भर्खरै :

दसँै संस्कृति भाइचारा बढाउने चाड

प्रेम के निडर
नेवार जाति संस्कृतिप्रधान जाति हो । जन्मेदेखि मरण उपरान्तसम्म आफ्नै किसिमको संस्कार र संस्कृति भएको जाति हो । पौराणिककालदेखि चल्दै आएको संस्कार, संस्कृतिहरू छोडन नसकेको कारण उनीहरू विभिन्न समयमा नखः चखःको रूपमा जात्रापर्व तथा चाडबाड मनाउँदै आइरहेको पाउछौँ ।
नेवारहरूको नखः चखः अथवा चाडबाड प्राचीन र मध्यकालदेखि मनाउँदै आइरहेको भए पनि आफ्नै महत्व र विशेषता छ । मानवीय जीवनमा दुःख गर्नेमात्र होइन, आनन्द र रमाइलो पनि आवश्यक छ भन्ने तथ्यलाई ध्यानमा राखेर नै होला कतिपय नखःचखः जात्रापर्वको रूपमा बिस्केट जात्रा, भोटो देखाउने जात्रा, इन्द्र जात्रा मनाएर रमाइलो गरिरहेको हुन्छ भने कतिपय मौसमअनुसार खानपान अर्थात् मासको बारा र मुंगको बारा बनाएर खाने सिथि नखः, नौथरी अन्नगेडा मिलाएर क्वाति खाने गुन्हिपुन्हि, योमरी खाने योमरी पुन्हि , घ्यु चाकु खाने माघे सङ्क्रान्ति आदि चाडबाडहरू छन । मौसमअनुसार चाडबाड मानेर खाने यी खानपानले शरीरलाई हृस्तपुस्त र बलियो बनाउने संस्कृतिविज्ञहरू बताउँछन् ।
नेवारहरू दसैँलाई पनि एक प्रमुख चाड अथवा नखःको रूपमा मान्छन् । मोहनी नखःको रूपमा मान्ने यो चाड नेवारहरूको मौलिक नखः अथवा चाडजस्तो पनि देखिन्छ । यो चाड आश्विन शुक्ल प्रतिपदामा भगवती माताको अति मन पर्ने जमरा राखी विधिवतरूपमा मनाइन्छ । नवमीसम्म जम्मा नौ दिन भगवतीका विभिन्न रूपलाई पूजा आराधना गर्दै मनाइने यस मोहनी नखःमा भक्तजनहरूले अष्टमीका दिन महामाया भगवतीको साधना गरेर विशेष पूजा गर्ने गर्छन् । सिन्दुर रङ्गको टीका शक्तिको प्रतीकको रूपमा लिने गरिन्छ । भगवती माताले जस्तै शत्रुलाई नास गर्नसक्ने क्षमता देओस् भनी आशिष दिने गरिन्छ । त्यसपछि जहान परिवार सबै लाइनमा बसेर कुछि भ्वय खाने गरिन्छ । कुछि भ्वय भनेको कुलको भ्वय अर्थात् भोज हो । पूजा आराधना गर्दै परिवारका सबै सदस्यहरूसँगै बसेर खाने विशेष परम्परा भएकोले यसलाई नेवारहरू आफ्नो मौलिक नखःको रूपमा पनि लिने गरिन्छ ।
नेवार जाति कुछि भ्वयलाई विशेष दिनको रूपमा लिने गर्दछन् । कुछि भ्वयमा दुई माना चिउरा राखेर भोज खाने परम्परा छ । देउतालाई चढाउने र पितृहरूलाई राख्ने भागमा दुई माना नै चिउरा राख्ने गरे पनि परिवार मिलेर खाने भागमा दुई माना राखिँदैन । तैपनि त्यस कुछि भ्वयमा फलफूलमा केरा, अम्बा, सुन्तला, अदुवा, लसुन र खयपि चयपि भनेर फर्सीका ससाना टुक्रासमेत गरेर बा¥ह परिकारका खानेकुरा केराको पातमा राखेर खाने गरिन्छ । केराको पातमा बाहिरी किटाणु प्रवेश गर्न नसक्ने र खानेकुरा शुद्ध पार्ने गुण हुन्छ भन्ने मान्यता छ । केराको पात जतिसुकै खडेरी परे पनि हरियो नै हुन्छ भनिन्छ । संस्कृतिविज्ञहरूका अनुसार खाद्य वस्तुको सेवन गरे अर्थात् वस्तुको गुण धर्मको जानकारी राख्दै खाने गरे जस्तोसुकै चिज खाए पनि पचाउन सकिन्छ भनेर दसैँको कुछि भ्वयको संस्कारबाट थाहा पाउन सकिन्छ । संस्कृतिविज्ञहरू भन्ने गर्छन्, राजाले सुनको थालमा भोज र चाँदीको बतुकमा जाँड खान नसक्ने हो र ? त्यही वस्तुको गुण धर्मको जानकारी भएर नै केराको पातमा र माटोको सलिचामा राखेर जाँड खाइन्छ ।
नेवार जातिले दसैँ मोहनी नखः आफ्नै विशेषताका आधारमा मनाउने चाड हो । आफनो पेशा र व्यापार व्यवसायमा प्रयोग हुने सामानहरूको पूजा गर्ने परिपाटीलाई पनि नेवारहरूको विशेषताका रूपमा लिन सकिन्छ । नवमीको दिनमा गणेश, अष्टमातृकामध्ये आफ्नो घरबाट नजिक कुन देवी छन् त्यसलाई पूजा गर्दै र ढुकुटीमा लक्ष्मीको पूजा गरिन्छ । महालक्ष्मी र दुर्गा भवानीले नै महिषासुरलाई बध गरेको भएर महालक्ष्मी र दुर्गालाई दसैँमा बढी मान्ने गरेको हो । देवीहरूको पूजा सकेपछि आफ्नो कुल धर्मअनुसार आफ्नो पेशा र व्यापार व्यवसायमा प्रयोग हुने सामानहरूको विधिवत पूजा गर्ने र बलि चढाउने गर्दछन् । माटोको पाल्चा अर्थात् सलिचामा दियो जलाएर त्यसमाथि अर्को सलिचा राखेर मोहनी अर्थात् कालो टीका बनाउने गरिन्छ । त्यस कालो टीकालाई मोहनी भनिन्छ । त्यसरी तान्त्रिक विधिअनुसार आफ्नो व्यापार व्यवसायमा प्रयोग हुने सामानमा पूजा गरी कालो टीका लगाएर भोज खाने भएकोले नै मोहनी नखः भन्ने गरिएको धारणा छ ।
दसैँमा हिन्दू सबैले अष्टमातृका देवीहरूलाई मान्ने भए पनि नेवारहरू आफ्नै परम्पराअनुसार मान्छन् । घटस्थापनाको दिनमा विधिपूर्वक भगवतीको साधना गरी जमरा राख्ने परम्पराबाहेक नेवारहरूले मोहनी नखः को रूपमा मनाउने परम्परा र अन्य जातिहरूले विजया दशमी भनेर मनाउने परम्परामा फरक छ । अन्य जातिहरूले दसैँको दस दिनसम्म शक्तिको उपासना गरेर दशमीको दिनमा टीका लगाई जमराको प्रसाद दिई आफ्ना परिवार र नातागोतालाई आशिष दिई रमाइलो गरी मनाउने गरेको पाइन्छ । नेवारहरू नवमीको दिनमा सामानहरूका साथै ढुकुटीका लक्ष्मीलाई विधिपूर्वक पूजा गर्दै चालं (समापन विधि ) नहुनेले त्यही दिनमा समापन गर्दै दसैँ गच्छेअनुसार मान्छन् भने चालं हुनेले दशमीको दिनमा पूजाको समापन गरेर आफ्ना जहान परिवारलाई प्रसाद दिएर भोज खाई नखः समापन गर्छन् ।
मोहनी नखः अर्थात् दसैँ शक्ति साधना गरेर मान्ने नखः अर्थात् चाड हो । साधना भनेको एउटा सङ्कल्प हो । मन, प्रण र विचारलाई साधना गरेर त्यही साधनाको बलले ती तिनै रुप ( मन, प्रण र विचार ) लाई एउटै रूप बनाउन सक्यो भने शरीरमा एक किसिमको ऊर्जा प्राप्त हुन्छ । जसले जस्तोसुकै काम पनि सिद्धि प्राप्त गर्नसक्छ भन्ने विश्वास लिई मनाउने चाड हो । रामचन्द्रले समुद्रको छेउमा बसेर नवरात्रीमा भगवतीको आराधना गरेर दशमीमा रावणसँग युद्धको लागि गएको लेखिएको छ भने दैत्यहरूसँग युद्ध गर्न देवलोकमा ब्रह्माले भगवतीको आराधना गरी चण्डी भगवतीको रूपमा चन्द्रासुर दैत्यलाई बध गरेको मर्कण्डे पुराणमा उल्लेख छ । त्यस्तै अर्जुन कृष्ण र देवराज इन्द्रले पनि भगवतीको आराधना गरेको उल्लेख छ । यसरी आश्विन शुक्ल प्रतिपदाको दिनमा विधिपूर्वक पूजा गरी जमरा राखी नवदुर्गाको प्रथम रुप भवानी शैलपुत्रीको विधिवत् आराधना गर्नु नै साधनाको सुरुवात हो ।
दसँै नेपालीहरूको महान चाड हो । यो चाडले आफ्ना दाजुभाइ, नातागोता र परिवार सबैलाई एक ठाउँमा ल्याउने हुन्छ । वर्षको एकचोटि भए पनि बाहिर बसेका जहान परिवार छ भने एकै ठाउँमा जम्मा भई हर्ष र उत्साह मनाई खाने चाड हो । एक संस्कृतिविज्ञ भन्नुहुन्छ, नेवारहरूको कुछि भ्वयमा बाह्र परिकारका खानेकुरा राखेर खाने चलन छ । सबै चिज आफूसँग नहुने भएपछि बोलचाल बन्द भएका छिमेकी कहाँ गएर पनि माग्नुपर्ने हुन्छ । नबोली सुखै पाउँदैन । अतः दसँैमा बोलचालको वातावरण हुन्छ भनिएको छ । अतः दसँै नेपालीहरूको भाइचारा बढाउने चाडको रूपमा लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *