनि तपाईँलाई भेट्नु थियो …. मन मारेर मैले तपाईलाई भन्नुपर्छ– भिक्टर अब यो संसारमा रहनुभएन …. उहाँको शव हामीले शवगृहमा फेला पारेका छौँ । हामीसँगै काम गर्ने एकजना कमरेडले उहाँलाई चिनेको रहेछ । कृपया आफूलाई सम्हाल्नुहोस्, उहाँ नै हो कि होइन निश्चय गर्न तपाईँ मसँग हिड्नुपर्ने भएको छ ……. के उहाँले गाढा निलो पेन्टी लगाउनु भएको हो ? तपाई मसँग आउनुहोस् किनभने त्यो शव त्यहाँ राखिएको झण्डै ४८ घण्टा भइसक्यो र यदि त्यसप्रति दाबी गर्ने कोही नभए उनीहरूले लगेर संयुक्त चिहानमा गाड्नेछन् ।’
आधा घण्टापछि म सान्टियागो सहरमा कार हाँक्दै थिएँ र म जिउँदो लाससरि भइसकेको थिएँ । यो अपरिचित युवक मेरो बगलमै बसेका थिए । उनले आफ्नो नाम हेक्टर बताएका थिए । अघिल्लो सातादेखि उनी यो नगरको शवगृहमा काम गर्दै थिए । उनी प्रत्येक दिन शवगृहमा ल्याइने पहिचान नखुलेका शवहरूलाई चिन्ने प्रयत्न गर्ने गर्थे । यी युवक भद्र र संवेदनशील थिए र उनले मसम्म आइपुग्न ठूलो खतरा मोलेका थिए । शवगृहको कामदारको हैसियतमा उनीसँग विशेष परिचय पत्र थियो । त्यही परिचय पत्र देखाउँदै उनले मलाई शवगृहको छेउको सानो ढोकाबाट भित्र लगे । शवगृह सार्वजनिक चिहानघारीको मूलढोका छेउमा अवस्थित एउटा परित्यक्त भवनमा बनाइएको थियो ।
त्यो विस्मातको क्षणमा पनि मेरो शरीरले काम गर्न भने छोडेको थिएन । बाहिरबाट म बिल्कुल सामान्य र संयमित थिएँ….. मेरा आँखाहरू हेरिरहेका थिए, मेरो नाक सुँघिरहेको थियो, मेरा खुट्टा हिँडिरहेका थिए ….

पातलो र शिथिल देखिए तापनि हो ऊ भिक्टर थियो …. एकै सातामा तिमीलाई खेर जाने गरी तिनीहरूले के गरे ? उसका आँखाहरू खुलेकै थिए र ती आँखाहरू आक्रोश र प्रतिरोध भावकासाथ कतै हेरिरहे जस्तो भान पार्थे । उसको टाउकोमा एउटा चोट थियो र गालाभरि डरलाग्दा दागहरू थिए । उसको लुगा च्यातिएको थियो, च्यातिएर उसको पाइन्ट घुँडासम्म ह्वाङ परेको थियो, स्वीटर काखीसम्म धुजा–धुजा भइसकेको थियो । उसको च्यातिएको निलो पेन्टी उसको कम्मरमा झुण्डिएको थियो, मानौँ चकु वा सङ्गीनले काटिएको हो । ….. उसको छातीमा प्वालहरू थिए र पेटमा ह्वाङ परेको घाउ थियो । उसका हातहरू अस्वाभाविक कोण बनाएर झुण्डिएका थिए, लाग्छ उसका कुमहरू भाँचिएका थिए …. तर ऊ भिक्टर थियो, मेरो श्रीमान, मेरो प्रेमी ।

एउटा अँध्यारो गल्लीबाट हामी गएर एउटा ठूलो हलमा पुग्यौँ । त्यहाँको भुइँ पुरै नग्न लासहरूका पंक्तिहरूले छपक्कै छोपिएको थियो, हलका छेउछाउमा लासहरू थुपारिएका थिए । ती अधिकांश लासहरूमा भ्वाङ खुलेका घाउ थिए, कतिका त पछाडि बाँधिएका हात अझै फुकाइएका थिएनन्…. ती सबै जवान र पाका थिए … सयौँ–सयौँ लास थिए त्यहाँ …. अधिकांश लास श्रमिकहरूको जस्तो देखिन्थ्यो ….. सयौँ लासहरू क्रमशः छुट्याउँदै, खुट्टा समातेर तान्दै एउटा न एउटा लासको थुप्रोमा हुत्याउँदै थिए– कुहिएर गन्हाएका लासका दुर्गन्धबाट बच्न मुख छोपिने गरी मास्क लगाएका शवगृहका ताजुबलाग्दा मौन कर्मचारीहरू । मेरा नयाँ मित्रले म नआँटियोस् भनेर हुनुपर्छ, सुस्तरी मेरो कुममा हात राखे । म हलको माझमा उभिएको थिएँ । म हेर्दै थिएँ तर भिक्टरलाई त्यहाँ हेर्ने मेरो चाहना थिएन । अनि एउटा ठूलो हुँडरी मभित्र उर्लियो । मलाई थाहा थियो– मेरो मुखबाट असङ्गत विरोधका आवाज निस्किए तर तत्कालै हेक्टरले प्रतिक्रिया दिए, ‘स्स ! तपार्इँले यहाँ कुनै पनि सङ्केत गर्नु ठीक होइन …. अन्यथा हामी समस्यामा पर्नेछौँ ….. केही बेर चुपचाप बस्नोस् । हामीले खोजेको शव कहाँ छ, म सोध्छु । मलाई लाग्छ यो ठाउँमा पक्कै छैन ।’
त्यहाँबाट हामी माथिल्लो तल्ला उक्लियौँ । शवगृह पूरै लासहरूले भरिभराउ थियो । जताततै, प्रशासनिक कार्यालयहरूसमेत लासहरूले भरिएका थिए । एउटा लामो गल्ली, ढोकाहरू लस्करै थिए र भुइँमा लासहरू लहरै पल्टाइएका थिए । यिनीहरूसँग कपडा थियो । यिनीहरूमध्ये धेरैजना विद्यार्थी जस्ता देखिन्थे । १०, २०, ३०, ४०, ५० ….. र त्यहीबीच मैले भिक्टरलाई भेट्टाएँ ।
पातलो र शिथिल देखिए तापनि हो ऊ भिक्टर थियो …. एकै सातामा तिमीलाई खेर जाने गरी तिनीहरूले के गरे ? उसका आँखाहरू खुलेकै थिए र ती आँखाहरू आक्रोश र प्रतिरोध भावकासाथ कतै हेरिरहे जस्तो भान पार्थे । उसको टाउकोमा एउटा चोट थियो र गालाभरि डरलाग्दा दागहरू थिए । उसको लुगा च्यातिएको थियो, च्यातिएर उसको पाइन्ट घुँडासम्म ह्वाङ परेको थियो, स्वीटर काखीसम्म धुजा–धुजा भइसकेको थियो । उसको च्यातिएको निलो पेन्टी उसको कम्मरमा झुण्डिएको थियो, मानौँ चकु वा सङ्गीनले काटिएको हो । ….. उसको छातीमा प्वालहरू थिए र पेटमा ह्वाङ परेको घाउ थियो । उसका हातहरू अस्वाभाविक कोण बनाएर झुण्डिएका थिए, लाग्छ उसका कुमहरू भाँचिएका थिए …. तर ऊ भिक्टर थियो, मेरो श्रीमान, मेरो प्रेमी ।
त्यो क्षण मेरो पनि केही हिस्सा मरेतुल्य भयो । त्यहाँ उभिरहँदा यस्तो लाग्यो कि म पनि अब मरिसकेँ । स्थिर र मौन, चलमलाउन असमर्थ, बोल्न बक नफुटेको ऊ कतै बिलाइदिएको भए हुन्थ्यो बरु ती सयौँ अपरिचित लासहरूबीच उसको मुहार कसैले नचिनेको भए सबैलाई जस्तो कुनै सामूहिक चिहानमा उसलाई पनि हुत्याइँथ्यो र मलाई के भएको थियो, कहिल्यै थाहा हुँदैनथ्यो । उसप्रति ध्यान पु¥याउने कर्मचारीप्रति म धेरै धेरै आभारी छु । भर्खर १९ वर्ष टेकेका हेक्टरप्रति आभारी छु । जसले मलाई भेटाउन त्यत्रो खतरासँग पौँठेजोरी खेले । उनले परिचय कार्यालयका कर्मचारीहरूसँग सहयोग मागेर परिचय अभिलेखबाट मेरो नाम र ठेगाना भेटाउन सफल भए । सबैजनाले सहयोग गरे ।
अब कानुनी रूपमा भिक्टरको शवमाथि दाबी गर्नु थियो । एउटै उपाय भनेको तत्काल शवगृहबाट शव बुझेर चिहानघारीमा लगी गाड्नु थियो …… त्यस्तै नियम थियो । उनीहरूले मलाई घर गई हाम्रो विवाह दर्ता प्रमाणपत्र ल्याउन भने । फेरि एकपल्ट म एक्लै सान्टियागोमा कार हाँक्दै थिएँ । सान्टियागो सहरमा स्वाधीनता दिवसको अवसरमा राखिएका झण्डा फरफराइरहेका थिए । मेरा केटाकेटीलाई म के नै पो भन्न सक्थेँ र ! ….. उनीहरूलाई शवगृहमा लान म कसरी सक्थेँ र ! हाम्रो अवस्थाबारे बुझ्न मेरा साथीहरू, विद्यार्थीहरू फोन गरिरहेका थिए । तीमध्ये एकजना असल मित्र मसँग आउन कर गरिरहेका थिए ….. संयोगले उनको पनि नाम हेक्टर थियो ।
सबै नियमअनुसार लेखापढी गर्दा–गर्दै केही घण्टा बिते । साँझ ३ः०० बजे शवगृहको भुइँतल्ला जाने चोकमा अझै प्रतीक्षा गरिरहेकी थिएँ । मलाई भिक्टरको शव दिइने सूचना दिइएको थियो । त्यहाँ अरु महिलाहरू बाहिर टाँसिएका निरर्थक नामावलीमा गहिरिएर हेर्दै थिए । ती नामावलीमा नम्बर, लिङ्ग र कुन ठाउँ वा क्षेत्रमा भेटिएको भनी मात्र लेखिएका थिए तर कसैको नाम लेखिएको थिएन । म त्यहाँ कुर्दै बस्दा प्रत्येक मिनेट मिनेटमा सहरबाट आउने गेटबाट छेउमा रातो रङ्गको पल्स चिन्ह पोतिएका बन्द सैनिक गाडीहरू शवगृहको भुइँतल्लामा हुंइकिरहे । त्यहाँ अर्को लासको रास थुपारेर थप लास जम्मा गर्न बाहिर हुइँकिरहे ।
अन्ततः सबै तयारी सकियो । एउटा ट्रलीमा कफिन राखेर हामी चिहानघारीतिरको सडक काट्न तयार भयौँ । हामी गेटमा पुग्दा नपुग्दै केही लासहरू बोकेको एउटा सैनिक ट्रक भित्र पस्यो । हामी वा त्यो ट्रकमध्ये कसैले बाटो छोड्नुपर्ने भयो । ट्रकको चालक ट्रकबाट हामीलाई झर्केर करायो र आक्रोशित व्यवहार देखायो । तर उसले ट्रक पछाडि लगेर भिक्टरको कफिनलाई बाहिर जान नदिउञ्जेल हामी चुपचाप उभिरह्यौँ ।
भिक्टरलाई गाडिएको चिहानघारीको पुछारको ठाउँसम्म पुग्न हामीलाई २० मिनटदेखि आधा घण्टामात्र लाग्यो । चिहानघारीको उबडखाबड बाटोमा ट्रली आवाज निकाल्दै थियो । हामी अघि बढिरह्यौँ । मेरा नयाँ मित्र हेक्टर मसँग हिंडिरहेका थिए । सँगै मेरा पुराना मित्र हेक्टर पनि मसँगै थिए । हाम्रा लागि तोकिएको ठाउँमा खनिएको खाल्डोमा भिक्टरलाई राखिएको कफिन पुरिन थालेपछिमात्र म भकानिन थालेँ । तर म भावशून्य वा संवेदनाहीन भइसकेकी थिएँ । घरमा मलाई कुरिरहेका मानुएला र अमान्डाको चिन्ताले मात्र मलाई जीवित राखेको थियो ।
अर्को दिन ‘ला सिगुन्डा’ अखबारले भिक्टरको निधन भएको जनाउँदै मसिनो समाचार छाप्यो, मानौँ उसको आफ्नो कोठामा चुपचाप निधन भएजस्तो– ‘अन्तिम संस्कार पारिवारिक ढङ्गले भयो, त्यहाँ उनका आफन्तजनको मात्र उपस्थिति थियो । त्यसपछि सञ्चारमाध्यमहरूलाई उपरान्त भिक्टरबारे केही नलेख्न–नछाप्न उर्दी जारी भयो । तर, कसैले आफ्नो जीवन दाउमा राखेर एउटा टेलिभिजनमा ‘ला प्लिगेरिया’ का केही श्रव्यदृश्य प्रसारण गर्ने साहस गरेको थियो ।
‘Chile : The Other September 11’ बाट
अनुवादक ः पद्म वान्तवा राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *