भर्खरै :

के भक्तपुरमा ट्राफिक नियम लागू हुँदैन ?

– संविदा अनुरागी, भक्तपुर
हामी भक्तपुरका विद्यार्थीहरूले पनि राजधानी काठमाडौँ र देशभरका विद्यार्थीले पढ्ने पाठ्यपुस्तक अध्ययन गर्दै आएका छौँ । हामीले हेर्ने टेलिभिजन च्यानल र रेडियो पनि भिन्न होइनन् । हामीले फुटपाथबाट हिँड्नुपर्छ र जेब्रा क्रसिङ्गबाट मात्र बाटो काट्नुपर्छ भन्ने शिक्षा प्रयोग गर्न पाइरहेका छैनौँ । भक्तपुर नगरभित्रका सडकमा त सडक र फुटपाथ उही नै हो हामीलाई कुनै गुनासो पनि छैन । तर, भक्तपुर नगरको चक्रपथ भनिएको सडक, चाँगुनारायण नगरपालिकाका सडकहरूमा खोइ व्यवस्थित फुटपाथ ? भक्तपुर नगरमा कतै कतै फुटपाथ बनाइएका त छन् तर त्यसलाई पसल चलाइरहेकाहरूले सामान प्रदर्शनीस्थल नै बनाएका छन् भने तरकारी र फलफूल पसलेहरू पनि फुटपाथ ढाकेरै बसेका छन् ।
जेब्रा क्रसिङ्ग बनाइएका केही स्थानमा नै बस र अरू गाडीहरू स्टपको रूपमा रोक्ने गरिरहेका छन् । बाटो काट्ने पैदल यात्रुहरू मोटर नआएका बेला र कतिपय बेला मोटरहरू रोकिएका बेला चेपचेपबाट बाटो काट्ने गर्छन् । जथाभावी बाटो काट्दा दुर्घटना हुने सम्भावना बढेको छ । जथाभावी बाटो काट्ने प्रवृत्ति रोक्न सडकको किनारामा अग्ला सडक बार लगाउनु जरुरी भइसकेको छ । फेरि भक्तपुर नगरको चक्रपथ भनिएको सडक नकाटी अधिकांश विद्यार्थी आफ्ना विद्यालय जान सक्दैनन् । कतै सडकमा लेनको मार्किङ्ग नै छैन भने लेन मार्किङ्ग भएको सडकमा लेन अनुशासन बरोबर उल्लङ्घन भएको देखिरहेका छौँ ।
के भक्तपुरमा ट्राफिक नियम लागू हुँदैन ? ट्राफिक प्रहरी मापसे र लाइसेन्स जाँचमा भन्दा अन्त देखिएको छैन । भक्तपुरमा ट्राफिक लाइटको नमुना हेर्न पनि सल्लाघारी नै पुग्नुपर्छ । सुरक्षित सडकको लागि पूर्वाधार निर्माणमा स्थानीय तहको ध्यान किन नगएको होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *