स्टकहोम, ८ अक्टोबर । विश्वविख्यात नोबेल पुरस्कारअन्तर्गत सन् २०१९ को शरीर विज्ञान वा औषधि विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकहरूलाई संयुक्तरूपमा प्रदान गरिएको छ ।
कसरी कोशले उपलब्ध अक्सिजनमा आफूलाई सञ्चालन गर्छ भन्ने विषयमा नयाँखोज अनुसन्धान गरेबापत विलियम जी केलिन जुनियर, सर पिटर जे रेटक्लिफ र ग्रेग एल सेमेन्जालाई संयुक्तरूपमा उक्त पुरस्कार प्रदान गरिने निर्णय भएको छ ।
नोबेल समितिका महासचिव थोमस पर्लम्यानले आफूले तीनै जना वैज्ञानिकलाई निर्णयबारे अवगत गराएको र तीनै जना सो खबर सुनेर खुसी भएको सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।
खानालाई उपयोगी ऊर्जामा परिणत गर्न प्राणीलाई अक्सिजनको खाँचो पर्छ । अक्सिजनको महत्वबारे मानिसलाई शताब्दियौंअघि नै थाहा थियो । तर, कसरी अक्सिजनको मात्रामा हुने परिवर्तनलाई कोशले अनुकूलन गर्छ भन्ने विषयमा मानिसलाई थाहा थिएन ।
अक्सिजनको मात्राअनुसारको अनुकूलन धेरै थरी रोगव्याधीसँग जोडिएको विषय हो । यो वर्ष पुरस्कृत आविष्कारको मानव शरीरमा निकै ठूलो महत्व छ । यसले रक्तअल्पता, क्यान्सरजस्ता विभिन्न रोगविरुद्ध लड्न निकै ठूलो सहयोग गर्नेछ ।
तीन जना वैज्ञानिकहरूले अक्सिजनको परिमाणमा अन्तरसँगै प्राणीको जिनका गतिविधि नियमन गर्ने मोलिक्युलर प्रणाली पत्ता लगाएका छन् ।
“वस्तुतः यो विशुद्ध वैज्ञानिक आविष्कार हो । तर, यसले मानिसको दैनिक जीवनमा निकै ठूलो प्रभाव पार्नेछ”, नोबेल पुरस्कार समितिका रान्डल जोनसनले भने ।
पुरस्कृत हुनेमध्ये केलिनको जन्म संरा अमेरिकाको न्यु योर्कमा भएको थियो । सन् १९९८ देखि उनी हवार्ड हुग्स मेडिकल इस्टिच्युटमा अध्येताको रूपमा कार्यरत छन् । सेमेन्जाको जन्म पनि संरा अमेरिकाको न्यु योर्कमा भएको थियो । सन् २००३ यता उनी जोन्स हप्किन्स इन्स्टिच्युट अफ सेल इन्जिनियरिङअन्तर्गत भास्कुलर रिसर्च कार्यक्रमका निर्देशक छन् । रेटक्लिफ लन्डनको अक्सफोर्डमा लक्षित आविष्कार प्रतिष्ठानका निर्देशक, क्यान्सर रिसर्च लुडविग प्रतिष्ठानका सदस्य र फ्रान्सिस क्लर्क इन्स्टिच्युटका क्लिनिकल रिसर्चका निर्देशक हुन् ।
कुल १० लाख अमेरिकी डलर बराबरको यो पुरस्कार तीनै जना वैज्ञानिकलाई दामाशाहीमा प्रदान गरिनेछ ।