भर्खरै :

स्वयम्सेवकलाई धन्यवादज्ञापन

भक्तपुर, १७ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनमा सहयोग गर्ने स्वयम् सेवकहरूलाई धन्यवाद तथा शुभकामना आदान–प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पार्टी विश्वविद्यालय र महाधिवेशन एक राजनीतिक कक्षा भएको चर्चा गर्दै सातौँ महाधिवेशनमा पार्टीले आफ्नो विचार, दर्शन र सिद्धान्तलाई विशेष जोड दिएको बताउनुभयो ।
शासक दलहरूको अकर्मण्यताका कारण देशको सार्वभौमिकता खतरामा परेको चर्चा गर्दै उहाँले भन्नुभयो, “संरा अमेरिकाले क्युवा र प्रजग कोरियामाथि लगाएको नाकाबन्दीलाई नेपालले समर्थन गर्नुपर्छ, दलाई लामाका समर्थकहरूलाई नेपाल हुँदै भारत पस्न दिनुपर्ने सर्तमा ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ ले नेपाललाई रू. ५६ अर्ब सहयोग गर्ने वाचा प्रतिगामी कदम हो ।”
नेपाल–भारत सीमामा बनेका तटबन्ध र बाँधकै कारण बर्सेनि नेपाली भूमि डुबानमा परेकाले ती तटबन्ध र बाँधहरू भत्काउनुपर्नेमा उल्टै तिनको मर्मत गर्ने जिम्मा भारतलाई दिनु शासक दलहरूको भारतप्रतिको आत्मसमर्पण हो, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले पार्टीका सम्पूर्ण कार्यकर्ताहरूको मेहनतले महाधिवेशनको ¥याली तथा उद्घाटन सभा भव्य भएको उल्लेख गर्नुभयो ।
नेमकिपा भजिसका पाण्डव सुवालले पार्टीले सधैँ कामदार वर्गको जनजीविकासँग सम्बन्धित समस्याहरूको बारेमा आवाज उठाउँदै आएको बताउनुभयो ।
नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा भएको कार्यक्रममा विनोदचरण राय, रत्ना चवाल र हरिसुन्दर सुवालले पनि बोल्नुभएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *