अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
भैरव रिसाल
सुगौली सन्धिअनुसार सम्पूर्ण लिम्पियाधुरा नेपालको हो । यो हिमाली बृहद् पाटो नेपालको हो र थियो पनि सन् १९६२ सम्म । म आफैले त्यो क्षेत्रको जनगणना अफिसर भएर २०१८ को असार ८ गते नेपालको छैटौँ राष्ट्रिय जनगणना गराएको हुँ । त्यतिबेला नेपालको प्रशासनिक एकाइ ७५ जिल्ला वा ७७ जिल्ला थिएन ३५ जिल्लामात्र थियो । तसर्थ हालको दार्चुला जिल्ला बैतडी जिल्लामा थियो । मेरोअन्तर्गत खरदार थिए – ऋषिराज द्विवेदी । उनले त्यो सम्पूर्ण लिम्पियाधुरा क्षेत्रको जनगणना निर्वाधरूपमा गराएका हुन् । मलाई पूरै हेक्का छ त्यो कुराको । २०१८ को जनगणनामा नेपालमा ९४ लाख १९ हजार १९६ जनसङ्ख्या थियो । नाडरीगङ्ग, गुञ्जी, गब्र्याङ, कुटी, तुल्सी, न्यूराङजस्ता अलि तल्लो भेगमा बस्ती थियो । उनीहरू जाडो लागेपछि तल्लो भागमा बसाइँ सर्थे र गर्मी चढेपछि फेरि हिमाली भेगमै उक्लिन्थे । असार तातो महिना भएकोले हामीले ती ठाउँमै गई जनगणना गराएका थियौँ । त्यतिबेला भारतका भारतीय मान्छे त के भारतीय चरो, मूसो पनि थिएनन् सिङ्गो लिम्पियाधुरामा । त्यहाँका बासिन्दाहरू बैतडी मालपोत कार्यालयमा मालपोत तिर्थे र जग्गा पास गर्थे, पर्दा नापी गराउँथे बैतडीबाटै । यो सम्पूर्ण भूभाग निर्विवादरूपमा नेपाल थियो, नेपाल नै हो । सन् १९६२ मा चीन–भारत युद्धपछि भारतले कालापानीमा सशस्त्र ब्यारेक राखेको थियो । यसरी ब्यारेक राख्दा राजा महेन्द्रले अनुमति दिएका रे ¤ तर प्रमाण छैन ।
कालापानीमा त्यतिका सेना ?
सम्पूर्ण लिम्पियाधुरा क्षेत्र नेपालको अक्षुण्ण भूभाग हो । सुगौली सन्धिले कालीपूर्व नेपाल हो भनी स्पष्ट किटान गरेकोले र कालापानी, लिपुलेकलगायत काली पूर्व पर्छन् । कालीको मुहान लिम्पियाधुरा क्षेत्र हो किनकि त्यो सम्पूर्ण विशाल भूभाग कालीको जलाधार क्षेत्र हो । जलविज्ञानविद् जगतकुमार भुषालका अनुसार नदी वा खोलाको नाम तीनवटा आधारमा राखिन्छ – एउटा हाो, जलाधार क्षेत्र ठूलो हुनु । दोस्रो हो, पानीको मात्रा सबैभन्दा धेरै हुनु र तेस्रो हो, नदीको बहाव क्षेत्र सबभन्दा लामो हुनु । यी तीनवटै दृष्टिबाट लिम्पियाधुरा क्षेत्रबाट आउने खोलो नै काली–महाकाली–नदीको मुहान हो । सम्पूर्ण भौतिक, सैद्धान्तिक एवम् तार्किक आधार र प्रमाणबाट कालीको मुहान लिम्पियाधुरा हो भन्ने स्पष्ट पुष्टि हुन्छ साथै सुगौली सन्धिपछिका दुईवटा नक्साले पनि लिम्पियाधुराको सम्पूर्ण भूभाग नेपालको हो भन्ने प्रमाणित गर्छ । सन् १८५० र सन् १८७६ को नक्सालाई आधारभूत नक्साको रूपमा लिएमा समस्या सम्बोधन हुन्छ । यो नेपाल पक्षको कुरा हो तर भारतीय पक्षले भने ती दुई नक्सा वैज्ञानिक नभएकोले त्यसको बदला सन् १८७९ को नक्सा लिनुपर्छ भन्यो । नेपालले यसलाई असान्दर्भिक भन्दै आधार नक्सा मान्न इन्कार गर्दै आएको छ । किनभने त्यो १८७९ को नक्सामा सङ्केत चिह्नद्वारा कालापानी भारततर्फ पारेको छ । कालापानीमा हाल झन्डै चार सय सैनिक तैनाथ गरिएको छ । त्यसमा भारतका हिन्द–तिब्बत सशस्त्र प्रहरी, सशस्त्र सीमा बल र भारतीय सशस्त्र बल समावेश भएको स्थानीय बताउँछन् । तर नेपालका सशस्त्र प्रहरी बल र नेपाली सेना भने दार्चुला जिल्ला सदरमुकाम खलङ्गामा मात्र सीमित छन् । यसरी त्यो भेग र भागमा नेपाल सरकारको उपस्थिति कमजोर छ ।
त्यता उपस्थिति जरूरी
नेपाल प्रहरी गर्मी याममा ६ महिना सीतापुर र टिङ्करमा सीमित सङ्ख्यामा मात्र बस्छन् । मंसिरमा जाडो सुरू भएपछि तल सदरमुकाममै फर्कन्छन् । सुरक्षाकर्मीमात्र होइन स्थानीय जनता पनि तल डुम्लिङमै झर्छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी भन्छन् – कालापानी क्षेत्रको रणनीतिक महत्वको आधारमा बा¥हैमास नेपाली सुरक्षाकर्मीको उपस्थिति आवश्यक छ । नेपालका गुञ्जी, नामी र कुटी तीन वटा गाउँ भारतको नियन्त्रणमा छन् । त्यतिमात्र होइन भारतीय सुरक्षा बलले धार्चुलाको घट्टेबागढदेखि कालापानीसम्म ७ ठाउँमा ८ वटा चौकी स्थापना गरेका छन् जहाँ आफ्ना जवानहरूलाई तैनाथ गरिएको छ । छिपा तालभन्दा माथिल्लो भागलाई भारत सरकारले संवेदनशील क्षेत्र घोषणा गरेको छ । त्यस्ता क्षेत्रमा प्रवेश गर्न विभिन्न ठाउँबाट अनुमति लिनु अनिवार्य गराइएको छ । कालापानीदेखि छाया तालसम्म आउजाउ गर्न भारतीय सुरक्षाकर्मीले ११ वटा सवारी साधन प्रयोग गर्दै आएका छन् । यतिमात्र होइन भारतीय पक्षले त्यहाँ कैयौँको सङ्ख्यामा ताता घर (वातानुकुलित) का साथै तीन वटा मन्दिर पनि बनाएका छन् । यद्यपि नेपालको सशस्त्र प्रहरी बलले नेपाल–चीन र भारतको सीमावर्ती व्यास गाउँपालिका वडा नं. १ मा पर्ने छाङ्रूमा चौकी स्थापना गर्ने निर्णय गरिसकेको छ । तर अहिलेसम्म सो निर्णय कार्यान्वयन हुन सकेको छैन । यसरी नेपाल सरकारको राजनीतिक दृष्टिले सारै संवेदनशील तर जलवायुका दृष्टिले जोखिम त्यस्ता ठाउँमा सधैँ उपस्थिति जनाउन सकेको छैन । तर उपस्थिति अति नै जरूरी छ ।
किन थाहा हुँदैनथ्यो
नेपाल विसं २००७ देखि राणा शासनबाट मुक्त भयो । दुर्भाग्यवस राजा त्रिभुवन सपरिवार (माहिला नाति ज्ञानेन्द्रबाहेक) दिल्ली गए । राजा र राणा शासकका बीच वार्ता भयो । सो वार्तामा सायद भारत सरकारले मध्यस्थता ग¥यो । त्यसको अनुचित लाभ लिन बाँकी राखेन भारत सरकारले । भारतबाट २००८ चैत २७ मा गौचरण हवाई मैदान बनाउन भनी ८ जना सैनिक अधिकारीसहित सिपाही मण्डली आएको थियो । भारत त्यतिबेला नेपालउपर सुदृष्टि राख्दैनथ्यो जब २००८ मंसिर १ मा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भए तब २००९ जेठ २७ देखि नेपाल–चीन सीमावर्ती क्षेत्रका १८ स्थानमा भारतीय सैनिक चेकपोष्ट स्थापना गरिए । तर ती सैनिक चेकपोष्ट १७ वर्ष २० दिनपछि कीर्तिनिधि विष्ट प्रधानमन्त्री भएका बेला २०२६ वैशाख ७ बाट फर्काउन थाले । तर विष्टले त्यतिबेला पनि कालापानीमा २०२२ सालदेखि बसेको ब्यारेक भने फर्काउन लागिपरेनन् । त्यो ब्यारेक अझै कायमै छ । यस सम्बन्धमा २०५५ असार २० गते काठमाडौँमा आयोजित एउटा सीमा अतिक्रमणसम्बन्धी भेलामा सीमाविद् बुद्धिनारायण श्रेष्ठ र मैले कालापानीबाट भारतीय सैनिक ब्यारेक किन नहटाएको भन्ने ठाडो प्रश्न गर्दा विष्टले त्यहाँ भारतीय सेनाको ब्यारेक रहेको मलाई थाहै दिएन, नत्र हटाइ हाल्थेँ नि ¤ भने । विष्टले यहाँ ठाडै ढाँटे । किन थाहा हुँदैनथ्यो ?
राजनीतिमा पोलिटिक्स घुसेजस्तै
त्यो अनुष्ठानमा हामीले सीमा अतिक्रमण प्रतिरोध समितिको प्रतिवेदन पनि हस्तान्तरण गरेका थियौँ । पूर्वप्रधानमन्त्री विष्टले हालै भनेका थिए – “मलाई कर्मचारीले भन्दै भनेनन् त कालापानीमा पनि भारतीय ब्यारेक छ भनेर ¤ त्यो कुरो मलाई बुद्धिनारायण र भैरव रिसालले नै भने ।” त्यत्रो व्यापक चर्चामा आएको गम्भीर कुरो विदेशीको सशस्त्र सैनिक व्यारेक सन् १९६२ देखि बसेको छ भन्नेजस्तो कुरो परराष्ट्रमन्त्री र प्रधानमन्त्रीजस्तालाई थाहा हुँदैन भन्ने कुरा कति पत्याउने, कति नपत्याउने ? फेरि सचेत देशभक्त नागरिकहरूले । उक्त समिति गठन गरी झण्डै दुई वर्ष देश–विदेशसमेत गई बनाएका दुर्लभ सबुट प्रमाण सङ्कलन गरी प्रतिवेदन सार्वजनिक गरेका यावत् कुरा पनि थाहा हुँदैन प्रशासन प्रमुख, कार्यकारी प्रधानमन्त्रीलाई भने के थाहा हुन्छ त ? उत्तर छैन । मैले त्यहीँ भने – “थाहा पाइन भनी कीर्तिबाबुले ढाँट्नु भो कि वहाँ प्रधानमन्त्री, परराष्ट्र मन्त्री बन्न योग्य हुनुहुन्न ।” नत्र त्यति गम्भीर कुरा किन थाहा हुँदैन ? के थाहा हुन्छ त वहाँहरूलाई ? एउटा तर्क छ – कालापानीमा भारतीय अर्धसैनिक व्यारेक राख्ने या बस्न दिने स्वीकृति मौखिकमात्र दिइएको थियो । तसर्थ त्यसको अभिलेख थिएन । अभिलेख नै नभएपछि औपचारिक तहमा त्यो प्रश्न उठेन होला अनि परेन त्यो ब्यारेक ? तर जे–जति तर्क गरे पनि कीर्तिनिधि विष्टको व्यक्तित्वलाई त्यो सुहाएन, पटक्कै सुहाएन । वहाँलाई माथिको आसय बुझ्ने मान्छे भनिन्थ्यो । त्यसले पनि हो कि ? वहाँले थाहा नपाएको ? यो त राजनीतिमा पोलिटिक्स घुसेजस्तै भयो ।
बासी शक्ति कसरी फर्कन्छ र ?
आफ्नो देशको विकास आफैले गर्ने हो । अरूले गरिदिएको विकास टिकाउ हुँदैन, पानीको फोकाजस्तै हुन्छ । आफैले गर्दा किञ्चित ढिला हुनसक्छ । तर, आफूले गरेको विकासको फल स्वादिलो हुन्छ । हामीमा अहिले आफ्नो विकास पनि अरूले गरिदिएहुन्थ्यो भन्ने प्रवृत्ति देखापर्दैछ । त्यो वास्तवमा ठीक होइन भन्नेमात्र होइन नितान्त बेठिक हो । समृद्धिको नाममा अरूले हात्ती चढे भनेर हामीले धुरी चढ्नु बुद्धिमत्ता ठहरिँदैन । एकथरि बुद्धिवादीहरूको विश्लेषण भोलिको सम्भावनातिर नभएर हिजोको बासीतिर केन्द्रित हुँदैछ त्यो बुझ्न अप्ठेरो हुँदैन तर अप्ठेरो त्यतिबेला हुन्छ जति बेला त्यो बासी कुरा पत्याएर फालिएको बासी साजी हुने आशाको त्यान्द्रोमा तेलकासा खेल्छ । हिजो सानो भएर लाउन छाडेको जुत्ता हिजोको भक्तले ठिक्क हुन्छ भने भन्यो भनेर लगायो भने खुट्टाले मात्र दुःख पाउँदैन सम्पूर्ण शरीरले नै कष्ट पाउँछ । त्यो कष्टले त्यो हिजोको भक्तलाई दुख्दैन र उनै भन्न थाल्छ दुख्ने नदुख्ने त जुत्ता लाउनेले टुङ्गो लगाउनुपर्छ । अफगानिस्तानमा अपदस्थ राजालाई फेरि गद्दिमा विराजमान गराउने खोजिएको होइन र ? तर, राजाले नै मानेनन् । यो कुनै पुराणको पुरानो कथा होइन केही दशकमात्र अघिको जीवन्त घटना हो । यस्ता घट्ना यही भूगोलको ठाउँ–ठाउँमा नदोहोरिएका छैनन् । तसर्थ बासी शक्ति र बासी तत्व आफैँले निक्र्योल गर्नु बुद्धिमानी होला । फुलबाट निस्किएको कुखुराको चल्लो फुलभित्रै बरू आनन्द थियो भनेर फुटेको फुलभित्र प्रवेश गर्न सक्छ र ? तसर्थ यसो घोत्लिनु नराम्रो नहोला । गरौँ न एकपल्ट अभ्यास !
परिपक्वता बढ्दै गयो
एकथरी नेता विचारमा आधारित आलोचना र प्रत्यालोचनासँग औधी डराउँछन्, त्राहिमाम हुन्छन् । मैले बुझेसम्म विचारउपर आलोचना र प्रत्यालोचना प्रत्येक कम्युनिस्ट र स्वयम् कम्युनिस्ट पार्टीउपर पनि परिष्करण हो, बिग्रिएका वा बिग्रन आँटेका कलपुर्जाहरूको मर्मत हो र हो तन्दुरूस्त पाुर्न पनि । अझ यस्तो काम अब्बल रूपमा गर्न त आत्मालोचना उम्दा विधि हो, प्रक्रिया हो । तर, आजको नेपालमा गैरवामपन्थी पार्टी र नेता कार्यकर्ता पङ्क्तिमा यो प्रक्रिया प्रवेश नै गर्दैन । वामपन्थी फाँटमा भने अनिवार्य नै थियो म कम्युनिस्ट पार्टी प्रवेशको युगमा ¤ नेपाल कम्युनिष्ट पार्टी शैशव अवस्थामा नै थियो । तसर्थ पनि त्यत्तिबेलाका कम्युनिस्टहरूको प्रशिक्षणमा आत्मालोचना, आलोचना र प्रत्यालोचना आचरणको तहमा नै पथ्र्यो । मासिक २५ पैसा बुझाउनैपर्ने, दिनको कम्तीमा तीन घण्टा पढ्नैपर्ने, आफूलाई पार्टीले दिएको कामको विकल्प सोच्नैपर्ने, पार्टीको गोपनीयता राख्नैपर्ने जस्ता शर्तहरू सशक्त ढङ्गबाट पालना गर्नैपर्ने हुन्थ्यो । तर, यो उमेर त्यत्तिबेलाको वास्तविक स्थिति, आफूलाई मन नपरेका कुराको उग्रखण्डन, आक्रमण, प्रत्याक्रमण गर्न खोजिन्थ्यो । त्यस्ता अपरिपक्व कामको कहिलेकाहीँ आत्मालोचना गरिन्थ्यो । कति कुरा अरूले थाहा पाएको छैन भनी ढाटिन्थ्यो, ढाँट्न खोजिन्थ्यो । तर, पार्टीका विभिन्न स्रोतबाट प्रायः कार्यकर्ताको कमीकमजोरी, फट्याईँ, झुटा कुरा सरोकारवाला नेतृत्व तहलाई थाहा भइसक्ने रहेछ । तब परिन्थ्यो गालमा । दुई–चारपल्ट त्यसरी समातिएपछि ढाँट्न छोडियो, आत्मालोचना गर्ने बानी बस्यो । गल्ती पनि कम गर्न लागियो । परिपक्वता बढ्दै गयो ।
सर्वबोध्य प्रशिक्षण शिविर
यस्तो तीन बुँदे १) आत्मालोचना, २) आलोचना र ३) प्रत्यालोचना कतिको हुन्छ, कुन कुन तहमा हुन्छ वा हुँदैन, थाहा छैन । कम्युनिस्ट नामका धेरै पार्टी भएपछि यी विधिको कतिको कार्यान्वयन गरिन्छन्, थाहा छैन । यी प्रक्रियामा कति पनि शिथिलता आउनु हुँदैन । यो शिथिलता आयो भने पार्टी कुनै हालतमा पनि कम्युनिस्ट पार्टी रहन सक्दैन । अझै पनि हाम्रो समाजमा कलम घुमाउन सक्नेलाई सामान्यतः जान्ने–सुन्नेमा गणना गर्ने चलन बाँकी नै छ । त्यो गणना वस्तुतः ठीक होइन । समग्रमा कलम घुमाउन नसक्नेभन्दा कलम घुमाउन सक्ने बढी फटाहा हुने देखिन्छ । एउटा बेला थियो, जब प्रथम र दोस्रो विश्वयुद्ध भइरहेको हुन्थ्यो । ती लडाइँमा हजारौँ–हजार नेपाली युवा सामेल गरिन्थे । उनीहरू प्रायः विवाहित हुन्थे, ती लाहुरेहरूले यदाकदा आफ्नी श्रीमतीलाई पनि चिठी पठाउँथे । तर, गाउँमा साक्षर मान्छे नगण्य मात्र हुन्थे । त्यस्तो युग थियो त्यो । आफ्नो दुलाहाले पठाएको चिठी पनि आफूले पढ्न नजानेर अरूमार्फत सुन्नुपर्ने । कस्तो मर्मान्तक जमाना ¤ त्यो समाजमा हुर्केको मेरा लागि आलोचना र प्रत्यालोचना कहिल्यै अप्रिय भएनन् । पत्रिका छापिनु एउटा सुखद् कुरा त हो नै । त्यो भन्दा पनि पाठककहाँ समयमै पुग्नु अर्को महत्वपूर्ण कुरा हो । त्यो भन्दा महत्वपूर्ण पढ्नेले बुझ्नु हो । तसर्थ, सर्वबोध्य कसरी लेख्ने ? विषय गम्भीर, दर्शन, दर्शनमा परस्पर विरोधी दर्शनका मजबुनलाई दर्शन नपढेको सर्वसाधारणले बुझ्न सक्ने भाषाशैलीमा कसरी लेख्ने ? यो आजको चुनौती हो । श्रमिक र मजदुरले गम्भीर विषयलाई पनि सर्वबोध्य शैलीमा लेख्न सक्ने प्रशिक्षण पनि दिने कि ?
Leave a Reply