नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
– संयम क्षेत्री
जबजब नेपालमा विदेशी राष्ट्रप्रमुख या सरकार प्रमुखको भ्रमण हुने हुन्छ, तब तब सहर दुलहीझैँ सिँगार्न थालिन्छ अरु बेला भने वर्षौंसम्म पनि सडक खाल्टो परे पनि सहरै फुस्रो मैलो भए पनि वास्ता गरिन्न । त्यसैले काठमाडौँवासी र नेपाली जनताले प्रत्येक तीन तीन महिनामा एक विदेशी भीभीआईपीको भ्रमण गराउनुप¥यो भनी औपचारिक र अनौपचारिक प्रस्ताव राखेको पनि सुनेका छौँ । ती प्रस्ताव वास्तवमा अरु बेला सडक बिग्रेपनि वास्ता नगर्ने, हप्तादिनसम्म फोहोर नउठ्दा पनि तातो नलाग्ने र जनस्वास्थ्यप्रति चासो नराख्ने केन्द्र र स्थानीय सरकारप्रतिको व्यङ्ग्य हो ।
यसै प्रसङ्गमा छिट्टै नै चिनियाँ राष्ट्रपति सी जिनपिङको बहुप्रतिक्षित नेपाल भ्रमण हुन लागेको छ । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका लागि तयारी तीव्र पारिएको छ । सरकारले राष्ट्रपति सीको भ्रमणका लागि सुरक्षा व्यवस्था चुस्त पार्न सुरक्षा निकायलाई निर्देशन दिएको छ भने अन्य व्यवस्थापकीय तयारी पनि धमाधम भइरहेको छ । चिनियाँ राष्ट्रपति सी दसैँलगत्तै नेपाल भ्रमणमा आउने पक्का भइसकेको छ तर उनको भ्रमणतालिका भने सरकारले सार्वजनिक गरेको छैन । राष्ट्रपति सी असोज २४, २५ या २६ गते काठमाडौँ उत्रने सम्भावना छ । अहिले उहाँको स्वागतका लागि सबै किसिमको तयारीमा सरकार जुटेको छ ।
सोही सिलसिलामा काठमाडौँका सडकहरू रातारात कालोपत्रे भइरहेका छन् भने सरसफाइमा पनि विशेष ध्यान दिइएको छ । चिल्लो पारिएका सडक र सडकपेटीमा पेन्टिङ गरेर चिटिक्क पार्ने काम पनि धमाधम भइरहेको छ । सडक पेटीमा नेपाल चिनाउने विभिन्न तस्बिरहरू पनि सजाउने काम भइरहेको छ । काठमाडौं सहरले फेरि एक पटक सजावटको अवसर पाइरहेको छ । तर, यसरी भीभीआईपीको भ्रमणको लागि गरिने सहर सजावटको खर्च पारदर्शी नभएका र त्यसमा लाग्ने खर्च भन्दा दोब्बर–तेब्बर खर्चको बिल भर्पाइ पेश हुने गरेको आरोप विगतदेखि लाग्दै आएको छ । उहिलेको कुरा त खुइलियो भनौं तर वर्तमान प्रधानमन्त्री केपी ओली र सिङ्गो सरकार भ्रष्टाचारलाई देखि नसहने सरकार हो । त्यसैले यसपटकको सहर सजावटको खर्च पारदर्शी बनाउनु सरकारको लागि आफ्नो भ्रष्टाचारविरोधी र सदाचारप्रति प्रतिवद्ध छवि पुष्टि महत्वपूर्ण अवसर हो । होइन भने जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान वर्तमान सरकारप्रति पनि लागू भएरै छाड्ने छ ।
Leave a Reply