नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
क्रिश्चिना
दसैँ आयो, देशको आर्थिक गतिविधिले गति लियो । यसकारण १२ असोजको ‘अन्नपूर्ण पोष्ट’ ले लेख्यो– ‘८ खर्बको दसैँ’ ‘जे छोयो त्यही महँगो’ । सम्पादकीयमा लेख्यो ‘बजारमा खोइ सरकार ?’
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान ओली सरकारलाई ‘इतिहासकै असफल सरकार’ बताए (अन्नपूर्ण पोष्ट, १२ असोज २०७६) । तर, विश्लेषकहरू बताउँछन्, ओलीको यो सरकार नेपाली काङ्गे्रस सरकारकै पदचिह्नमा छ । यसकारण वर्तमान सरकारलाई आलोचना गर्नुभन्दा पहिले नेपाली काङ्ग्रेसका सरकारहरूको आत्म–समीक्षा गर्नु उपयुक्त छ ।
नेकपाको ‘सी प्रेम’ ‘भू–राजनीतिक भुमरीमा नेपाल’ शीर्षकबारे विष्णु सुवेदीको मत छ, “चीनको राजनैतिक प्रणालीप्रति नेपाल कम्युनिस्ट पार्टीमा अँकुराएको प्रेमको उसको राजनीतिक निष्ठा र यात्रामाथि पनि विभिन्न आशङ्का उब्जिएका छन् ।”
उनी भन्छन्, “नेकपाले ‘सी पथ’ प्रति देखाएको सामीप्यले मुलुकको राजनीतिलाई मात्र तरङ्गित गरेको छैन, यसले भू–राजनीति र विश्वशक्ति समीकरणमा समेत छलफल ल्याएको छ ।”
आश्चर्य, एक समयमा एक छिमेकी देशले अर्को छिमेकी देशका सरकार विरोधीहरूलाई सशस्त्र तालिम दिँदा र हतियारसमेत मद्दत गरेर १० वर्ष तालिम दिई मित्र देशमा आतङ्क मच्चाउँदा ‘आशङ्का’ र ‘हलचल’ नल्याउने, बोलाइएको एक प्रतिनिधि मण्डलले मित्र देशको राजनैतिक विचारबारे जानकारी दिँदा ‘भुमरी’ देख्ने कस्तो पूर्वाग्रह र दुराग्रहयुक्त मनोविज्ञान हो ?
नेपालमा जवाहरलाल नेहरूको ‘छोरीलाई पिताको चिठी’, ‘विश्वका इतिहासका एक झल्को’ आदि पुस्तकहरू विद्यालयहरूमा पढाइन्थ्यो । त्यसबेला कहिले यस्तो ‘भुमरी’ र हल्लीखल्ली मचेन किन ? भारतीय नेता र लेखकहरूका पुस्तकहरू नेपाली पाठक र प्राज्ञहरू सुरुदेखि नै पढ्दथे– त्यो जमानामा ।
चतुर्सेन शास्त्रीको ‘धर्मको नाममा’, राहुल सांकृत्यायनको ‘राम राज्य’, मदनमोहन मालवीयको ‘आँखाले देखेको केराला’, राहुलकै माक्र्स–एँगेल्सको जीवनी, लेनिन, स्तालिन र माओ त्सेतुङ्गको हिन्दीमा लेखिएका हजारौँ पुस्तकहरू काठमाडौँदेखि विराटनगर र नेपालगञ्जसम्म पठाइँदा हुरीबतास नेपालमा कहिले आएन ।
नेपालमा गान्धी महात्मा र विनोवा भावेलाई मानिसहरू सम्मान गर्छन् । त्यस्तै ‘गान्धीवादको शव परीक्षा’, ‘गान्धी र उनको वाद’ जस्ता पुस्तकहरू पनि पढिन्थ्यो नेपालमा । त्यसको पनि कहिले कसैले गुनासो गरेनन् । साथै अब्दुल कलाम आजादको ‘मध्यरातमा भारतको स्वतन्त्रता’ सम्भवतः नेपाली भाषामा उल्था पनि भइसकेको छ । त्यस पुस्तकमा भारत र पाकिस्तान छुट्टिनु र हिन्दू–मुसलमानको भेदभावबारे गान्धी, नेहरू र अरू नेताहरूलाई दोषी बनाइएको छ । त्यसबारे पनि कहिले कसैले भुइँचालो आएको गुनासो गरेनन् ।
२००८ मै भारतीय गुप्तचर विभागले ‘प्रगतिशील कम्युनिस्ट पार्टी’ को नाममा जनकपुरमा पर्चा छर्दा एक भारतीय पक्राउ प¥यो र ६ महिनापछि भारतीय दूतावासले आफ्नो मानिस भनी भद्रगोल जेलबाट छुटाएर लग्यो । तर, त्यसबेला जनता र बुद्धिजीवीमा न हुरी आयो र न सुनामी !
अफगानिस्तानको आन्तरिक राजनैतिक कारणले काबुलमा कम्युनिस्ट पार्टीको सरकार आयो । संरा अमेरिकाले असहिष्णु हुँदै मुसलमान कट्टरवादी देशहरूसँग मिलेर सशस्त्र उपद्रव गरायो । त्यसबेला एक नेपाली सम–सामयिक पत्रिका ‘मजदुर–किसान’ ले लेख्यो, ‘अफगानिस्तान रुसको भियतनाम बन्ने छ ।’ आखिर अफगानिस्तानी कम्युनिस्ट सरकार बचाउन खोज्ने रुसको आफ्नो हातमा आगो लाग्यो । संरा अमेरिकाले चलाउन दिएको त्यो अशिष्टताको आजसम्म फर्केको छैन । साथै इराक, लिविया र सिरियामा पनि आतङ्क मच्चाई ती देशलाई ध्वस्त बनाउन संरा अमेरिका नै जिम्मेवार छ ।
विष्णु सुवेदीले निर्वाचनको विजयपश्चात् ओली, ईश्वर पोखरेल र विष्णु पौडेल तीनवटा हेलिकप्टरबाट रसुवागढी र टिमुरे सीमा पुगेर कूटनीतिक सम्बन्ध हल्लाएको चर्चा गरे । साथै उनले त्यस टिमुरे ‘ट्रीप’ लाई ‘उताउलो शैली’, ‘सी पथको प्रशिक्षण’ लाई ‘कम्युनिस्ट भाइचाराको विस्तार’ बताए ।
नेपाली वामपन्थी राजनीति बुझ्नेहरूलाई थाहा छ, कार्ल माक्र्सको दुई शतवार्षिकको अवसरमा एमाले र एमाओवादीको माक्र्सवादबारेको प्रशिक्षण कार्यक्रममा नेकाका नेता प्रदीप गिरी प्रशिक्षण दिन पुगेका थिए । यसले थाहा हुन्छ नेपाली ‘कम्युनिस्टहरू’ ‘उताउलोपन’, ‘स्कूलगुण्डेपन’ ‘रिभोल्युसनरी रोमान्टिसिज्म’ बाट पीडित छन् ।
टिमुरे र रसुवागढीको आकस्मिक यात्राको तुलना भारतका तत्कालीन रक्षामन्त्री जार्ज फर्नान्डिज खासा पुगेका थिए । यस्तो विषय अमेरिकी राजदूत ¥यान्डी बेरीलाई कसले बताउने ?
नेपाली शासक दलका नेताहरू भारतसँगको सम्बन्धमा कुनै प्रोटोकल आवश्यक ठान्दैनन् । उतै पढेका र उतै उठबस गरेका, मानाँै मामा भाञ्जाको सम्बन्धका नेताहरूलाई काठमाडौँ र विराटनगरको आवत–जावतभन्दा दिल्ली र काठमाडौँको आवत–जावत बढी स्वाभाविक लाग्छ । कसैले त्यसैलाई ‘रोटी–बेटीको सम्बन्ध’ भन्दै आफ्नै देशविरुद्ध नाकाबन्दी कडाइ गर्न र गराउन पुग्छन् !
तर, छिमेकीहरूसँगको सन्तुलित कूटनीति र संरा अमेरिकातिर ढल्केको कूटनीतिको कारण नेकाको आर्थिक कूटनीतिजस्तो कच्चा खेल अरु हुनैसक्दैन । नेपालका दलहरूका प्रतिनिधिहरूको चीन भ्रमण र चिनियाँ प्रतिनिधिमण्डलहरूको नेपाल भ्रमणको बेला नेका नेता र तिनीहरू कार्यकर्ताहरूको व्यवहार गम्भीर नभएको जानकारहरू बताउँछन् र पुरानै मानसिकताका शिकार छन् ।
आज कूटनैतिक क्षेत्रमा चीनको सफलताबारे गम्भीर ढङ्गले अध्ययन गरिरहेका विश्लेषकहरूको आँखामा नेकाका नेताहरू पूरै पश्चिमापरस्त र कन्जरभेटिभ् देखिन्छन् । तर, प्रस्ट वक्ताहरूको आँखामा वर्तमान नेकाको नेतृत्व चीनबारे पूरै पूर्वाग्रही र दुुराग्रही छ । बी.पी. कोइरालाको चीन भ्रमणबारे स्मरण गर्दा वर्तमान काङ्ग्रेसी नेताहरूमा बी.पी. को गुणको शतांश पनि छैन भन्ने प्रस्ट हुन्छ ।
आफूले गरेको केन्द्रीय समितिकै सदस्यहरू चीन भ्रमणबारे एक शब्द बोल्दैनन्, कुनै प्रतिक्रिया दिँदैनन्, जब कि संसारका अनेक देशका बुद्धिजीवी, कूटनैटिक व्यक्ति र राजनैतिक कार्यकर्ताहरू आ–आफ्ना रायहरू प्रकट गर्छन् । कस्तो राजनैतिक स्तर ?
संरा अमेरिकाको मिचिगन– चीन अनुसन्धान केन्द्रका सल्लाहकार टम वाट्किन्सले लेखे, “औद्योगिक क्रान्तिको समयमा पश्चिमा देशमा पनि भ्रष्टाचार व्यापक थियो । भ्रष्टाचारको मामलामा संरा अमेरिकामात्र हिउँजस्तो चोखो भने छैन । ‘द एज अफ क्यापिटलः १८४८–१८७५’ नामको आफ्नो पुस्तकमा इरिक होबस्वानले संरा अमेरिकालाई “संसारकै सबभन्दा कानुन नभएको व्यापक भ्रष्टाचारको देश” भनी लेखेका छन् । (पेचिङ रिभ्यु– श्रमिक साप्ताहिक– १४ असोज २०७६)
Leave a Reply