भर्खरै :

सक्वको म राजदास– ३

 ई. राजदास श्रेष्ठ
पञ्चायत व्यवस्थामा साँखुका मेरै घर छिमेकी टोलवासी जोगमेहर श्रेष्ठको ठूलो भूमिका र योगदान थियो । उहाँले आफ्नो सारा जीवन राजतन्त्रअन्तर्गतको राजनीतिमा बिताउनुभयो । राजा महेन्द्रको पालादेखि राजा वीरेन्द्र र नेपाली राजतन्त्रको अन्तिमतिरका राजा ज्ञानेन्द्र शाहसम्मको शासनमा पनि मन्त्री पद खानुभयो । उहाँको प्रभावले गर्दा साँखुमा पञ्चायत व्यवस्था र राजतन्त्रको जरा भित्रसम्म गाडेको थियो । साँखुभरि टोल–टोलमा पञ्च र प्रधानपञ्चहरूको बिगबिगी थियो त्यसबेला । तर, पनि साँखुमा भित्र–भित्र कम्युनिस्ट विचारधाराले आफ्नो जग बनाउँदै ल्याएको थियो । विशेष गरेर बुद्धिजीवी र युवा विद्यार्थी वर्गबीच कम्युनिस्ट सिद्धान्तको क्रान्तिकारी जमात निस्कँदै थियो । राजनीतिक क्षेत्रमा भन्दा बढी साहित्यिक क्षेत्रमा कम्युनिस्ट विचारहरू फस्टाउँदै थियो । त्योभन्दा पनि बढी सांस्कृतिक क्षेत्रमा पञ्चायत र राजतन्त्रको विरोधमा आवाज बुलन्द हुँदै गयो । ठाउँ–ठाउँमा राजतन्त्रविरोधी भावना बोकेर सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू बढ्दै गए । कम्युनिस्ट विचारधारा बोक्दै गरिब तथा शोषित किसानको हक हितको पक्षमा साहित्य सृजना हुनथाल्यो साँखुको हावापानीमा । देशका शोषित पीडित जनताको पक्ष र शोषकहरूको विरोधमा उत्कृष्ट साहित्य रचना गर्नमा सबभन्दा अगाडि पर्नुभयो साँखुकै एक सुपुत्र महाकवि गिरिजाप्रसाद जोशी । उहाँ एक सशक्त साहित्यकार (कवि, उपन्यासकार, कथाकार, गीतकार, नाटककार र समालोचक) हुनुहुन्थ्यो । उहाँले धेरै वर्ष विभिन्न विद्यालयहरूमा शिक्षक भएर काम गर्नुभयो । थोरै समय (एक दुई वर्ष) म पनि उहाँको विद्यार्थी हुने सुअवसर पाएको थिएँ । म आठ वर्षको हुँदा मलाई उहाँ भन्नुहुन्थ्यो, “राजा कविता लेख्नुपर्छ ।” मैले त्यस उमेरमा ‘मेरी आमा र धानको बाला’ कविता लेखेर देखाएँ उहाँलाई । कार्तिक मंसिर महिनाको समय थियो, साँखुमा फाँटका फाँट पहेँलो धानको बाला झुलिरहेको थियो । त्यही समयलाई सम्झेर मैले आठ लाइनको कविता कोरेको थिएँ उहाँको आज्ञा पालन गरेर । “तसकं बांला राजा” भनेर उहाँले मलाई फुर्फु¥याउनुभयो । त्यसबेलादेखि आजसम्म उहाँलाई मैले आफ्नो अन्तरहृदयदेखि एक सच्चा गुरुको रूपमा लिइरहेको छु ।
साँखुमा मात्र होइन अझ बढी उहाँ काठमाडौँमा चर्चित हुनुभयो । ‘नेपालभाषा साहित्य’ जगतमा उहाँको साहित्य स्वच्छन्दवादी भयो भनेर धेरै आलोचना पनि भयो । तर, उहाँ कहिले पनि विचलित हुनुभएन । उहाँ निरन्तर लाग्नुभयो । प्रत्यक्षरूपमा उहाँ कुनै राजनीतिक पार्टीमा नलागे पनि साहित्य रचनाले उहाँ एक कम्युनिस्ट विचारक हो भन्ने पुष्टि गरिदियो । साँखुमा धेरै युवा विद्यार्थी उहाँको विचारधाराबाट प्रभावित भएर क्रान्तिकारी बने । एकातिर महाकवि गिरिजाप्रसादको विचारधाराबाट क्रान्तिकारी समाज हुर्कँदै थियो भने अर्कोतिर कमरेड पुष्पलालको राजनीतिक विचारधाराले जग बसाल्दै गयो । काठमाडौँबाट माणिकलालसहितका विद्वानहरू बेलाबखत साँखुमा आएर प्रशिक्षण कार्यहरू सञ्चालन गर्दै हुनुहुन्थ्यो ।
साँखु एक सानो गाउँ–सहर भए पनि पञ्चायती राजतन्त्रको विरोधमा कम्युनिस्टहरू बढ्न थालेपछि पञ्चायती शासकहरू तिरमिराउन थाले र दमन गर्नथाले । ठाउँ–ठाउँमा बेलाबखत झडपहरू हुनथाले र प्र्रगतिशील विचारधारा बोकेका साहित्यिक तथा सांस्कृतिक कार्यस्थलहरूमा प्रत्यक्ष आक्रमण हुनथाले । गल्ली–गल्लीमा पञ्चायत समर्थक स्थानीय नेता तथा कार्यकर्ताहरूबाट साङ्घातिक आक्रमण भइरहे पनि कम्युनिस्ट समर्थक विद्यार्थी तथा साहित्यकारहरूको सङ्घर्ष अगाडि बढ्दै गयो र २०३६ तिर सङ्घर्षले उग्ररूप लियो । यसमा एक स्थानीय युवाको हत्या पनि भयो । त्यही हत्याको निहुँमा साँखु सहरभित्र ठूलो दमन र आतङ्क मच्चियो । त्यसमा साहित्यकार महाकवि गिरिजाप्रसाद जोशी पनि पर्नुभयो । जेलभित्र लगेर अन्यसहित उहाँहरूलाई निर्मम यातना दिइयो । सायद यसैकारण महाकवि गिरिजाप्रसादको ४९ वर्षको अल्यायुमै निधन भयो र नेपालभाषा साहित्य जगतले एक अपूरणीय क्षति व्यहोर्नुप¥यो ।
साँखुमा यसरी पञ्चायती पक्ष र विपक्षको सङ्घर्ष चलिरहँदा म काठमाडौँमा स्कूल जीवन बिताउँदै थिएँ । कम्युनिस्ट विचारधारामा प्रवाहित हुँदै विरोधसभा र जुलुसमा भाग लिँदै थिएँ । काठमाडौँमा पनि कम्युनिस्ट विचारधाराले मजबुत जग बसाल्दै गर्दा धेरै सुनिने कम्युनिस्ट नामहरूमा आउँथ्यो पहिलो स्थानमा कमरेड ‘रोहित’ । प्रत्येक पत्र–पत्रिकाहरूमा ‘रोहित’ को नाम छापिएको हुन्थ्यो । त्यसबेला त्यतिकै प्रचलित अर्को नाम थियो ‘निर्मल लामा’ । निर्मल लामा पनि एक मनपर्ने नाम थियो । कम्युनिस्टभित्र काठमाडौँमा मलाई धेरै मनपथ्र्यो यी ‘रोहित’ र ‘निर्मल लामा’ ।
एक दिन मेरा कलेजका एकजना साथीले सुनाउनुभयो कि निर्मल लामालाई त्रिभुवन विमानस्थलमा प्लेनबाट ओर्लने बित्तिकै निर्घातरूपमा पिटे पञ्चायतका हिमायतीहरूले । यो कुरा सुनेदेखि निर्मल लामाप्रति मेरो श्रद्धा झन् बढ्यो त्यसबेलाको कन्गोको कम्युनिस्ट राष्ट्रपति महामहिम पात्रीसा लुमुम्बालाई त्यस्तै गरी विमानस्थलमा प्लेनबाट ओर्लिँदै गर्दा साङ्घातिक आक्रमण गरी अमेरिकी साम्राज्यवादका सी.आई.ए. एजेन्टहरूले निर्मम हत्या गरेको सुन्दा मलाई धेरै चोटलागेको थियो । यस्तै तरिकाले दक्षिण अमेरिकी देश चिल्लीका समाजवादी राष्ट्रपति साल्भाडोर अलेन्डालाई पनि अमेरिकी एजेन्टहरूको इसारामा हत्या गरी प्रतिक्रियावादी सैनिक शासक ‘पिनाध्यो’ लाई चिल्लीको राष्ट्रपति बनाइएको थियो । साम्राज्यवादी राज्यका एजेन्टहरूले सच्चा नेताहरूको छानी छानी हत्या गरिरहेको कुरा सुन्दा ममा कम्युनिस्ट विचारधाराले झन् झन् गहिरो छाप पार्दै लग्यो र स्कूल जीवन सकाएर कलेजमा प्रवेश गर्दा त्यसमा झन् चासो बढ्यो ।
सन् १९६६ मा प्रवेशिका परीक्षा (एस.एल.सी.) मा प्रथम श्रेणीमा पहिलो चोथो (बोर्ड फोर्थ) स्थानमा उत्तीर्ण भएकोले मलाई ‘महेन्द्र रत्न’ पुरस्कारअन्तर्गत प्रतिमहिना एक सय रुपैयाँ छात्रवृत्ति प्राप्त भएको थियो । त्यो पैसाबाट ५० रुपैयाँ प्रतिमहिना म पुस्तक र पत्रपत्रिकाहरू किन्नमा खर्च गर्थँे र बाँकी पैसा आफ्नो लागि लुगाफाटो र साथीहरूसँग चिया–खाजामा सकाउँथेँ । धेरै स्थानीय पत्रिकाहरू किनेर पढ्थेँ । कमरेड ‘रोहित’ भन्ने नाम सुन्ने बित्तिकै र कुनै पत्रिकामा उहाँको बारेमा खबर पढ्दा म धेरै रोमाञ्चित हुन्थेँ र को होला यो ‘रोहित’ भनेर सोचिरहन्थेँ । उहाँको वास्तविक नाम थाहा थिएन मलाई । जसले उहाँलाई मन पराउनुहुन्थ्यो र उहाँको मुक्तकण्ठले गुणगान र तारीफ गर्नुहुन्थ्यो । मलाई कहिलेकाहीँ डर पनि लाग्थ्यो र जिउ थरथर काँप्थ्यो । उहाँको ‘नाम सुन्दा’ को होला यस्तो बहादुर नेता, जो अन्डरग्राउन्ड (भूमिगत) भएर पनि यत्ति धेरै लोकप्रिय छन् । पञ्चायती सरकार पनि ऊदेखि डराएको थियो र उसको निरन्तर खोजीमा थियो त्यसबेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *