– अञ्जना पराजुली

विराटनगर, १२ असोज (रासस) : ‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई यहाँका महिलाले अब बुझ्न थालेका छन् । अपरिपक्व उमेरमा गरिने विवाहले भविष्य उज्वल हुनुका साटो अन्धकार भएको अनुभव सानो उमेरमा विवाह गरेर पछुताएका महिलाले सुनाउन थालेका छन् । विवाहपछि आउने समस्यालाई हल गर्न सक्ने क्षमता निर्माण नगरी गरिने विवाहले मानिसको जीवनमा पर्ने दुःखबाट आँशु मात्र बग्छ, अनुहारमा हाँसो भने हुँदैन र पछुताउनुपर्छ भन्न थालेका छन अहिले उनीहरु ।
पढ्नेलेख्ने, हाँस्नेखेल्ने उमेरमा विवाह गरेको कारण आफूहरुलाई अहिले निकै पछुतो हुने गरेको मेनुका चौहानले बताउनुभयो । विराटनगर महानगरपालिका–१२ निवासी ३४ वर्षीया चौहान आफू कक्षा ९ मा पढ्दापढ्दै एक युवकसँग भेटघाट भयो । भेटघाट भएसँगै सम्बन्ध बलियो हुँदै जाँदा ती युवकसँग भागेर विवाह गरेको स्मरण गराउनुभयो । आफू १६ वर्षकै उमेरमा भविष्यको चिन्ता नै नगरी गरिएको यो विवाह आफ्नो जीवनमा अभिशाप बन्यो उहाँले अतितलाई सम्झँदै भन्नुभयो । पछि गएर दुःख पाउँदा जीवनमा ठूलो भूल गरेको चेतना त भयो तर त्यसलाई सच्याउने बाटो नपाएको उहाँको कथन थियो ।
सोचेअनुसार वैवाहिक जीवन नचलेपछि कलहमा जीवन गुजार्नुभन्दा सम्बन्धविच्छेद गरेर एक्लो जीवन बिताउने निर्णय लिएसँगै उनले सम्बन्धविच्छेद गरिन् । हुनेखाने घरको छोरी भएर पनि अहिले कष्टकर जीवन बिताउनु पर्दा मलाई झन् पीडावोध हुन्छ उहाँ भन्नुहुन्छ । हतारमा गरिएको यो विवाहले मेरो सर्वस्वहरण त भयो तर अब आउने दिनमा कसरी समस्याको सामना गर्ने झन् चुनौती थपिएको दुखेसो चौहानले गर्नुभयो । उहाँले भन्नुभयो, “आफूले गरेको विवाहप्रति निकै पछुतो छ, यसकोे कारण आफ्नो पढाइ सबै बिग्रियो, केही काम छैन, बेरोजगार छु र विवाहको परिणाम भोग्दैछु ।”

यस्तै, विराटनगर महानगरपालिका निवासी २६ वर्षीया सीमा कार्कीले पनि बालविवाहको कारण आफ्नो भविष्य बर्बाद भएको सुनाउनुभयो । घरका आमाबुबाले नै विवाह गरिदिएको उहाँको भनाइ छ । आफ्नो आमाबाबु र दाजुको जिद्धीबाट विवाह भएका कारण आफ्नोे रहर र सबै सपना चकनाचुर भएको उहाँको भनाइ छ । उहाँले आफ्नो हाँसखेल गर्ने उमेरमा घरपरिवार चलाउनुपर्ने, साना नानीहरुको हेरचाह गर्नुपर्नेे, घर व्यवहार धानेर बस्नु परेकाले मनमा कहिले पनि सन्तुष्टि नआएको र चिन्ता मात्र लागिरहेको अनुभव सुनाउनुभयो । आमाबुबाले आफूलाई बोझ सम्झेर छोरी पढाएर केही फाइदा नहुने भन्ने सोचका कारण आफ्नो विवाह गरिदिएको गुनासो कार्कीले गर्नुभयो ।

त्यस्तै, कम उमेरमै विवाह गर्ने ममता पासवानको पारिवारिक स्थिति निकै कमजोर र नाजुक देखिएको छ । कक्षा ८ मा पढ्दा आफ्नो विवाह भएको उहाँ बताउनुहुन्छ । परिवारको आर्थिक स्थिति कमजोर भएका कारण केटा पक्षले केही दाइजो नलिने भनेपछि घरपरिवारका सदस्यले विवाह गरिदिएका थिए । उहाँ भन्नुहुन्छ, “परिवारको मायाले विवाह गर्न बाध्य भएँ । आफ्नो पढाइलेखाइलाई बीचमै छाडे । विवाहपछि घरकै काममा व्यस्त हुने गरेको छु, पढ्ने सोच बनाए पनि घरको कामले फुर्सद हुँदैन ।”

विवाहपछि धेरै मानिसहरुको जीवन धरापमा परेको छ तर यहाँ केही प्रतिनिधिमूलक घटनाको मात्र प्रस्तुत गरिरहँदा सुष्मा शर्मा पनि यही कारणले दुःख पाउनुभएको छ । आफू १४ वर्षकी हुँदा पे्रमविवाह गरेको र एक वर्षपछि छोरी जन्माएको उहाँले बताउनुभयो । शर्माले परिवारमा सधैँ झगडा हुने, गाली खानुपर्ने, सकिनसकी काम गर्नुपर्ने र कलह मात्र हुने यो परिवारबाट छुटकारा पाउन सम्बन्धविच्छेद गरेको जानकारी दिनुभयो । कलिलो उमेरमा विवाह भयो, एक वर्षपछि बच्चा जन्मियो, घरको झगडाले सीमा नाघेको र सधैँ श्रीमान्बाट कुटाइ खाइरहनुभन्दा एक्लै बस्ने मनस्थिति बनाएका कारण सम्बन्धविच्छेद गरेको शर्माको भनाइ छ । आफूसँगै पढ्ने साथीहरु शिक्षित भएको र केही जागिरमा पनि रहेकाले अहिले मैले पछुताउनुको विकल्प छैन, उहाँको भनाइ थियो । उहाँको वैवाहिक जीवन साह्रै पीडादायी बनेको र अहिले त्यही नानी लिएर माइतीमा बसेको बताउनुभयो ।

विराटनगर महानगरपालिका–१२ मा मात्र यो तीन महीनामा १५ भन्दा बढी उमेर नै नपुगी विवाह दर्ताका लागि सिफारिश लिन आएको वडाध्यक्ष हीरालाल कामतले जानकारी दिनुभयो । उहाँले २० वर्ष नपुगी गरिने विवाह बालविवाह हो । यस्तो विवाह गर्नु हुँदैन र २० वर्ष नपुगी विवाह दर्ता नहुने कानूनी प्रावधान भएकाले सम्झाएर पठाउने गरेको अध्यक्ष कामतको भनाइ छ । सरकारले कम उमेरमा विवाह गरेमा रु २५ हजार जरिवाना र एक वर्ष कैद गर्ने कानून बनाए पनि यसलाई व्यवहारमा नमान्ने मानिसहरुले नै भविष्यमा दुःख भोग्ने गरेका छन् ।
–––