भर्खरै :

“समृद्धिको नाममा अरूले हात्ती चढे हामीले धुरी चढ्नु मूर्खता”

काठमाडौँ, ८ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले हिन्द प्रशान्त रणनीति सैनिक मोर्चा भएको बताउनुभएको छ । बुधबार बीबीसीका संवाददाता सुरेन्द्र फुँयालसँग कुराकानी गर्दै उहाँले नेपाली काङ्ग्रेस सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहश्राब्दी चुनौती सहकार्य (मिलिनियम च्यालेन्ज कोअपरेसन–एमसीसी) मा हस्ताक्षर गरेर हिन्द प्रशान्त रणनीतिमा नेपाल प्रवेश गरेको कुरा जनतालाई लुकाइएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले बङ्गाल खाडी छेउछाउका देशहरू समेटेर गठन गरिएको बिम्स्टेककै विस्तारितरूपमा अहिलेको हिन्द –प्रशान्त रणनीति भएको प्रस्ट पार्नुभयो ।
चीनलाई दक्षिणतिरबाट घेर्ने उद्देश्यले बनाइएको सो रणनीतिमा नेपाललाई पाइला पाइला गर्दै फसाइएको उहाँको भनाइ थियो ।
संरा अमेरिकाले ‘माया’ गरेका संसारका सबै देशमा उपद्रव भएको बताउँदै उहाँले संरा अमेरिकी साम्राज्यवादी सरकारसँग नजिकिएको दुष्परिणाम नेपालले पनि भोग्नुपर्ने बताउनुभयो ।
चर्चामा रहेको सी चिनफिङ विचारधारालाई चिनियाँ विकासको अनुभवको रुपमा व्याख्या गर्दै चीनको समृद्धिलाई देखाएर नेपालमा समृद्धिको कुरा गर्नु ‘अरूले हात्ती चढ्दा आफूले घरको धुरी चढ्नु’ जस्तै हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सबै देशका आ–आफ्ना अनुभव हुन्छन् । ती अनुभवबाट हामीले हाम्रो परिस्थितिअनुकूलका कुरा सिकेर नेपाली जनताको निःस्वार्थरूपमा काम गर्ने हो ।”
अध्यक्ष बिजुक्छेँले विदेशमा नेपाली युवाहरूलाई रोजगारीको लागि पठाउनु गोर्खा भर्तीकेन्द्रजस्तै देशको कलङ्क भएको बताउनुभयो । उहाँले भन्नुभयो, “काम गर्न र पढ्न नेपाली युवाहरू विदेशिंदा नेपालको कृषि र उद्योगधन्दा ध्वस्त भयो । खाद्य सामग्रीसमेत विदेशबाट वर्षको रू. दुई खर्बको आयात गरिरहेका छौँ ।”
उहाँले रोजगारीका लागि विदेशिन बाध्य नेपाली युवाहरूले आफू गएको देशका मजदुर आन्दोलनबाट सिकेर नेपालमा पनि कामदार जनताको आन्दोलन उठाउने वातावरण बन्ने धारणा राख्नुभयो ।
राजावादी शक्तिको चलखेलबारे सोधिएको प्रश्नमा बिजुक्छेँले राजतन्त्र फर्किने कुरा केटाकेटीमा भूतको हाउगुजीजस्तो मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सानो केटाकेटी छँदाको लुगा आज हामीलाई ठीक हुँदैन । आजको युगको लागि राजतन्त्र उपयुक्त हुनेछैन ।”
उहाँले भन्नुभयो, “कदाचित विदेशी शक्ति मिलेर राजतन्त्र पुनः स्थापना गर्दा पनि त्यसले काम गर्नसक्ने छैन । अफगानिस्तानका राजालाई फेरि गद्दीमा राख्दा खोज्न उनी मानेका थिएनन् ।”
सरकारका सबै क्षेत्रमा भाग खोज्ने नेपाली काङ्ग्रेसले प्रमुख प्रतिपक्षको धर्म निभाउन नसकेको प्रस्ट पार्दै देशमा आजको अवस्थाको लागि नेपाली काङ्ग्रेस पनि समानरूपमा दोषी भएको बताउनुभयो ।
भारतले नेपालका स–साना विषयमा हस्तक्षेप गरेको बताउँदै अध्यक्ष बिजुक्छेँले भारतसँगको खुला सिमानामा नेपाली जनताले अनेकन जेलिएका समस्या भोग्न बाध्य भएको बताउनुभयो ।
भारतीय जनता स्वयम् भारतीय एकाधिकार पुँजीबाट उत्पीडित भएको बताउँदै उहाँले भारतीय विस्तारवाद र एकाधिकार पुँजीको विरोध भारतको विरोध नभई गलत नीतिको विरोध भन्नुभयो ।
नेमकिपाको हालै सम्पन्न सातौँ महाधिवेशनबारे बोल्दै उहाँले पार्टीमा नयाँ नयाँ साथीहरू नयाँ उत्साहका साथ काम गरिरहेको बताउनुभयो ।
उहाँले राजनीतिक दललाई चुनावमा प्राप्त मतको आधारमा मात्र मूल्याङ्कन गर्नु उचित नहुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *