भर्खरै :

गणतन्त्र गुम्ने हौवा

हिजोआज शासक दलका नेताहरू गणतन्त्र गुम्न लागेको हौवा फैलाइरहेका छन् । आफ्नो नालायकी ढाकछोप गर्न राजतन्त्र फर्किने डर देखाई जनताको ध्यान मोड्न उनीहरू लागिपरेका छन् । देशमा बढ्दो विकृति एवम् विसङ्गतिप्रतिको जनताको तीव्र आक्रोशलाई निस्तेज पार्न भयको राजनीति गर्न शासक दलहरू लागिरहेका हुन् । देशमा बढ्दो अन्याय र अत्याचार, शोषण, दमन, थिचोमिचो, भ्रष्टाचार, दुराचार, बलात्कार, कालोबजारी आदिको कारण जनमा सरकारप्रतिको विश्वास गुमिरहेको छ । कानुनी शासनको धज्जी उडिरहेको अवस्था छ । न्यायालयमा भ्रष्टहरूको सजिलो पहुँच र न्यायाधीशहरूले सत्ता र शक्तिको आदेशको भरमा फैसला गर्न थालेपछि जनता न्याय खोज्न कहाँ जाने ? सरकारले काम गर्न सकेको छैन, उच्चपदस्थ व्यक्तिहरू मदिरामा मस्त छन् । सभामुखजस्तो गरिमामय पदमा बसेका व्यक्तिको नैतिक चरित्र यति तल्लोस्तरमा झर्दासम्म देख्यानदेख्यै गर्ने शासक दलका नेताहरूको चरित्रमाथि पनि ठूलो शङ्का उब्जिएको छ ।
प्रतिगमनको खतरा देख्नु जनताप्रतिको अविश्वास हो । जनता फेरि राजतन्त्रको निरङ्कुश शासन भोग्न कदापि चाहँदैन । संसारको इतिहासमा राजतन्त्र पुनःस्थापित भएको पनि पाइन्छ । प्रतिक्रियावादीहरू इतिहासको पाङ्ग्रालाई पछाडि धकेल्ने प्रयास गर्नसक्छन् तर जनता अगाडि बढ्न चाहन्छन् । जनताको अग्रगमनको चाहनामाथि भाँजो हाल्ने कुनै पनि षड्यन्त्रविरुद्ध जनताले लड्न तयार हुनैपर्छ । यदि राजतन्त्र फर्किन्छ भने हालका शासक दलहरू नेकपा, नेकां, मधेसवादी दलहरूकै भूमिकामा हुनेछ । अन्यथा जनता त्यसो चाहँदैनन् ।
गणतन्त्रमाथि खतरा आएको भन्नुको अर्थ दुईतिहाइ बहुमतको लाज ढाक्नको निम्ति कुनै वस्त्र नभएपछि केटाकेटीलाई हाउँ आयो भनी तर्साएझैँ शासक दलहरू जनतामा मानसिक दबाब दिन खोजिरहेका छन् । यो चालबाजी टिकाउ हुँदैन भन्नेबारे तिनीहरू आफै स्पष्ट हुनसकेका छैनन् । बारुदको थुप्रोमाथि बसेर शासकहरू चैनको नक्कली स्वास फेरिरहेका छन् ।
आजको गणतन्त्र त टिकाउ हुने खालको होइन, किनभने पुँजीवादी गणतन्त्र शोषणमा आधारित गणतन्त्र हो । यस्तो व्यवस्थाविरुद्ध मजदुर वर्गले विद्रोह वा क्रान्ति गर्ने सम्भावना जहिलेसुकै रहन्छ । नाफाको निम्ति एकले अर्काको घाँटी रेट्ने प्रतिस्पर्धामा विश्वास गर्ने पुँजीपति वर्गको स्वार्थकै कारण मजदुर वर्गले चैनको स्वास फेर्न पाएका हुन्नन् । हिजो बजारको निम्ति साम्राज्यवादी युद्धहरू भए पुँजीवादी देशहरूबीच नै । पुँजीवादी देशहरूले प्राकृतिक स्रोतसाधनमाथि आफ्नो आधिपत्य कायम गर्न र बजार विस्तारको निम्ति विभिन्न देशमाथि उपनिवेश चलाए । आज पनि साम्राज्यवादी देशहरू साना तथा निर्धन देशहरूमाथि युद्धको धम्की दिइरहेका छन् । तर पुँजीवादी देशहरू पतनको दिशामा गइरहेका छन् । पुँजीवादी व्यवस्था पतनको दिशामा जानैपर्छ । पुँजीवादी गणतन्त्रको ठाउँ भने समाजवादी गणतन्त्रले लिन्छ । पुँजीपति वर्गमा आफ्नो स्वर्ग गुम्ने डर हुनुमा कुनै आश्चर्य भने होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *