भर्खरै :

दसैँको महिमा एक छलफल

लक्ष्मी पोखरेल
आइतबारबाट यस वर्षको दसैँ सुरु भएको छ । दसैँ सुरुवातसँगै तिहार, छठलगायतका चाडपर्व पनि लगत्तैरूपमा आउने गरिन्छ । यस्ता चाड पर्वले छुट्टै आनन्दको अनुभूति दिलाएको आभाष गर्न सकिन्छ । हर्ष उल्लासका साथ आउने चाडपर्वले बेग्ला बेग्लै रौनकता छाउँछ । यो मनमोक मौका बेग्लै रौनक छ ।
नेपाल अनेकतामा एकताको सङ्गम भएको मुलुक हो । जहाँ अनेक धर्म, भाषा, जाति, सम्प्रदायका मानिसहरू एउटै मालामा विभिन्न फूल गाँसिएसरि रहेका छन् । यहाँका अनेक जाति, धर्म र सम्प्रदायको आ–आफ्नै सांस्कृतिक सम्पत्ति छ जो विभिन्न चाड पर्वको रूप लिएर हाम्रो समाजमा चलन चल्तिमा रहेको छ । त्यसैको अनुपातमा ती चाड पर्वहरू मनाइन्छन् । हाम्रो सामाजिक विभिन्नतालाई यिनै चाड पर्वहरूले एकाकार गरेका छन् । त्यसैले चाडपर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ ।
दसैँंको लागि आवश्यक सरसामान किनमेल गर्नेको बजारमा भीड देखिन थालेको छ । कोही नीलो आकाशमा चङगा उडाइरहेका छन्, कोही पिङमा मच्चिरहेका छन् । कमाइ गर्न देश विदेश गएका युवा युवती दाजुभाइ दसैँं पर्वको लागि भनी घर फर्किदै छन् । सहरमा अस्थायी बसोबास गर्नेहरू गाउँ फर्किएका छन् । घरका भित्ता रङ्गाइरहेका छन् । भान्सामा पकाइने थरीथरीका परिकारको आवश्यक बजारमा खरिद बिक्री गर्नेको ठूलै भीड देखिन थालेको छ । चारैतिर हर्ष उल्लास छाएको छ । त्यसैले त दसैँं आएको छ ।
प्रत्येक चाड पर्वहरू मनाउनुको पछाडि विशिष्ट अर्थ र अन्तरनिहित उद्देश्य रहेको छ । यसको महत्व युगौँ युगदेखि रहँदै आएको छ । यी चाडपर्र्वहरूको अध्ययनले हामी धार्मिक, सांस्कृतिक एवम् सामाजिक एकताको प्रेरक प्रतीक भएको पाउँछौँ । चाडपर्वहरू हाम्रा सांस्कृतिक सम्पति भई उभिएका छन् । हाम्रो मानवीय चरित्र निर्माण गराउनुमा यी चाड पर्वहरूको ठूलो योगदान छ ।
दसैँं मनाउने परम्पराको सुरुवातबारे नेपालका इतिहासकार, समाजशास्त्री र संस्कृतिविद्हरूका भिन्नाभिन्नै दृष्टिकोणहरू छन् । कसैले यसको विशुद्ध धार्मिक कोणबाट व्याख्या विश्लेषण गर्ने गरेका छन् भने कसैले शासक वर्गको वीरता, सौर्य आदिको प्रशंसा गरेर यसको थालनी भएको हो भन्दै आएका छन् । अझ कसैले त यो मातृसत्ताको अवशेषका रूपमा रहेको पर्व हो भन्ने पनि गरेका छन् । कसैले यसलाई मूलतः किसान जनसमुदायसित सम्बन्धित सबैभन्दा पुरानो चाड भन्दै आएका छन् । जे जसरी यो पर्वको सुरुवात भए पनि परम्परागतरूपमा मनाउँदै आएको दसैँं पर्व आज पनि हिन्दू समाजमा उत्तिकै लोकप्रिय चाडको रूपमा मनाइँदै आएको छ ।
दसैँं नेपालीहरूको प्रमुख चाड मानिन्छ । दसैँं (नवरात्र) हिन्दू धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरातभर) भक्तिको आराधना गरी दसैँं दिन बिहान दसमीका दिन आफूभन्दा ठूला मान्यजनहरूको हातबाट टीका र प्रसाद ग्रहण गरेर विशेषरूपमा पूर्णिमासम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन् ।
विजया दशमीका दिन आफूभन्दा ठूलाबडाबाट टीका लगाउन नपाउनेले पूर्णिमासम्म टीका लगाएर दसैँं मनाउने गर्दछन् । वर्षौदेखि टाढा रहेर बसेका परिवारजनको एकसाथ भेट हुने, सुख दुःख साटासाट गर्ने अर्थमा दसैँं पर्वको आफ्नै महत्व छ ।
दसैँंका कतिपय सुन्दर पक्षसँगै केही नकारात्मक पक्ष पनि छन् । दसैँलाई सांस्कृतिक पर्वको रूपमा लिनुपर्दछ । पछिल्लो समयमा युवा पिंढीमा यसको महिमामा प्रश्न उठ्ने गरी मनाइएको पाइन्छ । जाँड, रक्सी, जुवा, तासलाई महत्व दिन थालिएको छ । दसैँंको ऋण तिर्न नसकेर विदेशिनु परेका घटनाहरू पनि नभएका होइनन् । खेतबारी बेचेर साहुको ऋण तिर्नाले परिवारकै बिचल्ली परेका घटना सञ्चारमाध्यमहरूमा पढ्न र सुन्न पाइन्छ । ठाउँ–ठाउँमा झगडाका समाचारहरू पनि सुन्नमा आइरहेका हुन्छन् । विडम्बना ! कतिपय घर परिवारलाई गएको सालको दसैँको ऋण तिर्न नसकेर घरखेत बेचेकोले यो वर्ष कसरी दसैँं मनाउने भनेर चिन्ता पनि भइरहेको छ ।
नेपालीमा एउटा उखान छ, आयो दसैँं ढोल बजाई गयो दसैँ ऋण बोकाई । दसैँ पर्व हाम्रो संस्कृति हो । यसलाई तडकभडकका साथ मनाउनुभन्दा पनि यसको संस्कृतिको बारेमा हामीले जानकारी राख्नु जरुरी छ । हाम्रो परम्परा र संस्कृतिलाई बचाउनुपर्दछ । तर यसलाई पर्वको रूपमा मनाउँदा आफ्नो आर्थिक अवस्थालाई ख्याल गर्न सकेनौँ भने, यसले हाम्रोे दसैँं नभएर दशाको रूपमा परिणत गरिदिनेछ ।
घटस्थापनाको दिनमा विभिन्न थरीको बीउबिजन उमारी नौ दिनसम्म विधिवत रूपमा पूजापाठ गरी उमारिएको जमरा दसौँ दिनमा ग्रहण गरिने हुनाले पनि दसैँंलाई खास महत्वपूर्ण चाडको रूपमा लिइन्छ । दसैँको दिनमा घर परिवार आफन्तजनहरूसँग बसी टीका र जमराका साथै आशीर्वाद आदानप्रदान गर्ने चलन छ । दसैँको दिनमा लगाउन सुरु गरिएको टीका पूर्णिमाको दिनसम्म लगाइन्छ । टाढा टाढा भएका आफन्तजनकहाँजानका लागि मौका मिल्छ, टाढाटाढा रहेका घरपरिवार आफन्तजन, साथीभाइहरूको भेट हुने सङ्गमस्थल पनि यहिबेला मिल्ने गर्दछ ।
असत्यमाथि सत्यको विजयको रूपमा मनाउन सुरु गरिएको दसैँं केही वर्षयता आफ्नो आर्थिक हैसियत बिर्सेर अरु घोडा चढे भनेर आफू धुरी चढ्ने प्रवृतिले गर्दा उल्लास र उमङ्गको चाड हुन सकेको छैन । जसले गर्दा दसैँं दशा भएको छ । तसर्थ यसलाई एउटा सांस्कृतिक महत्वको चाडको रूपमा स्वीकार गरी दसैँंको गरिमा वृद्धि हुने गरी विशुद्ध मनोरञ्जनात्मकरूपमा घाटी हेरी हाड निल्नु भन्ने उखानलाई हृदयगम गरी मनाउन सकियो भनेमात्रै दसैँं साँच्चिकै दसैँं बन्नसक्छ ।
दसैँंको मुखमा बजारको भाउ झन आकाशिएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा मूल्यवृद्धि ६.९५ प्रतिशत रहेको छ । जनताले दैनिक उपभोग गर्ने उपभोग्यवस्तु, खाद्य, लत्ता, कपडा, मासुदेखि तरकारीसम्म हरेक कुरामा बजारभाउ अचाक्ली बढिरहेको छ । जसले गर्दा निम्न आयस्रोत भएका जनतामा प्रत्यक्ष असर पर्ने गर्दछ । वस्तुहरूमा छाएको महँगी त्यसमाथि मिसावटयुक्त पदार्थ उपभोग गर्न बाध्य नेपालीहरूले अभाव भए पनि दसैँंलाई आफ्नो हैसियतअनुसार मनाउनेतर्फ सोच्न पर्दछ ।
आफन्तबाट टाढाटाढा रहेका परिवारका सदस्यहरू यो पर्वमा आफ्नो जन्मस्थल र आफन्त भेट्ने तथा मान्यजनबाट टीका र जमराको साथ आशीर्वाद लिने परम्परा बोकेको छ । त्यसैले आर्थिक मन्दीले सबैलाई सताइरहेको अवस्थामा आएको विजया दसमीलाई ऋण सापट गरेरै भए पनि धुमधामका साथ मनाउने तयारीमा नेपालीहरू जुटिरहेको अवस्था छ ।
विगत वर्षको तुलनामा झन्डै ५० प्रतिशत वृद्धि भएको महँगीको मारमा मनाउन लागिएको यो वर्षको दसैँंले झन् सबैलाई कष्टकर बनाउन थालेको छ । घटस्स्थापनादेखि सुरु हुने यो पर्व विभिन्न शक्तिपीठहरूमा पूजा आजा र विशेषगरी नवदुर्गाको पूजा आराधना गरेर मनाउने प्रचलन रहिआएको छ ।
हाम्रा हरेक संस्कृति र चाडपर्वहरू आर्थिक पक्षसँग जोडिएका हुन्छन् । आर्थिक हैसियत उच्च भएका र विपन्न वर्गका जनता हाम्रो समाजमा रहेका छन् । खर्च गरेर तडकभडक गरी पर्व मनाउने र नसक्ने वर्गले पनि ऋणधन जुटाएर यस्ता सांस्कृतिक पर्व मनाउँदा आर्थिक अवस्था कमजोर भएको एउटा वर्गले जहिले पनि समाजमा ऋणको भारी बोक्नुपर्ने बाध्यताजस्तै छ । हामी सचेत भई पर्वलाई देखासिकी र आडम्बरयुक्त दसैँं मनाउने मानसिकताबाट माथि उठ्दै हाम्रो मानसिकतामा परिवर्तन गर्न जरुरी छ ।
हामी नेपाली संस्कृतिका धनी छौँ । हाम्रो अनेकाँै विविधता बोकेका विविध प्रकारका चाडपर्व मनाउने प्रचलन छ । अब, हामीले यस्ता खर्चिला पर्वहरूलाई परिवर्तन गर्न सकिएन भने समाजमा रहेका आर्थिक अवस्था कमजोर भएको वर्ग सधँै ऋणको भारी बोक्न विवस हुने छन् । यसर्थ ऋण गरेर चाडपर्व मनाउने मानसिकतामा परिवर्तन ल्याउनु आवश्यकता छ ।
यो २०७६ को विजया दशमीले सबैलाई देखासिकी र खर्चिलो नबनाई आफ्नो संस्कृतिलाई बचाउँदै चाडपर्व मनाउन सिकाओस्, सबैको घर आँगनमा सुख, शान्ति एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *