नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
–सुरजसिंह
नेपाली जनतामा समाजको आमूल परिवर्तन र वामपन्थी पार्टीहरूप्रति जनताको समर्थनलाई हेर्ने हो भने आमूल परिवर्तन वा वैज्ञानिक समाजवाद आइसक्नुपथ्र्यो तर त्यसो हुन सकेको छैन । त्यसको मूल कारण कम्युनिस्ट आन्दोलनभित्रै वर्ग शत्रुहरूको घूसपैठ र नेतृत्व संशोधनवादी र अवसरवादी बाटोमा अघि बढ्नु हो । निरङ्कुश पञ्चायती व्यवस्थाको अवधिमा जनतामाझ जनअधिकार र नयाँ जनवाद–समाजवादको चर्चा गर्न नथाक्ने नेताहरू २०४६ को राजनीतिक परिवर्तनपछि सरकारमा जाने, निर्वाचनमा बढी मत ल्याउने र सीट पाउने तथा सरकारमा गएर आफू, आफ्नो परिवार र दलको स्वार्थका लागि मात्र काम गर्ने अवसरवादी प्रवृत्तिमा नराम्ररी फसे । तिनीहरूले सरकारमा गएर आफूलाई पुँजीवादी सरकारका पुँजीवादी नेताहरूभन्दा भिन्न सावित गर्न सकेनन् । यो अवसरवादी प्रवृत्ति तत्कालीन एमाले र मालेका नेताहरूमा सङ्क्रामक रोगजस्तै फैलिएको थियो । त्यसैले पहिला देश र जनताको सेवा र हितको कुरा गरेर नथाक्ने ती पार्टीका नेता–कार्यकर्ताहरूमा जसरी पनि सांसद र मन्त्री बन्ने अनि वैध र अवैध तवरले अकुत धनसम्पति थुपार्ने भ्रष्ट प्रवृत्ति अचाक्ली मौलायो । नेपाली काङ्ग्रेस त भ्रष्ट र चरित्रहीनहरूको गढ नै बनेको थियो । काङ्ग्रेसको विकल्प भन्दै अगाडि आएको तत्कालीन एमालेले आफूलाई विकल्प सावित गर्न सकेन, उल्टो भाइ काङ्ग्रेस सावित ग¥यो । काङ्ग्रेसी नेताहरूजस्तै एमालेका नेताहरू पनि कमिसन, विदेश भ्रमण, एनजीओको खेती, ठेकेदारहरूसँग साठगाँठ र अपराधीहरूलाई उन्मुक्ति दिनतिर लागे । नेका र एमालेलगायत तत्कालीन शासक दलका नेताहरूको कारण जनताले सीमित रुपमा पाएको राजनीतिक स्वतन्त्रताको अधिकार पनि सङ्कटमा प¥यो । पञ्चायती व्यवस्थाका भुतहरू फेरि जागे । तत्कालीन राजा ज्ञानेन्द्रलाई अगाडि सारेर पुनः निरङ्कुश व्यवस्था लाद्ने असफल प्रयत्न भयो ।
जनआन्दोलन २०६२÷६३ को रापतापले निरङ्कुश राजतन्त्रमात्र होइन राजतन्त्रकै अन्त्य भयो । लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । शान्ति प्रक्रियाका नाममा ‘दसवर्षे जनयुद्ध’ गरेका माओवादीहरू पनि सरकारमा आए । माओवादीहरू नेपाली जनताका लागि नयाँ जोगी थिए । केही नयाँ र सही काम गरेर देखाउलान् भन्ने जनअपेक्षा थियो । तर तिनीहरू पनि उही कानै चिरेका जोगी सावित भए । तिनीहरू पनि बेइमान बन्ने अवसर नपाएसम्म मात्र इमानदार बनेका पुष्टि भयो । वामपन्थी उग्रवाद दक्षिणपन्थी अवसरवादमा बदलिन लामो समय लागेन । आज ती पार्टीका तल्लो तहका कार्यकर्ताले नेताहरूमा नैतिक र सांस्कृतिक विचलन आएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । ती नेता र पार्टीको वैचारिक स्खलन त तिनीहरूले बल्ल अनुभूत गर्दै छन् । त्यसैले धन कमाउनु, ठाँटबाट देखाउनु, नैतिक चरित्र पतन हुने काममा लम्पट देखिने नेताहरूको चरित्रले वर्गीय दृष्टिकोण, माक्र्सवादी चेत र समाजवादको लक्ष्य भनिने पक्षलाई तिनीहरू उपहास गरेको निष्कर्षमा पुगेका छन् । संशोधनवादी र अवसरवादी नेताहरूका कारण कम्युनिस्ट आन्दोलनमा गम्भीर क्षति पुगिरहेको तथ्य त पहिले नै सचेत र सजग विज्ञहरूले भनिरहेकै थिए ।
Leave a Reply