जारशाही संसद्मा बोल्शेभिक सांसद–२
- कार्तिक २०, २०८२
ई. राजदास श्रेष्ठ
सन् १९६० को दसकमा नेपालमा कम्युनिस्ट विचारधाराको हावा निकै चलेको थियो । सोभियत सङ्घको समाजवादी सत्ताको भन्दा अध्यक्ष माओ विचारधाराले बलियो जग बसाउँदै थियो । काठमाडौँ उपत्यकामा विद्यार्थी वर्ग मुख्यतया दुई खेमामा विभाजित थिए ।
एक, चीनबाट प्रभावित वाम विचारधाराको विद्यार्थी सङ्गठन हो भने अर्को दक्षिणतिर झुकाउ राख्ने नेपाल विद्यार्थी सङ्गठन । त्यसबाहेक राजतन्त्र समर्थक एक विद्यार्थी मण्डलको पनि उपस्थिति थियो विद्यार्थी आन्दोलनमा । सन् १९६५ मा नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री दिनेश सिंहले तत्कालीन शाही सैनिक मञ्च टुँडीखेलमा भन्नुभएको थियो, “नेपाल और भारतके बीच विशेष सम्बन्ध है ।”
वामपन्थी विचारधारा बोक्ने विद्यार्थीहरूको आक्रोश थियो, नेपाल र भारतबीच त्यस्तो कुनै विशेष सम्बन्ध छैन जसले भारतलाई नेपाल र चीनबीचको सिमाना उत्तरी हिमालयमा सैनिक पोष्टहरू राख्ने । आन्दोलनका मुख्य दुई नारा थिए ।
१) सुस्ता हाम्रो नेपालको हो !
२) उत्तरी चेकपोष्ट खारेज गर !
त्यसबेला नेपालका प्रमुख शासक राजा महेन्द्र थिए भने प्रधानमन्त्री कीर्तिनिधि विष्ट ।
मलाई लाग्छ, विद्यार्थी आन्दोलनले नेपालको उत्तरी सीमाबाट भारतीय सैनिक चेकपोष्टहरू हटाउनमा ठूलो योगदान पु¥याएको थियो ।
सायद त्यही चेकपोष्टको विषयलाई लिएर होला, प्रधानमन्त्रीको चीन भ्रमण भएको थियो । पछि उत्तरी सीमाबाट सर्दै भारतीय चेकपोष्टहरू हटाएका कुरा सुन्न पाइयो ।
विद्यार्थी आन्दोलन चर्किँदै थियो । काठमाडौँको गल्ली–गल्लीमा, चोक–चोकमा प्रायः कोणसभाहरू हुन्थे । कहिले त्रिचन्द्र कलेजको सरस्वती सदनमा त कहिले त्रिभुवन विश्वविद्यालयको त्रिभुवन सभाहलमा प्रमुख दलका विद्यार्थीहरूको सभा हुन्थ्यो । चर्काचर्की भाषण हुन्थ्यो विद्यार्थी नेताहरूको । अनि बेलाबेलामा जुलुस पनि हुन्थ्यो काठमाडौँका सडकहरूमा ।
दिउँसोको जुलुस र कोणसभाहरू सकिएपछि केही विद्यार्थी नेताहरू म बस्ने घरमा आउँथे साँझ बेलुकीपख, मेरा अभिभावकका छोरा मुकुन्द मास्केकहाँ भेट्न । मुकुन्द दाइ पनि वाम विचारधाराबाट प्रभावित हुनुहुन्थ्यो र माओ त्सेतुङ्गका प्रशंसक हुनुहुन्थ्यो । विद्यार्थी नेताहरू आएर मुकुन्द दाइको कोठामा बसेर दिनभरि भएका घटनाहरूको विश्लेषण गर्नुहुन्थ्यो र के कति कारणले विद्यार्थी आन्दोलन गरिरहेका हुन् भन्ने विषयमा छलफल र बहस हुन्थ्यो ।
म त्यसबेला ७–८ कक्षामा पढ्थँे पद्मोदय हाइस्कूलमा । मलाई उहाँहरूको वाम विचारधाराका बहसहरू सुन्न धेरै मनपथ्र्यो । बुझे पनि नबुझे पनि म विद्यार्थी आन्दोलनमा भाग लिन जान्थेँ र जुलुसमा ठूलो ठूलो स्वरले मुर्दावादको नारा घन्काउँथँे ।
यो आन्दोलन भारतको विस्तारवाद नीति र अमेरिकी साम्राज्यवादको विरोधमा पनि हो भनेको कुरा मैले सुनेको थिएँ ।
म साँखुमा एक निम्न मध्यम वर्गीय परिवारमा जन्मे हुर्केको मान्छे । मेरो बुबाले धेरै पढेको नभए पनि रामायण, महाभारतका किताबहरू घरमा ल्याएर पढ्नुहुन्थ्यो र स्वामी ईश्वरानन्दको भागवत गीता पनि किनेर ल्याउनुभएको थियो चार सय रुपैयाँ तिरेर । त्यसबेला चार सय रुपैयाँ तिरेर एउटा पुस्तक किन्नु भनेको ठूलो कुरो थियो । त्यो किताब सायद अहिलेसम्म पनि होला हाम्रो घरमा । मेरी दिदी र म रामायण र महाभारत अनि गीताका कथाहरू पढ्थ्यौँ र श्लोकहरू पनि घोक्थ्यौँ । यसरी धार्मिक नै भए पनि मोटा मोटा पुस्तकहरू किनेर घरमा ल्याउने गरेकोमा म धेरै खुसी थिएँ । मलाई विद्वान बनाउनुपर्छ भनेर घरमा संस्कृतका पण्डित बाजेलाई राखेर (पालेर) मलाई संस्कृत पढाउनु भो ४–५ वर्षसम्म । पछि मैले वेद पढ्नु हुँदैन भन्ने कुराले संस्कृत पाठशाला जान छोडँे र अङ्ग्रेजी पढ्ने भनेर काठमाडौँ आएको थिएँ । ढिलै भए पनि काठमाडौँ आएर पढन पाएँ । मेरो बुबाले मलाई हातको आँैला समातेर ल्याउनुभएको थियो काठमाडौँसम्म, पद्मोदय हाइस्कूलको मास्टर मोहनप्रसाद मास्केकहाँ बसेर पढ्न भनी । आफूले धेरै नपढे पनि मलाई इच्छाएसम्म पढ्न अवसर मिलाई दिनुभएकोमा म आफ्नो बुबाप्रति धेरै कृतज्ञ छु । ।
साँखुमा बुबाको सङ्गत त्यसबेलाका जमिनदारहरूसँग थियो । प्रायः प्रत्येक दिन बिहान साँखुका मुख्य जमिनदारको घरमा बुबाको जमघट हुन्थ्यो, अन्य अलि अलि पढे जानेका साथीहरूसँग । धेरैजसो धार्मिक तथा नैतिक विषयमा छलफल हुन्थ्यो । ती बैठकहरूमा रामायण, महाभारत र गीताका विषयमा पनि विचारविमर्श हुन्थ्यो । त्यही कारण बुबा धार्मिक पुस्तकहरू घरमा ल्याउनुहुन्थ्यो र हामीलाई पढ्न प्रोत्साहन दिनुहुन्थ्यो ।
जमिनदारहरूको सङ्गतले गर्दा होला, हाम्रो बुबामा पनि जमिनदारको स्वभाव मैले पाएको थिएँ । मेरो मनभित्र धार्मिक आस्था जाग्नुका साथै केही मात्रामा जमिनदारी सोच पनि पलाएको थियो । घरमा नोकर चाकर राख्न मलाई खूब रहर थियो । साधारण किसान वर्गभन्दा आफ्नो परिवार अलि उच्च वर्गमा छ भन्ने सम्झेर मनभित्र घमण्ड पालिराख्थेँ । आज यो कुरा सम्झँदा मलाई धेरै लाज लाग्छ । आफ्नो मन भित्रभित्रै प्रायश्चित पनि गर्छु बेला–बेलामा ती कुराहरू सम्झन्दा ।
तर, काठमाडौँ आएको दुई तीन वर्षमै मेरो त्यो जमिनदारी सोच आफसेआफ हराएर गयो । म कम्युनिस्ट विचारधारको प्रभावमा पर्दै गएँ र गरीब गुरुवा र किसानहरूको हितको विषयमा सोच्न थालेँ । भोटाहिटीमा निरञ्जन गोविन्द वैद्यकहाँबाट चाइनीज साहित्यिक पत्रपत्रिका र पुस्तकहरू ल्याएर पढ्दै गर्दा ।
त्यसैताका राजा महेन्द्रले नेपालमा भूमिसुधारको नीति लागू गरे । किसानले भूमिसुधारअन्तर्गत जग्गा धनीलाई पहिलेको भन्दा कममात्र कुत तिरे पुग्ने भयो । जग्गाको हदबन्दी तोक्ने र किसानले आफूले जोतेको जग्गामा आफ्नो अधिकार पाउने भन्ने कुरा सुन्दा मलाई धेरै खुसी लागेको थियो । त्यसबेला त्यो भूमिसुधार नीति वास्तवमै किसानको हक हितमा थियो वा थिएन अथवा थियो भने के कति थियो ! यस्ता कुरा भित्रसम्म मलाई थाहा थिएन तर भूमिसुधार लागू गरेपछि स्थानीय प्रधानपञ्चहरूले किसानहरूको घर–घरमा गई ‘बचत’ उठाउने भनेर मुरीका मुरी धान ल्याउने कुराले भने मलाई पीर परेको थियो । त्यसबेलाका साँखुका प्रधानपञ्चहरू डाडागिरीजस्तो लाग्यो मलाई । पहिलेका जमिनदारले भन्दा यिनीहरूले किसानको बढी शोषण गरेको जस्तो लाग्थ्यो ।
यसैले मैले पञ्चायतविरोधी खेमामा रहेर कम्युनिस्ट विचारधारको पक्षमा उभ्याउने प्रयास गरेँ । यद्यपि मेरा बुबादेखि लिएर मेरा परिवारका दाजु भाइ र नातागोताहरू पञ्चायतको पक्षमा थिए । आजसम्म उनीहरू राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) का पक्षधर हुन् । उनीहरू देशमा राजा फर्कनुपर्छ र नेपाल हिन्दु राज्य हुनुपर्छ भन्ने धारणा राख्दै हिँडेका छन् ।
यसले मलाई मेरो परिवार र नातागोताबाट अलग्ग बनाइदियो । विस्तारैविस्तारै म कम्युनिस्ट विचारधाराबाट प्रभावित हुँदै गएँ भने मेरा परिवार पञ्चायत समर्थक थिए । मेरा आफ्नै बुबा धेरै वर्ष पञ्चायत शासनअन्तर्गत साँखु गाउँ पञ्चायतका वडा अध्यक्ष हुनुहुन्थ्यो । मेरा टोलका छिमेकी काका पञ्चायत काल रहेसम्म आजीवनजस्तै प्रधानपञ्च रहनुभयो ।
Leave a Reply