भर्खरै :

कालीकोटमा नेकपाको गुण्डागर्दी : नेमकिपाका कार्यकर्तामाथि हमला

कालीकोट, १२ असोज । कालीकोट जिल्ला तिलागुफा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष तथा नेमकिपाका कार्यकर्ता नगेन्द्रबहादुर रोकायामाथि नेकपा जिल्ला कार्य समितिका सदस्य टेकबहादुर शाहीले हालै गुण्डागर्दी शैलीमा हातपात गरेका छन् ।
गुण्डागर्दी गर्ने शाही स्थानीय तह निर्वाचन २०७४ मा तत्कालीन नेकपा एमालेको तर्फबाट तिलागुफा नपा वडा नं. ११ का पराजित वडाध्यक्ष उम्मेदवार हुन् । तिलागुफा नगरपालिकाको चिल्खाया (ठिन्के) देखि गाल्जे सडक खण्ड निर्माण समितिका अध्यक्ष भई निज शाहीले सडक निर्माणको लागि एक्जाभेटर भाडामा लिई काम गराएका थिए ।
सडक खण्डको लागत अनुमानबमोजिमको काम नगरेको, निर्धारित योजनाबमोजिम सडक नखनेको, लागत अनुमानबमोजिम सडक चौडाइ–लम्बाइको मापदण्ड पूरा नगरेको, अनुगमन समितिको निर्णय र प्रतिवेदन पनि नल्याएको अवस्थामा निज शाहीले सडक निर्माण समितिको निर्णयविना नै आफूमात्र एक्लै आई रकम निकासाको लागि वडाको सिफारिस गरिदिन दबाब दिएका थिए । यस विषयमा तिलागुफा नगरपालिका वडा नं. ६ को वडा कार्यालय (हाल नगरपालिकाको कार्यालयको प्राविधिकको कार्यकक्ष) मा छलफल भइरहेको अवस्थामा वडा अध्यक्ष नरेन्द्रबहादुर रोकायाको हात समाई जोर–जुलुम गरी टेकबहादुर शाहीले फलामको सरिया (रड) ले टाउको, आँखा र घाँटीको विभिन्न भागमा हानी वडाध्यक्ष रोकायालाई घाइते बनाएका थिए । उक्त गुण्डागर्दी शैलीप्रति नेमकिपा तिलागुफा र तिलागुफा वडा नं. ९ का सम्पूर्ण वडावासी आक्रोशित छन् ।
घाइते वडा अध्यक्ष रोकायाको उपचारको लागि जिल्ला जनस्वास्थ्य कार्यालय, कालीकोट लगी उहाँको घाउ–जाँच केस फाराम तयार गरिएको थियो भने अपराधी शाहीलाई प्रहरीले नियन्त्रण लिई जिल्ला प्रहरी कार्यालय कालीकोटमा बुझाएको थियो ।
उक्त घटनाको भोलिपल्ट दुवै पक्षका प्रतिनिधिहरूबीच प्रहरी कार्यालयमा छलफल हुँदा अपराधीमाथि हाललाई सार्वजनिक मुद्दा दर्ता नगराउने अर्थात् स्थगित गर्ने सहमति भएको छ ।
सहमतिअनुसार घाइते वडाध्यक्ष रोकायाको सम्पूर्ण उपचार खर्च पीडक पक्षले व्यहोर्ने, उक्त सडकको लागत अनुमान पुनः तयार गर्ने, मापदण्डबमोजिम काम भए–नभएको प्राविधिक जाँच गर्ने, अनुगमन समितिको प्रतिवेदनसहितको निर्णयलाई मान्यता दिने र बाँकी काम स्वच्छ छवि भएको जिम्मेवार व्यक्तिलाई निर्माण समितिको अध्यक्ष बनाउने र अन्यायीले उक्त सहमति तोडेमा सार्वजनिक मुद्दा दर्ता गर्ने सहमति गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।
यस्तै प्रकृतिको घटना २०७५ असारमा कालीकोट जिल्ला तिलागुफा नगरपालिका वडा नं. ४ का तथा नेमकिपा कालीकोटका सचिव वडाध्यक्ष खड्गराज शाहीमाथि भएको थियो । वडाध्यक्ष शाहीमाथि नेकपा माओवादी कार्यकर्ता कमलबहादुर शाहीले हातपात गरेका थिए । कमलबहादुर शाही पनि एक्जाभेटर भाडामा लिएर कमाइ गर्ने ठेकेदार हुन् । उनले २०७४ माघ १७ गते पाँच लाख रुपैयाँ पेश्की लिई पाँच महिनासम्म कालीका माविको खेलमैदान तथा प्राङ्गण निर्माणसम्बन्धी काम सुरू नगर्दा वडाध्यक्ष खड्गराज शाहीले ध्यानाकर्षण गराउँदा कमलबहादुर शाहीले वडाध्यक्ष शाहीमाथि सार्वजनिक स्थलमै हातपात गरेका थिए ।
नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरूले विकास निर्माण र भौतिक निर्माण कार्य गुणस्तरीय र मापदण्डबमोजिम हुनुपर्ने अडान लिने क्रममा नेमकिपाका कार्यकर्ताहरूमाथि नेकपाका कार्यकर्ताहरूद्वारा गुण्डागर्दी शैलीमा पटक–पटक हातपात भइरहेको छ । यसलाई तिलागुफा नगरवासीले सत्ता र शक्तिको आडमा गुण्डागर्दी र दुव्र्यवहार भइरहेको टिप्पणी गरेका छन् ।
नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरूले विकास निर्माणको क्षेत्रमा भइरहेको लापरबाही रोक्न खबरदारी गर्दै आइरहेका छन् ।
ठेकेदारहरूको त्यस्तै प्रवृत्ति हावी हुँदै गएमा समाजमा परिवर्तन र विकास होइन आतङ्क र अशान्ति झन् बढ्दै जानेछ । यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जानुपर्ने नगरवासीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *