गरिब किसान जनताको लागि कृषि सहकारी खोल्नुपर्ने
- कार्तिक २३, २०८२
साँखु, ८ असोज । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनबाट निर्वाचित समितिका पदाधिकारी सदस्यहरूलाई बुधबार साँखुवासीहरूले बधाइ तथा स्वागत कार्यक्रम गरे ।
नेमकिपाका केन्द्रीय सदस्यहरूलाई स्वागत गर्दै साँखुवासी इन्जिनियर राजदास श्रेष्ठले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कम्युनिस्ट सिद्धान्त र आदर्शलाई जोगाइराखेको बताउनुभयो ।
रूसी समाजवाद संशोधनवादकै कारण पतन भएको प्रत्यक्ष देखेर आएको अनुभव सुनाउँदै इन्जिनियर श्रेष्ठले नेपालमा पनि सरकारको नेतृत्व गर्ने नेकपा कम्युनिस्ट नभई संशोधनवादी रहेको स्पष्ट पार्नुभयो ।
इन्जिनियर श्रेष्ठले जनताले दिएको वचन पालना नगर्ने पूर्वप्रधानमन्त्री र मन्त्रीहरू साँखु आउँदा लुकीलुकी प्रहरी–सेनाको घेरामा आउनुपरेको सुनाउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले नेमकिपा जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवाद स्थापना गर्न सङ्घर्षरत छ भन्नुभयो ।
अर्का केन्द्रीय सदस्य नन्दबहादुर शाहीले वर्गीय नाता र मानवताका कारण साँखुवासीसँग भेट्न पाएको बताउनुभयो ।
केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाका नेता–कार्यकर्ता जनताको हृदयमा बस्न सफल भएको बेलामा शासक दलका नेता–कार्यकर्ता साँखुवासीबाट लखेटिएको र अपराधीजस्तै भागी भागी हिँड्नुपरेको छ भन्नुभयो ।
केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य सृजना सैंजूले राजधानीकै सडकको खराब हालत छ भने समृद्धिको गीत गाउनु बेकार छ भन्नुभयो ।
केन्द्रीय सदस्य सरोज साहले जात र क्षेत्रको कुराले समाज भड्किने र वर्ग सङ्घर्षले मात्र जनताको समस्या समाधान गर्ने बताउनुभयो ।
केन्द्रीय सदस्य राजवीर डंगोलले जनतालाई दिएको आश्वासन पूरा नगर्ने सरकार जनताको सरकार हुनसक्दैन भन्नुभयो ।
साँखुका इतिहासविद् प्रकाशमान सकोँले नेमकिपाको जनताप्रति सेवा गर्ने इमानदार राजनीतिबाट आफू प्रभावित भएको बताउनुभयो ।
कार्यक्रममा पवनलाल श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply