भर्खरै :

बजारको अफर र उपहारमा नलोभिऔँ

नेपालीहरूको सबैभन्दा ठूलो मानिने चाड दसैँ सुरू भइसकेको छ । दसैँ, तिहार, छठलगायतका चाडपर्वले नेपालको अर्थ व्यवस्थालाई नै चलायमान बनाउने भएकाले यी चाडपर्वलाई आर्थिक हिसाबले विशेष महत्वका साथ लिने गरिन्छ । यही मौकामा व्यापारीले वर्षभरि नबिकेका चीजवस्तु बिकाउने र अभाव देखिएका वस्तुको भाउ बढाएर कालाबजारी पनि गर्ने गर्छन् । चाडबाड भन्ने बित्तिकै नयाँ लत्ताकपडा, घरायसी सरसामान खरिद, मीठो परिकार र पारिवारिक जमघटलाई बढी महत्व दिइन्छ । त्यसैले पनि चाडपर्व सुरू भएसँगै बजारमा चहलपहल ह्वात्तै बढ्ने गर्छ ।
यस्तै मौका छोपेर विभिन्न सेवा प्रदायक कम्पनी तथा बिक्री केन्द्रहरूले चाडबाड योजना सार्वजनिक गर्ने गर्छन् । नयाँ–नयाँ सामानको खरिद बिक्री बढी हुने भएकाले विशेष योजनासहित प्रतिस्पर्धात्मकरूपमा बजारमा आउने गर्छन् । विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीदेखि अटोमोबाइल कम्पनी, दूरसञ्चार कम्पनी, इलेक्ट्रोनिक्स ब्रान्डहरू, बैङ्क तथा गैरबैङ्किङ सेवा र व्यावसायिक घरानाहरूले पनि आआफ्नो अफर सार्वजनिक गरिसकेका छन् । चाडबाडको अवसर पारेर विभिन्न कम्पनी, व्यवसायहरू आफ्ना ग्राहकहरूका लागि विभिन्न छुट तथा अफरका योजनाहरू लिएर आएका छन् । दुइटा सामान किन्दा अर्को सामान सित्तैमा भन्ने होस् वा टेलिभिजन किन्दा मोबाइल सित्तैमा, सामान किन्दा उपहार पर्ने लक्की ड्र नै होस्, यी सबै ग्राहक लोभ्याउने व्यापारिक चालमात्र हुन् । आफूलाई अत्यावश्यक वस्तु किनौँ र आवश्यक सामान विचार गरेर लिऔंँ तर अनावश्यक सामान अफर र उपहारको लोभमा परेर नकिनौँ । चाडबाडको अवसरलाई व्यापारीले आफ्नो नाफा अनेकौं गुना बढाउने मौका बनाउने सोचसहित योजना अगाडि सारेको हुन्छ ।
मानिस सामाजिक प्राणी भएकोले सामाजिक रीतिरिवाजबाट अलग्ग भएर हिँड्न सक्दैन । समुदाय र समाजअनुसार चाडबाड मनाउनैपर्ने हुन्छ । तर चाडबाड मनाउने नाममा आफ्ना आवश्यकता र खल्ती नहेरी अफर र उपहारको पछाडि लाग्नु हुँदैन । तर्कभन्दा देखासिकीमा बढी ध्यान दिने मानिसहरू फजुल खर्चको प्रवृत्तिमा फस्ने र हन्डर खाने सम्भावना बढी हुन्छ । त्यस्ता मानिसहरू आफै पनि सुखी र सन्तुष्ट हुनसक्दैनन् भने परिवारलाई पनि सुख दिनसक्दैनन् । दसैँमा खसी ढाल्नैपर्छ भन्ने मानसिकताले विगतमा धेरै निम्न आय भएका जनता ऋणमा डुब्ने र प्रकारान्तरले घरबासै उठीबास हुने गरेको घटना सुनेका र देखेका छौँ ।
चाडबाडको अर्को विकृत पक्ष भनेका मादक पदार्थको प्रयोग र जुवातास पनि हो । जुन घरपरिवारमा घरमुली नै वा घरमा कमाउने मानिस मादक पदार्थ र जुवाको लटमा परेको हुन्छ, त्यस्ता परिवारका लागि दसैँ–तिहारजस्ता चाडबाड झन् ठूलो चिन्ताको अवधि हुने गर्छ । यस्ता चाडबाडको समयमा जुवा खेलेर ठूलठूलो रकममात्र होइन गर–गहना र घरखेतसमेत दाउमा राख्ने र राख्न लगाउने भुक्तभोगीहरू सुनाउँछन् । जुवा–तासमा भएको हारले ठूलो मानसिक कष्ट र आर्थिक तथा पारिवारिक समस्या निम्त्याउने हुन्छ । बरू टोल–छिमेक मिलेर सरसफाइ, छलफल गोष्ठी, अन्य खेलकुद आदि रचनात्मक क्रियाकलाप गर्नु उपयुक्त हुन्छ । त्यसबाट समुदायमा मेलमिलाप र सामूहिकताको विकासमा टेवा पुग्नेमात्र होइन, व्यक्ति, परिवार र समाजलाई नै हानी हुनबाट पनि जोगिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *