भर्खरै :

दुर्घटना हुन नदिन सबैजना सतर्क होऔँ

दसैँ मनाउन घर गएका यात्रु चढेका गाडी दुर्घटना भई यात्रुको मृत्युको खबरले ज्यादै दुखित बनाएको छ । अरु बेलाको दुर्घटनामा दुःख नलाग्ने भन्ने होइन तर चाडबाड मनाउने तयारी भइरहेको बेला हुने यस्ता दुर्घटनाले मृतक र घाइतेका परिवारलाई त अवर्णनीय वेदना र पीडा दिन्छ नै अरू संवेदनशील नेपालीको चाड पनि खल्लो बनाइदिने गरेको छ । चाडबाड मनाउन घर पुग्ने हतारो त सबैलाई नै छ, कामको चतारो पनि होला तर त्यसो भन्दैमा आफ्नो जीवनको सुरक्षालाई हामीले बेवास्ता गर्न मिल्दैन । थोरै संयमता अपनाउँदा र अलिक गति कम गर्दा सम्भावित दुर्घटना टर्छ भने हामी किन संयमित नहुने ?
दुर्घटनाको लागि हामी सधैं बिग्रे भत्केका सडक र सरकारलाई मात्र दोष दिन सक्दैनौँ । दोषी नै भए पनि ती भौतिक पूर्वाधार र सरकारलाई कुनै कारबाही हुने होइन न त नोक्सानी नै हुन्छ । हानी नोक्सानी त चालक परिचालक र उनीहरूका परिवार, यात्रुहरू र यात्रुका परिवार र आफन्तलाई नै हुने हो । अधिकांश दुर्घटना त चालकको लापरबाहीकै कारण हुने निष्कर्ष छ । तर, चालकलाई मात्र दोष दिएर पनि समस्याको समाधान हुन सक्दैन । चालकलाई हतार नगर्न, क्षमताभन्दा बढी यात्रु र सामान नबोक्न तथा कुनै पनि खाले मादक पदार्थ सेवन गर्नबाट रोक्न प्रहरी प्रशासन र यात्रुहरूले पनि पहल गर्नुपर्छ । त्यस्तै गाडीको प्राविधिक कण्डिसन जाँच गर्न गाडीका साहु वा कम्पनी सञ्चालकहरू र प्रहरी प्रशासनले कडाइपूर्वक नियमन गर्नुपर्छ । सबैजना आ–आफ्नो ठाउँबाट सतर्क भएमा कयौं सम्भावित दुर्घटनाहरूलाई टार्न सकिन्छ । दुर्घटना भइसकेपछि दुःख व्यक्त गर्ने र समवेदना प्रकट गर्ने औपचारिकता निर्वाह गर्नुभन्दा दुर्घटना हुनै नदिन सबैजना सतर्क भई आ–आफ्नो जिम्मेवारी राम्ररी निर्वाह गर्नु बुद्धिमानी हुन्छ ।
– बोधबहादुर नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *