जारशाही संसद्मा बोल्शेभिक सांसद
- कार्तिक १९, २०८२
रोवर्ट लरेन्स कुह्न (Robert Lawrence Kuhn)
जन–गणतन्त्र चीनको ७० औँ वर्षगाँठ नजिकिएको समयमा भविष्यलाई मार्गदर्शन गर्ने विगतलाई सम्झना गर्नु उचित नै हुन्छ । चीनले निकै ठूल्ठूला उपलब्धि हासिल गरिसकेको छ तर चीनको सबभन्दा ठूलो लक्ष्य अझै पूरा भएको छैन– गरिबी निवारणको लक्ष्य । यो बताउनैपर्ने चीनको कथा पनि हो ।
सुधार र खुलापनको सुरुका दसकहरूमा नेताहरू विशेषगरी आर्थिक विकासमा केन्द्रित भए, त्यतिबेला ती सही र स्वाभाविक परिणति पनि थिए, तिनले करोडौँ चिनियाँ जनतालाई गरिबीबाट माथि उकासे, जुन मानव इतिहासमा सबभन्दा ठूलो विकासको सफलताकोे कथा हो ।
सन् २०१२ को अन्ततिर चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ महाधिवेशनबाट जब सि चिनफिङ चिकपा महासचिवमा निर्वाचित भए त्यतिखेर १० करोड चिनियाँ जनता अझै गरिबीको रेखामुनि थिए । कतै दुर्गम पहाडी गाउँमै भौगोलिक एकान्तपन वा विकटताका कारणले त कतै पर्याप्त शिक्षा, उचित रोजगारी नपाएर, कोही वृद्धवृद्धा भएर वा अशक्त भएर तिनीहरू आर्थिक विकासमा पछाडि छुटेका थिए । आर्थिक विकासको कुरा कहिल्यै पर्याप्त हुँदैन, चाहे चीनको अर्थतन्त्र जत्तिसुकै ठूलो किन नहोस् । चीनको प्रतिव्यक्ति आय जतिसुकै बढेको किन नहोस्, ती अति गरिबीमा रहेका मानिसहरूलाई माथि उकास्न नसकेसम्म त्यस्तो आर्थिक विकासको महत्व हुनसक्दैन ।
चीनको पहिलो राष्ट्रिय लक्ष्य भनेकै सन् २०२०–२०२१ सम्ममा चीनलाई मध्यम स्तरको समृद्ध समाजमा रुपान्तरण गर्नु हो र राष्ट्रपति सिले बुद्धिमानीपूर्वक त्यसलाई पूरा गर्ने योजनाहरू कार्यान्वयनमा लानुभयो । यदि चीनका कुनै पनि नागरिक गरिबीको रेखामुनि रहन्छन् भने ‘मध्यम स्तरको समृद्ध समाज’ निर्माण असफल हुनजान्थ्यो, मैले राष्ट्रपति सिका उल्लेखनीय भनाइको प्रभावलाई प्रत्यक्षरूपमा देख्ने अवसर पाएको छु । सिले भन्नुभएको छः “मैलेभन्दा धेरै समय र ऊर्जा अरु क्षेत्रमा भन्दा गरिबी निवारणमा लगाएको छु ।” गरिबी निवारणजस्तो क्षेत्रलाई यति गहनरूपमा ध्यान दिने राष्ट्र प्रमुख वा राष्ट्रिय नेता मैले अन्त कतै देखेको छैन ।
नोभेम्बर २०१३ को घटना हो, मध्य चीनको हुनान प्रान्तको एक काउन्टीमा सिले पहिलो पटक ‘लक्षित’ वा ‘विशेष’ गरिबी निवारणका अवधारणा प्रस्ताव गर्नुभयो । उहाँले भन्नुभयो, “लक्षित गरिबी निवारणका उपायहरू व्यावहारिक परिस्थितिको आधारमा बनाइनुपर्छ र कोरा नाराहरू दिन छोड्नुपर्छ ।”
‘लक्षित’ को अर्थ एक–एकलाई विशेष ध्यान दिनु हो, तिनीहरूलाई सहयोग गर्ने नीति बनाउनु, गरिबी जनताको पहिचान गर्ने प्रक्रिया तथा प्रत्येकलाई गरिबीबाट बाहिर निकाल्ने योजना र कार्यक्रमहरू लागू गर्नु हो । चीनको ‘लक्षित गरिबी निवारण अभियान’ अत्यन्त सफल भयो, प्रतिवर्ष १ करोड ४० लाख मानिसहरूलाई गरिबीबाट माथि उकास्यो । ती सबै कडा, स्तरीय र पारदर्शी प्रक्रियाका आधारमा लागू गरिएका थिए ।
गरिबी निवारणको प्रक्रिया निरपेक्ष गरिबीको परिभाषा स्तरीय विधिबाट गरेर सुरु हुन्छ । वार्षिक आय, पर्याप्त स्वास्थ्योपचार, शिक्षा र सरसफाइ आदि नभएको राम्ररी जाँच गरेर गरिब रहे नरहेको छुट्याइन्थ्यो ।
गरिबी निवारणका लागि विभिन्न विधिहरू अपनाइन्थ्यो । उद्योग सञ्चालन, दिगो साना व्यापारहरूको सृजना, बस्ती स्थानान्तरण, दुर्गम क्षेत्रका मानिसहरूको बसाइँसराइँ, शिक्षा र तालिम, वातावरणीयरूपमा जोखिमयुक्त क्षेत्रमा रहेकालाई पर्यावरणीय क्षतिपूर्तिको व्यवस्था, सामाजिक सुरक्षा, स्वास्थ्योपचार अनुदान र काम गर्न नसक्नेहरूलाई प्रत्यक्ष भत्ता उपलब्ध गराइन्छ । हरेक गरिब परिवारलाई सहयोग पुग्ने सुनिश्चित गरिएको छ र हरेक गाउँमा लक्षित उपायहरू लागू गर्न अधिकारीहरू खटाइएका छन् । प्रान्तीय महानगरपालिकास्तरीय, काउन्टी नगरस्तरीय र गाउँहरू आ–आफ्नो भूमिका संयोजन गर्छन् । तेस्रो पक्षद्वारा अनुगमन नियमितरूपमा र छड्केरूपमा गर्ने गरिन्छ र तथ्य–तथ्याङ्क तथा इमानदारीतालाई सुनिश्चित गरिएको छ ।
सशक्तीकरण शब्दलाई व्यवहारमा उतारिएको छ । राष्ट्रपति सि नियमितरूपमा देशभरका गरिबी काउन्टी र गाउँहरूको भ्रमण गरिरहनुहुन्छ र गरिबी निवारण गर्ने पार्टीको प्रतिबद्धता सुनिश्चित गर्न प्रेरित गरिरहनुहुन्छ । चिनियाँ राष्ट्रपतिले गरिबी निवारणलाई सबभन्दा महत्वपूर्ण कामको रूपमा महत्व दिएको कुरा सुन्दा चीन बाहिरका मानिसहरूलाई अचम्म लाग्नसक्ला ।
चीनको लक्षित गरिबी निवारणको कथा विश्वलाई बताउनका लागि मैले हप्तौँसम्म चीनको विभिन्न भागको यात्रा गरेँ, विशेषगरी गरिबी निवारण कार्यक्रमहरू लागू भएका गाउँहरूमा । मैले गरिब गाउँलेहरू, स्थानीय अधिकारीहरू, विशेष निरीक्षकहरू, गरिबीबाट माथि उकासिएका जनता, गरिबीबाट उकास्न खटाइएका कार्यकर्ता र अनुगमन गर्न खटाइएका अधिकारीहरूसित भेटघाट र छलफल गरेँ । मैले देखेका र सुनेका कुराहरू शब्दका रुपान्तरण गर्नुभन्दा अगाडि मैले धेरै जनाको आर्थिक रुपान्तरणका कथाको गहन अध्ययन गरेँ र चीनको गरिबी निवारण अभियानको राम्रो चित्रण गर्न सकेँ । मैले उक्त अभियान कार्यान्वयन गर्ने प्रणाली र सङ्गठनहरूको बारेमा पनि राम्ररी अध्ययन गरेँ ।
निश्चय नै मैले पहिले चीनमा अति गरिबी देखेको थिएँ । विगत १५–२० वर्षमा मैले चीनको धेरैजसो भागको भ्रमण गरेँ, म सबभन्दा निर्धन भनिएका क्षेत्रहरूमा पनि पुगेँ । मैले पछिल्लो समयमा त्यहाँ पाएका उपलब्धिले मलाई आश्चर्यचकित पा¥यो ।
मैले त्यहाँ हरेक गरिब परिवारको भिन्नाभिन्नै फाइल र लिखित नोटबुक राखिएको पाएँ र तिनमा निरपेक्ष गरिबीबाट माथि उकास्न हरेक समयावधिको निश्चित योजनाहरू लेखिएका थिए । हरेक गरिब परिवारलाई भिन्नाभिन्नै तर सम्भाव्य योजनाहरू थिए, तिनीहरूको कार्यान्वयन गर्ने, गरिबी परिवारलाई सहभागी गराउने अधिकारीहरू थिए । त्यसको अनुगमन गर्ने सरकारी अङ्ग छुट्टै थिए । एक दुर्गम गाउँमा मैले एक किसिमको प्रजातान्त्रिक मूल्याङ्कन पद्धति पनि देखेँ, जहाँ आफ्नो बुबालाई क्यान्सर भएका एक किशोरको गरिबीको तह निश्चित गर्न मतदान गरिरहेको देखेँ । गरिबीबाट माथि उकासिएका अर्को मानिसका लागि गाउँलेहरू खुुसी मनाइरहेको पनि देखेँ । वास्तवमा गरिबीले ग्रस्त गाउँका गरिबी निवारणका लागि स्थानीय अधिकारीहरू उत्तिकै परिचालन भएका छन् । जहाँ क्यारियरको मौका व्यापक र कोष लगानी ठूलो हुन्छ त्यहाँ ठगी र चोरी हुनु ठूलो आश्चर्यको विषय होइन । सन् २०१७ मा दर्ता भएका १ लाख १ सय भ्रष्टाचार मुद्दामध्ये ४८ हजार ७ सय अर्थात् एकतिहात्न्दा बढी मुद्दा गरिबी निवारण कार्यसम्बन्धी थिए । सरकारले यसरी स्पष्ट र नढाँटीकन तथ्य तथ्याङ्क सार्वजनिक गर्नु राम्रै पक्ष हो । चीनले कहिल्यै गरिबी निवारणको लक्ष्यलाई कमजोर पार्ने तथ्य–तथ्याङ्क तोडमरोड वा तथ्य–तथ्याङ्कको अपव्याख्या, कोषको दुरुपयोग आदिलाई सहेको छैन ।
सन् २०१९ को सुरुवातमा निरपेक्ष गरिबीको रेखामुनि रहेकाहरूको सङ्ख्या अझै १ करोड ६० लाख रहेको थियो । त्यसलाई सरकारले गरिबीबाट माथि उकास्न सबभन्दा कठिन रहेको स्वीका¥यो । तरै पनि चीनले सन् २०२० को अन्त्यसम्ममा सबैलाई निरपेक्ष गरिबीबाट माथि उकास्ने मार्गचित्र तय गरेको छ । त्यसका लागि हरसम्भव प्रयासहरू भइरहेका छन् ।
चीनको गरिबी निवारण अभियानलाई अतुलनीय सफल कथाको रूपमा स्वीकार्नेहरूले चीनको एक पार्टी नेतृत्व प्रणाली र बलियोे तथा माथिबाट तल्लो तहसम्मको कमान्ड भएको सरकारको सम्बन्ध स्वीकार गर्छ । यस्तो बलियो प्राधिकारबिना चीनजस्तो विशाल जनसङ्ख्या भएको देशमा गरिबी निवारणको लक्ष्य पूरा गर्न असम्भव छ ।
चीनको लक्षित गरिबी निवारण अभियानले वास्तविक चीनको भित्री चित्रण गरेको मैले भन्ने गरेको छु । म आफै पनि चीनबारेका पूर्वधारणाहरू बदल्न चाहन्छु । विगत २० वर्षदेखि चीनका कथा विश्वलाई बताएको अनुभवका आधारमा के विश्वास लाग्छ भने लक्षित गरिबी निवारण अभियान मानिस–मानिसबीच भेदभाव अन्त्य गर्ने र मानिसहरूको चीनबारेको बुझाइ परिवर्तन गर्ने एउटै सबभन्दा शक्तिशाली हो ।
जब भविष्यका इतिहासकारहरूले हाम्रो समस्याको बारेमा खोजमूलक कथा र लेख लेख्नेछन्, चीनको लक्षित गरिबी निवारण एउटा उल्लेख्य घटना वा विषय पक्कै बन्नेछ ।
(डिसेम्बर २०१८ मा सम्पन्न चीनको सुधार र खुलापनको ४० औँ वर्षगाँठ डा. रोवर्ट लरेन्स कुह्नलाई चीनको सुधार मित्रता पदकबाट विभूषित गरिएको थियो । उक्त पदकबाट विगत ४ दसकमा १० जना विदेशी सम्मानित भइसकेका छन्, तीमध्ये ५ जना जीवित छन् भने डा. कुह्न दुईजना अमेरिकी नागरिकमध्ये एक हुन् ।)
(Targeted Poverty Alleviation: The China Story that must be told )
अनुवाद: प्रकाश
Leave a Reply