कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
– सुविज्ञा थापा
नेपाली समाज ज्येष्ठ नागरिकप्रति अनुदार बन्दै गएको छ । अनुभव र सीपका भण्डारको रूपमा रहेका ज्येष्ठ नागरिकहरूलाई समाजका गहनाका रूपमा स्वीकार्नुभन्दा सामाजिक भेदभाव, परिवारको अपमानजनक व्यवहार र एकाङ्की जीवन बिताउन बाध्य पारिँदै छ । ज्येष्ठ नागरिकमध्ये धेरैजसोले समाज र परिवारबाट सम्मान र संरक्षण पाउन सकेका छैनन् । बाबुआमाको सम्पत्तिमा गिद्देदृष्टि, छोराछोरी विदेशिनु, परिवारका सदस्यले ज्येष्ठ नागरिकको मनोदशा बुझ्न नसक्नु राज्यको उपेक्षालगायतका कारणले ज्येष्ठ नागरिकप्रति नेपाली समाज अनुदार र असहयोगी देखिएको हो । आधुनिकतासँगै अग्रजप्रति गर्नुपर्ने सामाजिक दायित्वसमेत खुम्चँदै गएको हो कि भन्ने गुनासो पनि बढ्दै गएको छ । निम्न, मध्यम र उच्च वर्गका ज्येष्ठ नागरिकको पीडा उस्तै भए तापनि बढ्दै गएको छ । गरिब परिवारका ज्येष्ठ नागरिकहरूको अवस्था अझै अभावग्रस्त र पीडादायी छन् । यी सबै वर्गका अधिकांश ज्येष्ठ नागरिकले परिवारबाट पाउने सम्मान पाउन सकेको छैन । ज्येष्ठ नागरिकलाई जति मात्रामा हेर्नुपर्ने हो त्यति हेर्न सकेको छैन । त्यसो त सरकार स्थानीय तहले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, बजेट विनियोजन गर्ने, परिचयपत्र वितरण, ज्येष्ठ नागरिक भत्ता र स्वास्थ्य भत्ता वितरण गर्नेजस्ता निर्णय भएका छन् । यसैगरी, ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, यातायात शुल्कमा छुटलगायतका सेवा प्रदान गर्ने निर्णय पनि राज्यले गरेको छ । तर, समाज नै ज्येष्ठ नागरिकप्रति अनुदार भएकोले राज्यले निर्णय र व्यवस्था गरेका छुट र सुविधा निमुखा ज्येष्ठ नागरिकहरूले पाइरहेका छैनन् । फेरि राज्य तहबाट निर्णय भएका सेवा, सुविधा पर्याप्त पनि छैन ।
ज्येष्ठ नागरिकहरू विभिन्न क्षेत्रका अनुभव, ज्ञान र सीपका धनी छन् । नयाँ पुस्ताले उहाँहरूका ज्ञान, सीप र अनुभव सुनेर नयाँ योजनासाथ काम गरेमा सफलता हासिल गर्न समय लाग्ने छैन । ज्येष्ठ नागरिकहरूलाई उचित आदर र हेरचाहसहित परिवारले नै पालनपोषण गर्नुपर्छ । परिवार नभएका, परिवारबाट हेला गरेर त्यागिएका र विभेदमा पारिएका ज्येष्ठ नागरिकको सबै दायित्व राज्यले ग्रहण गर्नुपर्छ । त्यसको निम्ति राज्यले नै सबै स्थानीय तहहरूमा अविलम्ब आदर निकेतनको व्यवस्था गर्नुपर्छ ।
Leave a Reply