भर्खरै :

तःमुँज्या सहयोगीहरूको भेला

भक्तपुर, १६ असोज । इताछेँको नःपुखुमा हुने ३९ आँैं नेपालभाषा साहित्य तःमुँज्या तथा सांस्कृतिक कार्यक्रम आयोजक समितिको आयोजनामा स्वयम्सेवक तथा सहयोगीहरूको भेला एक कार्यक्रमबीच सम्पन्न भयो ।
भेलामा नेपालभाषा साहित्य तःमुँज्याका अध्यक्ष एवम् जनकवि चन्द्रबहादुर उलकले काम गरी खाने जनताले नै समाजको भाषा, कला, संस्कृति र सम्पदा संरक्षण गर्ने भएकोले यस वर्गको उत्थानको लागि तःमुँज्याको दबु प्रयोग गर्ने बताउनुभयो । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न स्वयम्सेवक र सहयोगीहरूको अहम् भूमिका रहने भएकोले तःमुँज्यामा दबु निर्माणका साथै त्यसको संरक्षण र व्यवस्थापनसमेत गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले कार्यक्रमले आयोजकलाई मौकाको रूपमा सदुपयोग गरी व्यक्तित्व विकासको अवसर हुने बताउनुभयो । नेमकिपाको सातौँ महाधिवेशनले देशभर छरिएर रहेका कार्यकर्ता तथा शुभचिन्तकहरूलाई नयाँ ऊर्जासहित सञ्चार गर्न सफल भएको र जनसहभागिताले पार्टी देश र जनताको हितमा काम गरिरहेको निर्विकल्प पार्टी प्रमाणित भएको बताउनुभयो ।
नेमकिपा भनसका पूर्वसंयोजक एवम् स्थानीय रवीन्द्र खर्बुजाले स्वयम्सेवकहरूको भूमिका, काम, कर्तव्य र निर्देशनहरू कसरी पालना गर्नुपर्छ भन्नेबारे चर्चा गर्नुभयो । भनपा वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले भनपाको प्राथमिकतामा शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणबाहेक सार्वजनिक सम्पति संरक्षण पनि रहेकोले सल्लाघारीको १०८ रोपनी जग्गा संरक्षण गरेको र भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापनमा सहयोग गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगर समितिका उपाध्यक्ष मञ्जु लाखाजूले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न महिला दिदीबहिनीहरूको अहम् भूमिका रहने भएकोले तःमुँज्या भव्यरूपमा सम्पन्न गर्न सहयोग हुने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष श्यामसुन्दर मातांको सभापतित्वमा सम्पन्न कार्यक्रममा सोही समितिका सचिव राजन जतिले तःमुँज्याको लागि हालसम्म गरेको गतिविधि र आगामी तयारीबारे जानकारी दिनुभएको थियो भने सदस्य पुण्यराम स्वंगमिखाले पनि बोल्नुभएको थियो । नेपालभाषा साहित्य तःमुँज्या तथा सांस्कृतिक ब्वज्याको ३९ औँ संस्करण यही असोज २३ र २४ गते इताछेँ नःपुखुमा हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *